NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

यी हुन् नेपालको जितका मुख्य दुई नायक

काठमाडौं । त्रिदेशीय सिरिजको फाइनलमा पपुवा न्युगिनीलाई ५० रनले पराजित गर्दा नेपालका अलराउन्डरर दीपेन्द्रसिंह ऐरी र करण केसी नायक बने । १६९ रनको मध्यम लक्ष्यसम्म पुग्न पनि उनै ऐरी  र केसीले प्रभावशाली ब्याटिङ गरेका थिए ।

नेपाली टिमले १५० रन पनि जोड्न नसक्ने दयनीय स्थितिबाट उठाउँदै ऐरीले ३८ बलमा नटआउट ५४ रनको इनिङ खेले । मध्यम रनको लक्ष्य दिने क्रममा ऐरीलाई अर्का अलराउन्डर करण केसीले १२ बलमा ३३ रन बनाएर साथ दिए । यी दुईको महत्वपूर्ण साझेदारीले गर्दा नेपालले पिएनजीलाई १६९ रनको लक्ष्य दिएको थियो । धर्मराएको नेपाली इनिङलाई ऐरी र केसीले सम्हाल्दै २० औ ओभरसम्मै खेललाई लगेका थिए । जसको कारण बलरले कसिलो बलिङ गर्दा पनि जोगाउन सकिने लक्ष्य दिन सके ।

१६९ रनको लक्ष्य दिंदा कुशल भुर्तेलले २२ बलमा २५ रनको योगदान गरे । जसमा ५ चौका थियो । आशिफ शेखले २९ बलमा २९ रन जोडे । यसमा एक छक्का सामेल थियो ।

प्रतियोगिताभर जमेका रोहित पौडेल तीन बलमा २ रन बनाएर आउट भए । आशिफ शेख, आरिफ शेख र दिलीपनाथ एकै ओभरमा आउट भएपछि नेपाल दबाबमा आएको थियो । आरिफ र दिलीपनाथ शुन्य रनमै आउट हुन पुगे । यी दुई आउट भएपछि करण र ऐरीले जमेर खेलेका थिए । जसले टिमको योगफल सम्मानजनक बनाइदियो ।

बलिङमा पनि दीपेन्द्र र करण नै निर्णायक

पछिल्ला म्याचमा दुई सय हाराहारी रन बनेको कीर्तिपुरस्थित मैदानमा १६९ रनलाई जोगाउन नेपाललाई सहज थिएन । किनकी अघिल्ला म्याचमा नेपाल, पिएनजी, मलेसिया सबै टिमले दुई सय हाराहारीमा रन बनाइरहेका थिए । त्यसैले नेपालमाथि दबाब थियो ।

तर पिएनजीले १४ रन बनाउँदा विकेटको खाता उनै करण केसीले खोले । ओपनर लेगा सिआकालाई करणले मोहम्मद आदिलबाट क्याचआउट गराए । २५ रन बनाउँदा पिएनजीका असद भालाको विकेट दीपेन्द्रसिंह ऐरीले लिए । लगत्तैको बलमा खतरनाक बन्न सक्ने टोनी उराको विकेट पनि ऐरीले नै लिए । उरा पहिलो बलमै रोहित पौडेलद्वारा क्याचआउट भए ।

पिएनजीको ५६ रन हुँदा चाल्र्स अमिनीको विकेट ऐरीले नै लिए । ८७ रन हुँदा हेकुरेको विकेट सन्दीप लामिछानेको नाममा रह्यो । लगत्तैको १२.४ ओभरमा सन्दीपले नर्मन भाउनाको पनि विकेट लिए । यसले पपुवा न्युगिनी झन् दबाबमा आयो । तर चाड सोपर र सेसे बाउ क्रिजमा थिए । यी दुई हिटरले खेललाई जितसम्म पुर्याउन पनि सक्थे । तर सोपरलाई पनि ऐरीले एक रनको स्थितिमा आउट गरिदिए ।

यस्तोमा सेसे बाउले फेरि टोलीलाई अघि बढाए । उनले अर्धशतक प्रहार गर्दै टिमलाई अगाडि बढाएका थिए तर १५.२ ओभरमा करणले ५९ रन बनाएर खेलिरहेका बाउको पनि विकेट लिएपछि नेपालको जित लगभग पक्का भएको थियो । ओभरको पहिलो बलमा करणलाई बाउले छक्का प्रहार गरेका थिए । तर, लगत्तै फेरि छक्का हान्ने धुनमा बाउ आउट हुन पुगे । यही विकेटपछि नेपालको जित लगभग पक्का भएको थियो । किनकी बाँकी बलमा तीन चारवटा छक्का बाउले प्रहार गर्दा पिएनजीको पक्षमा जान सक्थ्यो । यही ओभरको अन्तिम बलमा करणले काउबा मोरोको पनि विकेट लिए ।

१६.२ ओभरमा सोमपालको बलमा साइमन अटाइ रनआउट भएपछि नेपालले सहजै ५० रनले त्रिदेशीय टी–२० सिरिज जित्यो । यस क्रममा पिएनजीलाई तीन खेलमा र मलेसियालाई दुई खेलमा पराजित गर्न नेपाल सफल भयो ।

नेपालको जितमा यसरी दीपेन्द्र ऐरीले चार ओभरमा १८ रन दिएर महत्वपूर्ण चार विकेट लिए । करण केसीले तीन ओभरमा २७ रन दिएर महत्वपूर्ण तीन विकेट लिएर खेलमा नेपाललाई फर्काए । सन्दीप लामिछानेले चार ओभरमा २५ रन दिंदा २ विकेट लिए । अघिल्लो खेलमा मलेसियाविरुद्ध शतक प्रहार गरेका ऐरी प्लेयर अफ द सिरिज घोषित भए । फाइनलमा बलिङ र ब्याटिङ दुवैमा जमेका ऐरी प्लेयर अफ द म्याच घोषित भए । करन उत्कृष्ट बलर घाेषित भए । सिरिजमा राेहित पाैडेल र आशिफ शेखकाे प्रदर्शन पनि राम्राे रह्याे ।

पिएनजीका लागि १६९ रन पछ्याउने क्रममा चाल्र्स अमिनीले १५ र सेसे बाउले ५९ रन बनाउनुबाहेक अरु ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ सेमो कामेयाले तीन विकेट लिए, चाड सोपर, काबुआ मोरेरा र रिले हेकुरेले समान एकएक विकेट लिए ।
टी–२० सिरिज अघिको एक दिवसीय सिरिज भने पिएनजीले नेपालविरुद्ध २–० ले जितेको थियो ।

नेपालले टि–२० सिरिज जित्दाका साक्षी हेरौं ६ तस्बिरमा