NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

कसरी फिट रहने ? पढ्नुहाेस्, रोनाल्डोले दिएका १० फिटनेस टिप्स

पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो सफल फुटबलर हुन् । पाँचपटक बालोन डिओर जितेका उनी ३७ वर्ष भइसके । तैपनि, स्वस्थ जीवनशैली अपनाउने भएकै कारण बढ्दो उमेरमा पनि उनको खेलस्तर अझै उस्तै छ । हाल इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट व्यावसायिक फुटबल खेल्ने उनी हार्ड वर्किङ प्लेयर मानिन्छन् । फिटनेसमा ध्यान दिने उनले फुटबलमा करिअर बनाउन चाहनेलाई सफलताका १० टिप्स दिएका छन् ।

१. सधैँँ फिट हुनका लागि शरीर मात्र स्वस्थ भएर हुँदैन, दिमाग पनि उत्तिकै स्वस्थ हुन जरुरी छ । तपाईं आफ्नो लक्ष्यमा पुग्न भौतिकजस्तै मानसिक रूपले पनि तयार हुन आवश्यक छ । तसर्थ, यी दुवै स्वास्थ्यमा उत्तिकै ध्यान दिनुहोस् ।

२. अनुशासित हुनुहोस् । आफूले आफैँलाई सधैँ उत्प्रेरणा जगाउनुहोस् । आफ्नो तालिकालाई टाइट गर्नुहोस् । हार्डवर्क गर्नुहोस् । मेरो कुरा गर्दा म कुनै कमजोरी गर्ने आफैँलाई छुट दिन्नँ । आफ्नो नियममा कडा छु ।

३. आफू के बन्ने र जीवनमा के गर्ने भन्ने स्पष्ट उद्देश्य राख्नुहोस् । यसले तपाईंलाई काममा फोकस गराउँछ । हार्डवर्क गर्न प्रेरित गर्छ ।

४. आफ्नै सहकर्मीसँग पनि प्रतिस्पर्धाको भावना राख्नुहोस् । प्रतिस्पर्धी भए पनि सहयोग गर्नुहोस् र लिनुहोस् पनि । यदि तपाईंको सहकर्मी जुनियर छ भने उसलाई अझ धेरै सहयोग गर्नुहोस् ।

५. पूरै निद्रा पुग्ने गरी सुत्नुहोस् । यो राम्रो ट्रेनिङका लागि अत्यावश्यक छ । खेलका दौरान म चाँडै सुत्छु र चाँडै उठ्छु । आरामले मांसपेशी रिकभर हुन पनि मद्दत गर्छ ।

६. कार्डियो (दौड र नौकाविहार) सेसनले तपाईंको धैर्यसँगै स्टामिना बढाउनसमेत मद्दत गर्छ । ट्रेनिङका दौरान कम्तीमा ३० मिनेटजति जगिङ गर्नुहोस् । यसले तपाईंलाई थप बलियो बनाउँछ र खेल कौशल पनि बढ्छ ।

७. खेलमा राम्रो गर्न पोषणयुक्त खानेकुराको पनि उत्तिकै जरुरी पर्छ । तसर्थ, उच्च मात्रामा प्रोटिन भएका खानेकुरा नियमित खानुहोस् । सीमित मात्रामा कार्बोहाइड्रेट भएको खाना पनि खानुहोस् । तर, फलफूल, हरिया सागसब्जी प्रशस्त खानुहोस् । सुगरफ्री खानामा जोड दिनुहोस् । म आफू पोर्चुगिज भएका नाताले माछा मन पराउँछु । पोर्चुगल गएको वेला रेस्टुरेन्टमा गएर प्रशस्त सलादसहित माछा खान्छु ।

८. स्वस्थ हुनका लागि तपाईंको शरीरमा पानीको मात्रा ठीक हुन आवश्यक छ । यसका लागि प्रशस्त मात्रामा पानी पिउनुहोस् । झोलयुक्त अन्य पदार्थ पनि खानुहोस् । मेरो कुरा गर्दा म अल्कोहलजन्य पदार्थ लिन्नँ । सम्भव भएमा तपाईंले पनि यो फलो गर्न सक्नुहुनेछ ।

९. मुड फ्रेस हुनका लागि संगीत सुन्न आवश्यक छ । म सधैँ संगीत सुन्छु । संगीतले तनावका बीच पनि अर्कै संसारमा पुर्‍याउँछ । राम्रा गीत सुन्दा राम्रो खेल्ने उत्पे्ररणासमेत जाग्छ ।

१०. सफलताका लागि हार्डवर्कसँगै आराम गर्न पनि उत्तिकै आवश्यक छ । शारीरिक अभ्यासका दौरान त यो झनै आवश्यक छ । फुटबलबाहिरको दुनियाँमा पनि जानुहोस् कहिलेकाहीँ । मिल्ने साथी र परिवारका सदस्यहरूसँग रमाइलो ठाउँमा वेला–वेला घुम्न जानुहोस् । यसले तपाईंलाई सधैँ सकारात्मक ऊर्जा दिन्छ ।