NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते
विचार

‘क्विन्टलको ढक’सँग ओलीको एमाले तौलिँदा

काठमाडौं । ढक अर्थात् कुनै पनि चिजको असली तौल नाप्ने साधन । तराजुमा सामान जोख्न प्रयोग गरिने ढककै तौलमा अचेल गडबडी हुन थालेको छ । एक केजीको भनिएको ढक नौ सय ग्रामको हुने गरेका उदाहरण पाइन्छन् ।

अचेल बिक्रेताहरू ढकमै उपभोक्ता ठगिरहेका छन् । ढककै विश्वसनीयता छैन । जे होस्, तरकारी या दाल चामल त ढकले जोखिन्छ । तर राजनीतिक दल र तिनका नेताहरूको तौलचाहिँ तिनका कर्मबाट जोखिन्छ । यस हिसाबले दुई तिहाइ बहुमतको सरकार चलाउने मौका पाएर पनि असफल भएका एमाले अध्यक्ष केपी ओलीको तौल अहिले धेरै हदसम्म कम भइसकेको छ ।

ओलीको न त बोलीमा वजन छ, न व्यवहारमा । उनको पार्टी विभाजित हुँदै अहिले धेरै हदसम्म खुम्चिएको छ । उता, माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाली कांग्रेसलगायतका दलहरू चाहिँ गठबन्धनमा बाँधिएर आफ्नो चुनावी तौल बढाइरहेकै छन् ।

ठीकै छ, एकछिनलाई एमालेलाई क्विन्टलकै ढक मानौं । उसो भए तराजुको अर्कोतिर चाहिँ के छ त ? तराजुको एकातिर एमाले रूपी क्विन्टलको ढक छ, अर्कोतिर दुर्गा प्रसाईं छन् । एकातिर एमालेको ढक, अर्कोतिर करिश्मा मानन्धरको लाल सलाम । एकातिर एमालेको ढक, अर्कोतिर सूर्य थापाको एकपाखे गन्थन

सायद, आफ्नो घट्दै गइरहेको तौलको आकलन गरेर होला, एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टीलाई ‘एक क्विन्टलको ढक’को संज्ञा दिएका छन् ।

केही दिनअघि भक्तपुरको सूर्यविनायकमा मेडिकल माफियाका रूपमा चर्चित दुर्गा प्रसाईंको तरकारी बजार उद्घाटन गर्दै ओलीले भनेका थिए, ‘एमाले भनेको क्विन्टल हो, गठबन्धनका पाँच दल भनेका एकएक किलाका पाँचवटा ढक हुन् । उनीहरूले हामीलाई जित्न कठिन छ ।’

ओलीको पार्टी के आधारमा क्विन्टलको ढक भयो ? नेकपाको सरकार हुँदा ओलीले यस्तो दम्भ प्रदर्शन गरेको भए एक हदसम्म सुहाउँथ्यो होला । अहिले आफ्ना सारा कदम असफल भएर पार्टी विभाजनसमेत रोक्न नसकेका उनले दलको तौलबारे दिएको यो अभिव्यक्ति सरासर हास्यास्पद छ । त्यसले उनको हतास र पराजिन मानसिकता झल्काउँछ ।

ताजा उदाहरण । शान्ति, स्थिरता र सुशासनको नारा दिएर जनताको विश्वास जित्दै गत निर्वाचनमा बहुमतको सरकार बनाउन सफल ओली नेतृत्वको सरकारले जनतालाई के दियो ? एक क्विन्टल तौलको ढक एमालेले जनतालाई के जोखेर दियो त ?

ओलीको ‘सुखी नेपाली, समृद्ध नेपाल’को एउटा कहालीलाग्दो ताजा उदाहरण हेरौं । ओलीले आफूहरूलाई एक क्विन्टलको ढक दाबी गरिरहँदा ओलीले देखाएको सपनाहरूको बाढीमा डुबेका एक नेपालीको कथा भिन्नै छ । कपिलवस्तुमा म्यादी प्रहरी भर्ना हुनको लागि तौल कम भएपछि एक युवा जिन्स पाइन्टको गोजीमा एक किलो ढक राखेर भर्ना छनौटमा भाग लिएछन् ।

गोजीमा ढक राखेको पाइएपछि उनलाई प्रहरीले नियन्त्रणमा लियो । एक किलोको ढक, मोबाइल र पटक–पटक खानासमेत खाएर उनले तौल पुर्‍याउन खोजेका रहेछन् ।

विचरा अभाव र बेरोजगारीको पीडामा पिल्सिएका ती युवाको वास्तविक तौल ४८ किलो रहेछ । म्यादीमा भर्ना हुन न्यूनतम तौल ५० किलो चाहिने । तौल मिलाउन उनले एक केजीको ढक नै गोजीमा राखेछन् ।

दुई तिहाइको सरकार चलाउने मौका पाएका ओलीले नेपाली युवालाई कुन हालतमा पुर्‍याएका रहेछन् भन्ने ढकसँगै जोडिएको यो घटनाले स्पष्ट गर्छ । अब प्रश्न उठ्छ, केपी ओलीको पार्टी के आधारमा क्विन्टलको ढक ?

