NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

त्यसपछि लक्ष्मीले दिइन् प्रहरीलाई स्याबासी

बुटवल (नरसिंह बडाल) । सोमबार रूपन्देहीको त्रिलोत्तमा नगरपालिका–३, योगीकुटीबाट लक्ष्मी ज्ञवाली माइक्रोबस चढेर बुटवल आउँदै थिइन् । साथमा उनीसँग एउटा झोला थियो । जसमा नगद र सुनका लाखौंका गरगहना थिए ।

गन्तव्य आइपुग्यो । सहचालकले ढोका खोलिदिए । उनी झरिन् । तर अफसोच नगद र बहुमूल्य वस्तु रहेको झोला माइक्रोभित्र नै छुट्यो ।

यी सब थाहा पाउँदा माइक्रो निकै अघि बढिसकेको थियो । लक्ष्मी अत्तालिइन् । भन्छिन्, ‘मेरो त होस् हवास् नै उड्यो । के गरौं र कसो गरौं भन्ने अन्योलमा परेँ ।’

उनले वरिपरिका मान्छेलाई आफ्नो समस्या सुनाइन् । कसैले प्रहरीमा खबर गर्न सुझायो ।

माइक्रोमा अन्य मानिसहरू थिए । तर सिसिटिभी थिएन । त्यसैले लक्ष्मीले उक्त सामान फिर्ता हुने आश मारिसकेकी थिइन् । फेरि प्रहरीको इमान्दारितामाथि यदाकदा प्रश्न उठ्दै आएकाले पनि उनलाई खासै विश्वस्त हुन दिएन ।

‘मलाई त प्रहरीमा खबर गरेर केही होला भन्ने लागेकै थिएन,’ उनले आफ्नो सुरुवाती मनस्थितिबारे भनिन् ।

प्रहरीमा गुनासो टिपाएको केहीबेरपछि नै उनको मोबाइल घण्टी बज्यो । उनले उठाइन् । प्रहरीको रहेछ । सुरुमै प्रहरीले खुसीको समाचार सुनाइहाले– तपाईंको झोला भेटियो । लिन आउनुस् ।’

झोला भेटिएपछि आफ्नो खुसीको सीमा नरहेको र प्रहरीलाई स्याबासी दिएको उनी बताउँछिन् ।

इलाका प्रहरी कार्यालय, बुटवलका अनुसार, माइक्रोमै उक्त झोला फेला परेको छ । प्रहरीका अनुसार, उक्त झोलामा २ थान बाला, तिलहरी, एक जोर टप्सलगायत सुनका गहना र नगद १० हजार रूपैयाँ फेला परेको थियो ।

उक्त झोला सोमबार नै प्रहरीले लक्ष्मीका भतिज नाता पर्ने जनक भट्टराईलाई बुझाएको प्रहरीले जानकारी दिएको छ ।