NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते
वीरगन्ज महानगरपालिका

५ वर्षमा कता हरायो मेयर सरावगीको ‘कसम’ ?

अलपत्र परे अधिकांश योजना

काठमाडौं । वीरगन्ज महानगरपालिका मधेस प्रदेशको सबैभन्दा ठूलो स्थानीय तह हो । यो महानगरमा ०७४ सालमा भएको स्थानीय निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमका विजयकुमार सरावगी मेयर र कांग्रेसकी शान्ति कार्की उपमेयरमा विजयी भएका थिए । व्यापारिक पृष्ठभूमिका मेयर सरावगीले वीरगन्ज महानगरको नेतृत्व सम्हालेपछि विकासले द्रुत गति लिने बताएका थिए ।

निर्वाचित भएलगत्तै आयोजित पत्रकार सम्मेलनमा उनले आफूसँग भगवान्ले दिएको सबै कुरा भएको भन्दै महानगरबाट एक रुपैयाँ पनि सुविधा नलिने र गाडी पनि आफ्नै चढ्ने घोषणा गरे । मितव्ययी रूपमा कार्यकाल सुरु गरेका सरावगी पछि त्यसमा पनि चिप्लिए । महानगरको उन्नतिका लागि उनले गरेका अधिकांश वाचा पनि पाँचवर्षे कार्यकाल सकिनै लाग्दासमेत पूरा भएनन् ।

अलपत्र पर्‍याे ‘कसम’

तलब–भत्तालगायत सेवा–सुविधा ‘मेयर कल्याणकारी’ कोषबाट खर्च गरे पनि गाडीको विषयमा उनको अडान कायम रहन सकेन । उनले एक करोड ४५ लाखमा मित्सुबिसी पजेरो (ना.१झ १६९८) किने । अहिले सोही गाडी चढ्ने गरेका छन् । जिल्लामा राष्ट्रपति, प्रधानमन्त्री आउँदा चढाउने गाडी नभएकाले किन्नुपरेको मेयर सरावगीले तर्क दिने गरेका छन् ।

सरावगीले स्थानीय तह निर्वाचनमा जानुअघि ‘कसम’ नामको चुनावी घोषणापत्र सार्वजनिक गरेका थिए । कसममा उनले ५० वर्षमा नभएको विकास पाँच वर्षमा गरेर देखाउने वाचा गरेका थिए । बिग्रेका सडक र नाला तीन महिनाभित्र मर्मत गर्ने, सिर्सिया नदी दुवैतिर ४० फिट चौडा सडक र नाला बनाउने उनको प्रतिबद्धता थियो ।

त्यस्तै, स्याटेलाइट सिटी बनाउने, नगरका हरेक महिलालाई रोजगारी दिने, १० लाख बिरुवा रोप्ने, वीरगन्जको मुख्य सडक आवश्यकताअनुसार विस्तार गर्ने पनि उनले बताएका थिए । यीमध्ये अधिकांश बाचा पूरा हुन सकेनन् ।

भ्रष्टाचारमा शून्य सहनशीलता, स्थानीय तहबाट दिने सेवा–सुविधा घरदैलोमै पु¥याउने, प्रत्येक वडामा बाल उद्यान, स्लेट टु स्लाइड अभियानअन्तर्गत विद्यालयबाट आधुनिक शिक्षा प्रदान गर्ने, पछि गाभिएका १६ वटा वडामा पाँचवटा मदर कलेज स्थापना गर्ने, ‘बकरी से ब्याचलर तक’ भन्ने अभियान सञ्चालन गर्ने, महानगरमा अध्ययन केन्द्र, आधुनिक पुस्तकालय, इ–लाइब्रेरी, कक्षा ११ र १२ मा अध्ययनरत गरिब तथा जेहेनदार बालिकालाई ल्यापटपजस्ता अनेकौँ प्रतिबद्धता कसममा थिए । तर, तीमध्ये अधिकांश अलपत्र परेका छन् ।

