NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

बारको चुनावमा एमाले निकट उम्मेदवार निरन्तर पछाडि, अहिलेसम्म कसले कति मत पाए ?

काठमाडौं । कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको मतगणना जारी छ । सुरुदेखि नै प्रतिद्वन्द्वीलाई पछि पारेका सत्ता गठबन्धनका उम्मेदवारले आफ्नो अग्रतालाई थप फराकिलो बनाउँदै लगेका छन् ।

प्राप्त पछिल्लो मत परिणाममा सत्ता गठबन्धनका तर्फबाट अध्यक्षमा प्रतिस्पर्धा गरेका कांग्रेस निकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) का गोपालकृष्ण घिमिरेले झण्डै दोब्बर अर्थात् ५२२ मतले एमाले सम्बद्ध विष्णुमणि अधिकारीलाई पछि पारेका छन् । घिमिरेले १ हजार ७५ मत हासिल गरिसक्दा अधिकारीले मात्रै ५५३ मत पाएका छन् ।

अन्य पदहरूमा पनि सत्ता गठबन्धनकै उम्मेदवारको अग्रता कायम छ । माओवादी केन्द्रनिकट महासचिवका उम्मेदवार अञ्जिता खनालले ९६० मत ल्याएकी छन् । उनलाई पछ्याइरहेका पिपिएलएका केदारप्रसाद कोइरालाले मत ६५७ छन् ।

प्रदेश १ बाट उपाध्यक्षको उम्मेदवार सुरज खत्रीले एक हजार ८४ मतका साथ अग्रता कायम गरिरहँदा उनलाई रोहितकुमार डाँगीले ५८२ मतका साथ चुनौती दिइरहेका छन् । मधेस प्रदेशका डिएलए उम्मेदवार सुधीरकुमार कर्णको एक हजार ९७ र पिपिएलएका केशवप्रसाद दासको ५५० मत रहेको निर्वाचन समितिले जनाएको छ ।

वाग्मतीमा एकीकृत समाजवादीनिकट एसपिएलका उम्मेदवार हर्कबहादुर राउतले लिड गरिरहेका छन् । उनको मत एक हजार ८८ छ भने उनका प्रतिद्वन्द्वी डिल्लीराम मैनालीले मात्रै ५३९ भोट पाएका छन् । गण्डकीमा वीरेन्द्र केसीको एक हजार ५९ र भूपेन्द्र खनालले ५८७ मत बटुलिसकेका छन् ।

उता, लुम्बिनीमा आरपिएलका पशुपति भण्डारले अग्रता बनाएका छन् । उनले हालसम्म एक हजार ३० भोट पाइसकेका छन् उनका प्रतिद्वन्द्वी वासुदेव ज्ञवालीले ६१४ मतका साथ उनलाई टक्कर दिइरहेका छन् । प्राप्त पछिल्लो विवरणअनुसार, कर्णालीका उत्तमप्रसाद आचार्यले एक हजार ६३ र सुदूरपश्चिमका तुलाराम गिरीले एक हजार ८३ मतका साथ लिड गरिरहेका छन् ।

महिला उपाध्यक्षमा गठबन्धनकी आशा राईले एक हजार १२ र पिपिएलएकी रमा श्रेष्ठले ५४५ मत पाइसकेका छन् ।

कोषाध्यक्षमा डिएलएका भरतबहादुर राउतले एक हजार ४० र पिपिएलएका जगतबहादुर कार्कीको ५९२ भोट हासिल गरिसकेका छन् ।