कवाडीमा नबिक्ने ‘घोषणपत्र’

एमालेलाई चुनावी तुलोमै जोखौं न । एमालेले गएको निर्वाचनमा ‘समृद्धि, समानता र सबल राष्ट्रको आधार : गाउँदेखि केन्द्रसम्मै एमालेको सरकार’ नारा दिएको थियो । जनतालाई यही नाराको भुलभुलैयामा पारेर एमालेले ७५३ स्थानीय तहमध्ये ३९ प्रतिशत स्थानमा जित्यो ।

एमाले नेता केपी ओलीले करिब साढे तीन वर्ष सरकारकै नेतृत्व गरे । तर नेपाललाई दश वर्षभित्रै प्रतिव्यक्ति आय पाँच हजार डलरसम्म पुर्‍याउने एमालेको वाचा अहिले आएर हावादारी सावित भइसकेको छ । चुनावी वाचा कार्यान्वयनको तुलोमा एमालको तौल धेरै घटिसकेको छ ।

एमालेले १० वर्षभित्र १५ हजार मेगावाट थप विद्युत् उत्पादन गर्ने, कर्णाली चिसापानी बहुउद्देश्यीय परियोजना तथा पूर्व–पश्चिम राजमार्गको समानान्तर ७६५ केभी प्रसारण लाइन जडान अगाडि बढाउने, पाँच वर्षभित्र सबै राजमार्गको विस्तार र स्तरोन्नति गर्न आधुनिक प्रविधि प्रयोग गर्ने घोषणापत्रमा भनेको थियो । एमाले सरकारमा हुँदा यसतर्फ खासै कार्य प्रगति भएन । सडकहरू उस्तै छन्, यात्रा उस्तै कष्टकर छ ।

एमालेको चुच्चे रेलको सपना अहिले बुच्चे भइसकेको छ । पूर्व–पश्चिम तथा मध्य पहाडी रेलमार्ग, रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग, काठमाडौं–वीरगञ्ज रेलमार्ग निर्माणका कुरा ओलीको हावादारी गफमै सीमित भएको छ । काठमाडौंमा अत्याधुनिक मेट्रो रेल र मोनोरेल चलाउने सपना पनि अलपत्र छ । एमालेले १० वर्षभित्र सञ्चालन गर्ने गरी निर्माण गर्ने सपना देखाएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको त कामै सुरु भएको छैन ।

एमालेले दुई वर्षभित्र नेपाललाई आधारभूत खाद्यान्नमा आत्मनिर्भर बनाइने, पाँच वर्षभित्र खाद्यान्न निर्यात गर्ने अवस्थामा पुर्‍याइने गुड्डी हाँकेको थियो । अवस्था कस्तो छ भने हामी विदेशबाटै आयात गरिरहेका छौं । आर्थिक वर्ष ०७७÷७८ मा मात्र हामीले ७९ अर्ब ५९ करोडको खाद्यान्न आयात गरेका छौं । दुर्गा प्रसाईंको तरकारी बजारको उद्घाटन गरिरहँदा ओलीलाई यो तथ्यांक हेक्का नहुनसक्छ ।

अहिले दिनहुँ सयौं नेपाली वैदेशिक रोजगारीमा गइरहेकै छन्, एमालेले देखाएको सपना भने ओलीका उखान टुक्कामै बिलायो

एमालेको अर्को आकर्षक नारा थियो, तीन वर्षमै ‘एक घरः एक रोजगारी’ । १० वर्षभित्र १८ वर्ष पुगेका प्रत्येक नागरिकले रोजगारी पाउने गरी कार्ययोजना शुरू गर्ने एमालेको वाचा पनि फासफुस भयो । एमाले सरकारका पालामा युवा स्वरोजगार कोष त खडा गरियो, तर त्यो सबै एमालेका कार्यकर्तालाई पाल्ने मेसो बन्यो । अहिले दिनहुँ सयौं नेपाली वैदेशिक रोजगारीमा गइरहेकै छन्, एमालेले देखाएको सपना भने ओलीका उखान टुक्कामै बिलायो ।

