NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

निर्वाचित भएदेखि विना तलब जनताकाे सेवामा जाम्बियाका राष्ट्रपति

लुसाका । दक्षिण अफ्रिकी राज्य जाम्बियाका राष्ट्रपतिले निर्वाचित भएको पुरै आठ महिनासम्म विना तलब काम गरिरहेकाे थाहा पाएपछि सामाजिक सञ्जालमा एक किसिमकाे तरंग फैलिएको छ । राष्ट्रपतिको पारिश्रमिक र भत्ता तिर्ने जिम्मा लिएकाे मन्त्रालयले राष्ट्रपति हकाइन्डे हिचिलेमाले जनताको सेवा गर्न राष्ट्रपति बनेकाे भन्दै तलब नलिएकाे दाबी गरेको छ ।

गत अगस्टमा राष्ट्रपतिमा निर्वाचित हिचिलेमाले तलबका लागि आफूले सार्वजनिक पद नलिएकाे प्रतिक्रिया दिएका छन् ।

रुवाण्डाका राष्ट्रपति पाउल कागामेलाई स्वागत गर्न देशको दक्षिणी सहर लिभिङस्टोन पुगेका उनले पत्रकारसँग भने, ‘तलबको मुद्दा गैर–समस्या हो किनभने पैसा मेरा लागि सरकारी कार्यालय खोज्ने प्रेरणा थिएन र सरकार तिर्न इच्छुक पनि थिएन । मैले राष्ट्रपतिको तलबमा ध्यान दिएको छैन’, उनले थपे, ‘मेरो इरादा र प्रेरणा भनेको हामीले जनताको जीवन कसरी राम्रो बनाउन सक्छौं भन्ने मात्र हो ।’

स्थानीय र अन्तर्राष्ट्रिय सम्बन्ध भएका अर्थशास्त्री तथा व्यवसायी एवं १५ वर्षसम्म जाम्बियाको विपक्षी दलका नेताको रुपमा रहेका ५९ वर्षीय हिचिलेमा तत्कालीन राष्ट्रपति एडगर लुङ्गुलाई १० लाखभन्दा बढी मतले पराजित गर्दै सन् २०२१ काे अगस्टमा राष्ट्रपति बनेका थिए ।

उनले चुनावमा भ्रष्टाचार अन्त्य गर्ने, युवाहरुलाई रोजगारीको अवसर सिर्जना गरेर थलिएको अर्थतन्त्रलाई उकास्ने प्रतिज्ञा गरेका थिए । तर विपक्षीहरूले सन् १९९० को दशकमा उनले राज्य सम्पत्तिलाई निजीकरण गरी आर्थिक उन्नति गरेको दाबीपछि चुनावको क्रममा उनको सम्पत्ति छानबिन गरिएको थियो ।

हिचिलेमाको तलब नलिने निर्णय अझै पनि देशको कठिन आर्थिक अवस्थाका बीच एक मानवीय संकेतको रुपमा हेरिएको छ । तर जाम्बियाका लागि भने यो नयाँ विचार होइन । यसअघिका राष्ट्रपति लुङगुले पनि सन् २०१६ देखि आफ्नो ५० प्रतिशत तलब कटौती गरेका थिए ।

पछिल्ला दुई वर्षमा तलब कटौती गर्ने अन्य अफ्रिकी नेताहरूमा दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा, घानाका नाना अकुफो एड्डो, मलावीका लाजरस चकवेरा र केन्याका उहुरु केन्याटा छन् ।