किसानका लागि गरिएका बाचा पनि बिर्सिए

मेयर सरावगीले किसानका लागि पनि अनेकौँ बाचा गरेका थिए । बिजुलीमा आधारित आधुनिक कृषिलाई प्रोत्साहन गर्ने, प्रत्येक बिघाका लागि एक हाइड्रोलिक पम्पको व्यवस्था गर्ने, आधुनिक बीज भण्डारको व्यवस्था गर्ने, किसानले उत्पादन गरेको फलफूल तथा तरकारी बिक्रीका लागि आधुनिक थोकमन्डी र शीतभण्डार बनाउने, माटो परीक्षण केन्द्र स्थापना गरी प्रत्येक किसानलाई निःशुल्क माटो परीक्षण कार्ड विरतण गर्नेजस्ता थुप्रै बाचा थिए । नगर क्षेत्रभित्र मलखाद संस्थानको स्थापना, किसानको बालीनाली क्षतिपूर्तिका लागि कोष स्थापना, ग्रामीण क्षेत्रलाई माछापालन पकेट क्षेत्रका रूपमा विकास गर्न किसानलाई विशेष अनुदान यी सबै प्रतिबद्धता उनले आफ्नो कार्यकालभर विर्सिएका छन् ।

ज्येष्ठ नागरिकमाथि पनि भएन न्याय

ज्येष्ठ नागरिकलाई पूर्ण रूपले निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने, त्यसका लागि हेल्थ कार्डको व्यवस्था गर्ने, ज्येष्ठ नागरिकका लागि आधुनिक दिवा तथा रात्रि स्वास्थ्य सेवा केन्द्रको स्थापना गर्ने, ८५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकका लागि वृद्धभत्ता पाँच हजार घरमै दिइने, प्रत्येक वडामा ज्येष्ठ नागरिक पार्क निर्माण गर्ने बाचा पनि पूरा भएन ।

खेलाडीमाथि खेल

खेल क्षेत्र सुधारका लागि पनि मेयर सरावगीले अनेक योजना अघि सारेका थिए । नारायणी रंगशाला, नारायणी क्रिकेट मैदान, आदर्शनगर रंगशालालगायत संरचनाको संरक्षण गर्ने, वीरगन्जलाई खेलकुद हब बनाउने प्रतिबद्धता पूरा भएन । ‘युवा उद्यम कार्यक्रम तथा खेल गाउँ कार्यक्रम’ सञ्चालन गर्ने प्रतिबद्धता पनि कागजमै सीमित भयो । खेलकुदको क्षेत्रमा महानगरपालिकाले आवश्यक लगानी गर्न नसकेको खेलाडी बताउँछन् । तर, महानगरले बर्सेनि ‘मेयर कप प्रतियोगिता’ भने गर्दै आएको छ ।

विकास निर्माणको अवस्था नाजुक

बजार क्षेत्रमा पैदल यात्रुका लागि आवश्यक ओभर ब्रिज बनाएर आवागमन सहज बनाइने भनिए पनि अहिलेसम्म एउटा पनि बनेको छैन । मुख्य सडक विस्तार गर्ने कार्य अलपत्र छ । पूर्वाधार निर्माणतर्फ वीरगन्जमा चक्रपथ, सिर्सिया करिडोरजस्ता योजना अघि नै बढ्न सकेनन् ।
वीरगन्ज महानगरभित्र विशेष सुविधासम्पन्न औद्योगिक क्षेत्र निर्धारण गरी विकास गर्ने, वीरगन्ज–पथलैया औद्योगिक करिडोरलाई ‘ग्रेटर वीरगन्ज’को अवधारणाभित्र राखी मुलुककै आर्थिक तथा औद्योगिक राजधानीका रूपमा स्थापित गर्ने, भित्र विभिन्न ठाउँमा सपिङ मल निर्माण गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने, एक घर एक बैंक खाता सञ्चालन गर्न महानगरको स्वामित्वमा रहने गरी बैंक स्थापना गर्ने योजना पनि यत्तिकै थन्किए ।
सार्वजनिक कार्यालय, सार्वजनिक स्थल, बस बिसौनी र मानिसको सघन उपस्थिति रहने प्रत्येक स्थानमा निःशुल्क खानेपानी, शौचालय र ओत लाग्ने राम्रो संरचनाको व्यवस्था गर्ने कुरा घोषणापत्रमा सीमित रह्यो ।
मुख्य सडकको ट्राफिक व्यवस्थापन गर्न पनि महानगर असफल देखियो । जीर्ण सडक मर्मत हुन सकेनन् । त्रिभुवन राजपथअन्तर्गत पर्ने मुख्य सडक २५–२५ मिटर फराकिलो गर्न लाग्दा महानगरले १५–१५ मिटर मात्रै फराकिलो गर्ने प्रस्ताव नगर सभाबाट पारित ग¥यो । घरधनीले अदालतमा मुद्दा हालेका कारण सडक विस्तार हुन सकेन । जसले गर्दा वीरगन्जको ट्राफिक व्यवस्था अस्तव्यस्त छ । वीरगन्ज महानगरपालिकाले ल्याएको यातायात तथा सवारी व्यवस्थापन कार्यविधि, २०७६ पनि कार्यान्वयन हुन सकेन ।

