NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

सगरमाथा चढ्दै महिला डाक्टर

काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा कार्यरत डा प्रीति भुसाल विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने भएकी छन् ।

आगामी हप्ताको मङ्गलबार सगरमाथातर्फ प्रस्थान गर्न लागेकी डा भुसाललाई बुधबार अस्पतालले एक कार्यक्रमको आयोजना गरी आरोहणको शुभकामना एवं बिदाइ गरेको छ । सन् २०१९ को अप्रिलमा सोलुखुम्बुको छ हजार ११९ मिटर अग्लो लोपुचे हिमालको सफल आरोहण गरेकी डा भुसाल गत वर्ष सगरमाथाको आधार शिविरसमेत पुगिसकेकी छन् ।

कार्यक्रममा डा भुसालले आफू सम्पूर्ण महिला डाक्टरको प्रतिनिधित्व गर्दै सगरमाथा आरोहण गर्न लागेको जानकारी दिइन् । यसअघि पुरुष डाक्टरले सगरमाथाको सफल आरोहण गरे पनि डा भुसाल महिला डाक्टरको प्रतिनिधित्व गर्दै पहिलोपटक सगरमाथा चढ्न लागेकी हुन् ।

कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा विनोद विजुक्छेले ग्राण्डी अस्पतालको प्रतिनिधित्व गर्दै सगरमाथा चढ्न लागेको भन्दै डा भुसाललाई सगरमाथा सफल आरोहणको शुभकामना व्यक्त गरे । डा भुसालले सगरमाथा आरोहण गर्न लागेकामा ग्राण्डी अस्पताल परिवार साह्रै खुशी भएको उनको भनाइ थियो ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अमृत खन्नाले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने कुरा चुनौतीपूर्ण रहेको भन्दै आफ्नो स्वास्थ्यको ख्याल राखी सगरमाथा आरोहण गर्न आग्रह गरे ।

कोरोना महामारीबाट ज्यान गुमाएका स्वास्थ्यकर्मीको सम्मान र जलवायु परिवर्तनका कारण स्वास्थ्यमा आउने नकारात्मक परिवर्तनसम्बन्धी सचेतना फैलाउने मुख्य उद्देश्यसहित डा भुसाल सगरमाथा आरोहणमा जान लागेकी हुन्

अर्घाखाँची स्थायी घर भएकी डा भुसाल काठमाडौँको बाँसबारीमा बस्दै आएकी छन् । उनले हिमालयन सेफ्हर्ड इको टुरिजममार्फत सगरमाथा आरोहण गर्न लागेकी हुन् ।