NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

आफ्नो भूमि रक्षा गर्न आन्दोलनमा उत्रिए ब्राजिलका आदिवासी

ब्राजिलिया । सयौं आदिवासीहरु सोमबार ब्राजिलको राजधानीमा विरोध शिविरमा भेला भएका छन् । उनीहरु आफ्नो भूमि अधिकारको रक्षा गर्न र त्यहाँ खानी तथा तेल उत्खनन गर्न अनुमति दिने गरी कंग्रेसमा पेश गरिएको विधेयकको विरोध गर्न उनीहरु भेला भएका हुन् ।

विरोध कार्यक्रमका आयोजकले ब्राजिलका ३०५ जनजातिहरुमध्ये २०० समुदायबाट ७ हजार मानिसलाई भेला गर्ने, कंग्रेसमा राष्ट्रपति जेयर बोल्सोनारोले प्रस्ताव गरेको कानुन पारित नगर्न दबाब दिने आशा गरेका छन् । राष्ट्रपतिले प्रस्ताव गरेको ऐनले आदिवासीको संरक्षित भूमिलाई व्यवसायिक खानी र कृषिका लागि स्वीकृत दिन्छ ।

ब्राजिलका ९ लाख आदिवासी जनजातिको प्रतिनिधित्व गर्ने छाता संगठनकी प्रमुख सोनिया गुजाजाराले भनिन्, ‘हामी पछि हट्नेछैनौं’ ।

अमेजनका फूलको कालो र रातो रङले रंगिएको हेडड्रेस लगाएका आदिवासीहरुले मध्य ब्राजिलियामा अवस्थित मन्त्रालयको आडैमा रहेको घाँसे मैदानमा पाल टाँगेर बसेका छन्, त्यहाँ नै उनीहरूले गीत गाएर विरोध गरिरहेका छन् ।

राष्ट्रपति बोल्सोनारोले आदिवासीसँँग धेरै जमिन भएका कारण पनि देश विकासमा अवरोध पुगेको र एक इन्च बढी पनि रिजर्भेसन जग्गालाई मान्यता नदिने बताएका छन् । सरकारको नियम विपरित वातावरणविद्हरुले आदिवासीलाई जग्गा दिँदा घना जंगल अमेजन विनाश हुनबाट जोगिने बताएका छन् ।

गुजाजाराका अनुसार ब्राजिलको १३ प्रतिशत भूभाग संरक्षित क्षेत्रअन्र्तगत पर्छ, जसमा ९८ प्रतिशत अमेजन क्षेत्रमा पर्छ । तर चार सय आदिवासी समुदाय अझै पनि आफ्नो पैतृक जमिनको मान्यता प्राप्त गर्न संघर्षरत छन् ।

ब्राजिलको संसदको तल्लो सदन कंग्रेसमा विधेयक १९१ फास्ट ट्रयाकबाट पास गर्ने गरी राखिएको छ । युक्रेन युद्धले मलको आयातमा अवरोध पुगेपछि ब्राजिलको अन्नबाली प्रभावित हुने भएका कारण संसदले यो उपाय अपनाउन लागेको समाचार एजेन्सी रोयटर्सले लेखेको छ ।

यस कानुनले आदिवासीहरुको भूमिमा जलविद्युतका बाँध बनाउन पनि अनुमति दिनेछ ।

जनजातिकाे भूमि अधिकार संरक्षण गर्न संसदमा आदिवासीबाट निर्वाचित सांसद्काे बाहूल्यता हुने पर्ने भन्दै यस वर्षको आम निर्वाचनमा कंग्रेसमा थप आदिवासी जनजातिलाई जिताउन अभियान चलाउने गुजजाराले बताइन् । अहिले ब्राजिलमा एक मात्र आदिवासी प्रतिनिधि महिला जोनिया वापिचाना सांसद् छन् ।