घट्दो साख र हैसियत

जनपक्षीय काम गरेर एमालेको तौल बढेको कतै प्रमाणित हुँदैन । संविधानको संरक्षण र रक्षा गर्ने काम एमालेबाट हुँदै भएन । दुई–दुई पटक संसद् विघटन, अध्यादेशको बाढी, राष्ट्रपतिलाई विवादमा तान्ने हर्कत, दल विभाजन गर्न सांसद अपहरण, यती, ओम्नी र अनेक घोटाला गरिसकेपछि एमालेको साख त उहिल्यै घटिसकेकै हो ।

सांगठनिक हिसाबले पनि तौल बढेको देखिँदैन । माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमजस्ता नेताहरू नभएको एमालेको तौल अधवैंशे नायिका करिश्मा मानन्धर आएर बढेको पक्कै होइन होला । करिश्माका कारण तौल बढ्ने भए डा. बाबुराम भट्टराईको नयाँ

शक्तिको हालत चौपट हुने थिएन । ‘सूर्यकुमार’हरूको साख गिरेको बेला ‘सूर्जेकुमारी’ अर्थात् करिश्मा एक्लैले एमालेको तौल बढ्ने होइन । बरु, हेलिकोप्टरमा ओलीसँग देश दौडाहामा जाँदा हेलिकोप्टरको भारचाहिँ बढ्ने हो ।

चुनावी तौल झन् चौपट छ । हिसाब नै गरौं । ०७४ को संघीय तथा प्रदेशसभा निर्वाचनमा एमाले र माओवादी केन्द्रले चुनावी गठबन्धन गर्दा संघीय संसद्का १ सय ६५ निर्वाचन क्षेत्रमध्ये एमालेले ८० र माओवादीले ३६ सहित १ सय १६ स्थानमा जितेका थिए ।

प्रत्यक्ष र समानुपातिक गरी एमाले–माओवादी गठबन्धनले झण्डै दुई तिहाइ बहुमत आएको थियो । सोही बहुमतका आधारमा ०७४ फागुन ३ गते केपी शर्मा ओली प्रधानमन्त्री भएका थिए ।

माओवादीसँग गठबन्धन नभएको भए उतिबेला एमालेको सिट घट्थ्यो । किनकि, कांग्रेसले गएको निर्वाचमा प्रत्यक्षतर्फ २३ स्थानमा जितेको थियो । समानुपातिकतर्फको मतका आधारमा भन्ने हो भने कांग्रेस ५३ निर्वाचन क्षेत्रमा अगाडि थियो । वाम गठबन्धन नभएको भए गएको निर्वाचनमै कांग्रेसले थप ३० थानमा विजयी हुन्थ्यो । अब त झन् उसले माकेसँग गठबन्धन गर्दैछ ।

उतिबेला एमाले र माओवादीबीचको गठबन्धनले एमाले र माओवादीलाई धेरै फाइदा र कांग्रेसलाई घाटा भएको थियो । यसपालि वाम गठबन्धन नहुने भएकाले कांग्रेसले गत निर्वाचनमा गुमाएका स्थानमा जित्ने सम्भावना बढेको छ भने माओवादी केन्द्रको पनि अवस्था कमजोर देखिँदैन । यसमाथि एकीकृत समाजवादीले भोट काटने भएकाले एमालेको हालत धेरै कमजोर हुने देखिन्छ ।

चुनावमा सत्तापक्षको गठबन्धन कायम रहेमा एमालेको तौल घट्ने अनुमान गरिएको छ । तर ओलीचाहिँ अरूलाई एक किलो र आफूलाई क्विन्टल ठानिरहेका छन् । कसैले पनि नपत्याउने धाक मानिसले किन लगाउँछ ? वैज्ञानिकहरूका अनुसार यो एक प्रकारको भ्रम हो । मनोचिकित्सामा यस्ता मानिसलाई ‘सिजोफेनिया’ भएको मानिन्छ ।

सिजोफेनिया यस्तो मनोगत अवस्था हो, जहाँ मानिसले बिलकुलै काल्पनिक कुरा देख्छ । मरुभूमिमा उसले फूलै फूलको बगैंचा देख्छ । गोजी रित्तो भए पनि उसले आफूलाई विश्वकै नम्बर एक धनी देख्छ । ओलीमा पनि यथार्थबोध नहुने समस्या देखिएको हुनसक्छ ।

अर्को कुरा, एमालेको कम्युनिस्ट आचरणबाट विचलनको पनि यो नमुना हो । उनले मेडिकल माफिया भनेर चिनिएका दुर्गा प्रसाईंको तरकारी बजारको उद्घाटन गर्नुबाटै एमाले भन्ने पार्टी विचौलिया दलालको चंगुलमा फसेको स्पष्ट हुन्छ ।

सूर्यविनायकको तरकारी बजारमा प्रसाईंले तरकारी बेच्ने होइन । उनी तरकारी उत्पादक पनि होइनन्, बिक्रेता पनि होइनन् । उनले तरकारी पसले बिक्रेतासँग बीचमा नाफा खाने हुन्, तरकारी बिक्रेताबाट मासिक भाडा उठाउने हुन् ।

