NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

टाइफाइडविरुद्धको खोप अभियान आजदेखि, काठमाडौंमा मात्रै ६०० केन्द्र

काठमाडौं । सरसफाइको कमीले लाग्ने टाइफाइडविरुद्ध खोप अभियान आजबाट देशैभरि शुरू हुने भएको छ । अभियान आगामी १८ वैशाखसम्म सञ्चालन हुनेछ । यो अवधिमा देशभरका करिब ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिने कार्यक्रम छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले १५ महिनादेखि १५ वर्ष उमेरसमूहका बालबालिकालाई एक मात्रा खोप दिन लागेको बताए । पछि १५ महिनाका प्रत्येक बालबालिकालाई नियमित खोप कार्यक्रममार्फत एक मात्रा खोप दिने उनको भनाइ छ ।

अभियानको क्रममा टाइफाइड खोप स्थानीय तहको प्रत्येक वडामा तोकिएको विद्यालयहरूको खोप केन्द्रमा उपलब्ध हुने उनको भनाइ छ । विद्यालय नभएका वा कम भएका वडाहरूमा वाह्य खोप केन्द्र सञ्चालन गरिनेछ। देशभर खोप अभियानका लागि १० हजार स्वास्थ्यकर्मी परिचालन गरिने डा. लालले जानकारी दिए ।

शुक्रबारदेखि अभियानका रूपमा सञ्चालन गर्न लागिएको टाइफाइडविरुद्धको खोप कार्यक्रममा सहयोग गर्न काठमाडौं महानगरपालिकाले आफू मातहतका सबै विद्यालयलाई आग्रह गरेको छ ।

कामपाको शिक्षा विभागले सूचना जारी गर्दै यही चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म १५ महिनामाथि १५ वर्षसम्मका उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने कार्यक्रम रहेको छ ।

कामपा शिक्षा अधिकारी रामप्रसाद सुवेदीका अनुसार अभियान सहज होस् भन्नका लागि सामुदायिक र निजी गरी ६०० विद्यालयमा खोप केन्द्रको व्यवस्था गरिएको छ । अहिले चालु शैक्षिकसत्रको परीक्षा सञ्चालन हुने समय भएकाले परीक्षा सञ्चालन गरिने दिन परीक्षा समयअघि वा पछि अनुकूलता हेरेर अभियान सञ्चालन गर्न पनि भनिएको अधिकारी सुवेदीले बताए ।

रष्ट्रिय खोप कार्यक्रमलाई सरकारको पहिलो प्राथमिकता एवं जनस्वास्थ्यको सफल कार्यक्रमका रूपमा लिइएको छ । हाल यो कार्यक्रममार्फत १२ वटा एन्टिजेनसमेत समावेश गरी नियमित खोप कार्यक्रमको प्रभावकारी कार्यान्वयनबाट बालबालिकाको बिरामी दर, अपाङ्गता र शिशु तथा बाल मृत्युदरसमेतमा उल्लेख्य कमी आउनसक्ने विश्वास सरकारको छ ।

नेपालमा अझै पनि टाइफाइड रोगको उच्च सङ्क्रमण र जोखिम रहनुका साथै अस्पताल भर्ना हुने कारणमध्ये प्रमुख पाँच कारणभित्र यसलाई लिइएको छ । यो खोप सुरुमा १५ महिनादेखि १५ वर्ष उमेर समूहमा देशैभर अभियानमार्फत सञ्चालन गरी त्यसपछि नियमित खोपमार्फत १५ महिनाका बालबालिकालाई निरन्तर उपलब्ध गराइने भएको छ ।