जनप्रतिनिधिका राम्रा काम

पाँचवर्षे कार्यकालमा केही राम्रा काम पनि भएका छन् । अलपत्र अवस्थामा रहेको वीरगन्ज बस टर्मिनलको काम सम्पन्न भई सञ्चालनमा आएको छ । पाँच बिघा पाँच कट्ठा जग्गामा निर्माण गरिएको बसपार्क १५ करोड ७० लाख ८६ हजारमा निर्माण सम्पन्न भएको छ । बसपार्क निर्माणका क्रममा देखिएका समस्या समाधानमा महानगरले भूमिका निर्वाह गरेको थियो । ३२ वटा वडामध्ये ६ वटा वडा कार्यालयको आफ्नै भवन बनेको छ । दुईवटा निर्माणाधीन अवस्थामा छन् । महानगरका सबै वडा पक्की तथा ग्राभेल सडक सञ्जालबाट जोडिएका छन् । नगरभित्र पछिल्लो चार वर्षमा सडक, नाला, विद्यालय तथा सामुदायिक भवन र उद्यानजस्ता पूर्वाधार बनेको मेयर सरावगी बताउँछन् । एक सय ४० किलोमिटरभन्दा बढी सडक र ५२ किलोमिटरभन्दा बढी नाला निर्माण भएको उनको दाबी छ । चार वर्षमा महानगरपालिकाले विभिन्न ३४ वटा भवन, एउटा झोलुङे पुल र १२ वटा कल्भर्ट निर्माण गरेको सहरी विकास पूर्वाधार महाशाखाका प्रमुख इन्जिनियर राकेश साहले बताए ।

शैक्षिक सुधारको प्रयास

महानगरले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न विभिन्न काम गरेको छ । शिक्षा ऐन लागू गरिएको छ । एक सय २० भन्दा बढी सरकारी विद्यालय सञ्चालन हुँदै आएकोमा आवश्यक नभएका विद्यालय गाभेर ८९ वटामा झारिएको छ । विद्यार्थीको नक्कली लगत खडा गरी सरकारी सेवा–सुविधा दोहन गर्ने ३१ भन्दा बढी विद्यालय या त बन्द भएका छन्, या अन्यत्र गाभिएका छन् ।
विद्यालयमा निःशुल्क सेनेटरी प्याड, छात्रा शौचालय र नर्सिङ कक्ष, सिसिटिभी क्यामेरा जडान, लामो समय एकै स्थानमा बसेका प्रधानाध्यापक तथा शिक्षकको सरुवालगायत काम भएका छन् ।

फोहोरमैला व्यवस्थापनमा पूर्वाधार तयार

वीरगन्ज महानगरपालिकामा जनप्रतिनिधि आउनुअघि फोहोरमैला व्यवस्थापनमा समस्या थियो । तर, अहिले फोहोर व्यवस्थापनका लागि वीरगन्ज– १६ नगवामा ल्यान्डफिल साइट छ । ४७ करोड ६१ लाख ८० हजार रुपैयाँ लागतमा साइट तयार गरिएको हो । ६ करोड २२ लाखमा छुट्टै वेस्ट म्यानेजमेन्ट सेन्टर तयार गरिएको छ भने १२ करोडको लागतमा पानी प्रशोधन केन्द्र पनि सञ्चालनमा छ ।

उज्यालो वीरगन्ज अभियान

राष्ट्रिय योजना आयोगको ५० प्रतिशत समपूरक अनुदान र महानगरको ५० प्रतिशत गरेर झन्डै २४ करोडको योजना हो उज्यालो वीरगन्ज अभियान । यसका लागि टेन्डर आह्वान गरी कम्पनी छनोट गरिएको थियो । तीन वर्षभित्र १४ हजार एलइडी लाइट जडान गर्ने लक्ष्य छ । महानगरमा जडान भएका सम्पूर्ण लाइटको मर्मत पाँच वर्षसम्म ठेकेदार कम्पनीले नै गर्ने सम्झौता भएको छ । आठ हजार लाइट लगाइसकेको र ६ हजार लाइट लगाउने क्रममा रहेको महानगरले जनाएको छ ।