कम्युनिस्टका गुरु कार्लमार्क्सले आफ्नो ‘पुँजी’ नामक पुस्तकमा बिचौलिया दलालहरूका बारेमा स्पष्ट लेखेका छन् । उत्पादक, वितरक र उपभोक्तबीच मूल्यमा अन्तर आउँछ । अर्थात् किसानले पचास रूपैयाँमा उत्पादन गरेको एक किलोे प्याज उपभोक्ताले किन्दा एक सय २०
रूपैयाँ पर्छ ।

बीचको ७० रूपैयाँलाई अतिरिक्त मूल्य भनिन्छ । अर्थात् उपभोक्ताले सोझै किसानबाट किन्दा ५० रूपैयाँमा पाउने प्याज बिचौलिया दलालका कारण ७० रूपैयाँ अतिरिक्त मूल्य तिरेर किन्नुपर्ने हुन्छ । यदि किसानसँग सोझै उपभोक्ताले किन्न पाए प्रतिकिलो ७० मै किन्न सक्छन् र यसबाट किसानलाई २० रूपैयाँ फाइदा हुन्छ, उपभोक्तालाई ५० रूपैयाँ फाइदा ।

बिचौलिया दलालकै कारण उत्पादक र उपभोक्ता मारमा परिरहेका छन् । तरकारी बजार पनि बिचौलियाहरूको चलखेल गर्ने मुख्य केन्द्र हो । अनि दुर्गा प्रसार्ईंहरू किसानको दुहाइ दिएर भारतबाट आयातीत तरकारीका आडमा बिचौलीया पोस्ने धन्दामा छन् । यस्तो बजारको उद्घाटन गरिरहँदा सायद एमाले अध्यक्ष ओलीले तरकारी जोख्ने ढक देखे होलान्, चुनावी मुद्दा र एजेन्डा केही नभइरहेको बेला उनले भनिहाले, ‘हामी त क्विन्टलको ढक ।’

मेडिकल माफियासँग कुम जोड्ने, उनकै घरमा मार्सी भात खाने अनि उनलाई पार्टीको उद्योग विभागको उपप्रमुख बनाउने ओलीको पार्टीको तौल कसरी बढयो ? अचम्म छ । यही हो, सिजोफेनिया । प्रसाईंका कारण एमाले झन् झन् बदनाम भएर हालसम्म भएको तौल पनि घटिरहेको छ, ओलीचाहिँ आफूलाई क्विन्टल देखिरहेका छन् ।
एमालेको ढकले के जोख्ने ?

ठीकै छ, एकछिनलाई एमालेलाई क्विन्टलकै ढक मानौं । उसो भए तराजुको अर्कोतिर चाहिँ के छ त ? तराजुको एकातिर एमाले रूपी क्विन्टलको ढक छ, अर्कोतिर दुर्गा प्रसाईं छन् । एकातिर एमालेको ढक छ, अर्कोतिर वाइड बडी घोटालाको रकम छ । एकातिर एमालेको ढक छ, अर्कोतिर यति समूह पोसाउँदा प्राप्त भएको एक बोरा रकम छ । एकातिर एमालेको क्वीन्टलको ढक छ, अर्कोतिर ओम्नी घोटालाको रकम छ ।

एकातिर एमालेको ढक, अर्कोतिर गोकुल बाँस्कोटाको ‘सत्तरी करोड काण्ड’ । एकातिर एमालेको ढक, अर्कोतिर ओलीको बकबक ।
एकातिर एमालेको ढक, अर्कोतिर करिश्मा मानन्धरको लाल सलाम । एकातिर एमालेको ढक, अर्कोतिर सूर्य थापाको एकपाखे गन्थन । एकातिर एमालेको ढक, अर्कोतिर ईश्वर पोखरेलको पानी टयांकीमा लुकाएको ब्रिफकेस ।

एकातिर एमालेको ढक, अर्कोतिर राप्रपासँग तालमेलको सकसक । एकातिर एमालेको ढक, अर्कोतिर तेत्तीस किलो सुन । एकातिर एमालेको ढक, अर्कोतिर शंकर पोखरेलको दुई दलीय व्यवस्थाको कोलाहल ।

एकातिर एमालेको ढक, अर्कोतिर ठोरीका राम । एकातिर एमालेको ढक, अर्कोतिर राष्ट्रवादको बासी राग । एकातिर एमालेको ढक, अर्कोतिर चितवनको गैंडा ।

अब ढक क्विन्टलकै भए पनि त्यसले जोख्ने भनेको त यस्तै यस्तै चिज होला ।