सधैँ विवादमा बिपी उद्यान

वीरगन्जको घण्टाघर चोकनजिकै बिपी उद्यानको नाममा १० बिघा जग्गा छ । वीरगन्ज महानगरपालिकाको स्वामित्वमा रहेको जग्गामा पार्क, खुलामञ्च, पार्किङ स्थल बनाउने लगायतको योजनासहित डिपिआर तयार गरिएको छ । तर, उक्त जग्गामा कामभन्दा बढी विवाद हुने गरेको छ । उद्यानको जग्गामा थोक तथा खुद्रा तरकारी बजार, साइकलमा फलफूल तथा ठेलामा खाजा–नास्ताको पसल र कतिपयले व्यापार व्यवसाय सञ्चालन गर्दै आएका छन् ।
वीरगन्ज महानगरपालिकाले पटक–पटक ठाउँ खाली गराउने प्रयास गरेको छ । तर, स–साना व्यापारीलाई वैकल्पिक ठाउँ दिन नसक्दा समस्या यथावत् रहने गरेको छ । पर्खाल लगाएर जग्गा घेरेर राख्न सफल भए पनि अन्य कामले गति लिन सकेको छैन ।

कोरोना महामारीमा उदाहरणीय काम

कोरोना महामारीका बेला महानगरले राम्रो काम गरेको स्थानीयले बताएका छन् । महामारीको पहिलो र दोस्रो लहरका बेला वीरगन्ज कोरोनाको हट स्पट बनेको थियो । महानगरले चन्दा संकलन गरेर नारायणी अस्पताललाई पिसिआर मेसिन खरिद गरेर दिएको, अस्थायी कोरोना अस्पताल सञ्चालन गरेर संक्रमितको उपचार गरेको, घरघरमा अक्सिजन तथा औषधि पु¥याएर सहयोग गरेको थियो । कोरोना माहामारी नियन्त्रण तथा रोकथामका लागि १२ करोड रुपैयाँ खर्च भएको मेयर सरावगीले बताए । महामारीबाट प्रभावित गरिब विपन्नलाई खानेकुराको प्रबन्ध मिलाउने लगायतको कामलाई नगरका बासिन्दाले प्रशंसा गरेका छन् ।

दलहरूको नजरमा महानगरका काम

विभिन्न राजनीतिक दलका नेताले मेयर सरावगीको कार्यकाल सफल हुन नसकेको प्रतिक्रिया दिएका छन् । स्वयं महानगर चलाइरहेको जनता समाजवादी पार्टी पनि आफ्ना जनप्रतिनिधिको कामबाट सन्तुष्ट छैन । जनता समाजवादी पार्टीका जिल्ला सचिव तवरेज अहमद प्रशंसा गर्ने उदाहरणीय काम महानगरमा हुन नसकेको बताउँछन् । ‘परम्परागत विकास सडक, नाला, सामुदायिक भवन, मठ–मन्दिर, मस्जिद, कल्भर्ट बनाउने काम हिजो पनि भएकै हो,’ उनले भने, ‘वाह भनेर प्रशंसा गर्ने काम हुन सकेको छैन ।’

कांग्रेसका नगर सभापति एवं मेयर सरावगीका निकटतम प्रतिद्वन्द्वी अजय द्विवेदी यो कार्यकालमा आशा जगाउने काम हुन नसकेको बताउँछन् । ‘नयाँ महानगर थियो, आशा जगाउने काम गर्नुपर्ने थियो । शिक्षा, स्वास्थ्य, कृषि, सरसफाइ, बाटोघाटोलगायत कुनै एउटा यस्तो क्षेत्र छैन, जुन क्षेत्रमा आस जागोस्,’ उनले भने ।

एकीकृत समाजवादीका जिल्ला अध्यक्ष बालगोपाल थापाले पनि महसुस गर्ने खालको विकास हुन नसकेको बताए । ‘बाल मन्दिर, टाउन हलजस्ता सार्वजनिक सम्पत्ति बेचिएसरह छ,’ उनले भने, ‘वीरगन्जको घण्टाघर चोककै सडकले गिज्याइरहेको छ । बिपी उद्यानको जग्गामा तरकारी बजार राखेर पैसा उठाएर खाइरहेको छ ।’