NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

पाकिस्तान पछि श्रीलंकामा पनि राजनीतिक संकट

काठमाडौं । पाकिस्तान र श्रीलंका अहिले राजनीतिक संकटबाट गुज्रिरहेका छन् । पाकिस्तानले शनिबार नेशनल एसेम्बलीमा प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वासको प्रस्तावमा मतदान गर्नेछ ।

अर्कोतर्फ, श्रीलंकाको गम्भीर आर्थिक संकटले देशलाई राजनीतिक संकटतर्फ धकेल्यो । अङ्ग्रेजी पत्रिका द हिन्दूमा प्रकाशित समाचारका अनुसार श्रीलंकाका विपक्षी नेता सजिथ प्रेमदासाले राष्ट्रपति गोटाबाया राजपाक्षेलाई आफ्नो पदबाट राजीनामा नदिए राजपाक्षे सरकारविरुद्ध सदनमा अविश्वासको प्रस्ताव ल्याउने चेतावनी दिएका छन् ।

श्रीलंका अहिलेसम्मकै सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ । मुलुकमा इन्धन, खाद्यवस्तु, बिजुली र अत्यावश्यक औषधिको चरम अभाव छ । देशभर विद्युत् आपूर्ति नहुँदा सर्वसाधारणले घण्टौंसम्म विद्युत् कटौतीको सामना गर्नुपरेको छ ।

राष्ट्रपति गोटाबायाविरुद्ध सडकमा आम नागरिकको प्रदर्शन दिनप्रतिदिन बढ्दै गएको छ । आन्दोलनकारीले गोटाबायाको राजीनामा मागिरहेका छन् । जनताको आक्रोश देखेर श्रीलंकाको पूरै मन्त्रिपरिषद्ले गत साता राजीनामा दिएको थियो । तर बढ्दो जनआक्रोशका बाबजुद पनि राष्ट्रपति गोटाबाया र उनका भाइ तथा प्रधानमन्त्री महिन्दा राजापाक्षे पदमै छन् ।

गोटाबाया राजपाक्षेले विपक्षी दलका नेताहरुलाई सरकारमा सहभागी हुन आमन्त्रण गरेको प्रस्तावलाई देशको विपक्षी दलले पनि अस्वीकार गरेको छ ।

श्रीलंकाको आर्थिक अवस्था बारे अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को प्रतिवेदनमा संसदमा बोल्दै समगी जनता बलवेगया पार्टी (एसबीजे) का नेता प्रेमदासाले राष्ट्रपति गोटाबाया राजापाक्षेलाई, ‘या त नेतृत्व गर्नुहोस्, वा पद छोड्नुहोस्’, भनेका छन् ।

गोटाबायाको राजीनामाको माग दोहोर्‍याउँदै उनले देशको कार्यकारी राष्ट्रपति पद खारेज गर्न माग गरे । तर राष्ट्रपति गोटबायालाई पदबाट हटाउन अहिले विपक्षका लागि त्यति सजिलो छैन ।

एसजेबीसँग संसदमा जम्मा ५४ सिट छ, विपक्षमा बसेका अन्य सबै दलको समर्थनमा पनि गोटाबायाविरुद्ध ७० मत मात्र जुटेको छ । २२५ सदस्यीय सदनमा विश्वासको मत पारित गर्न सरकारका थप ४२ सांसदको समर्थन विपक्षी दललाई आवश्यक हुनेछ ।

पाकिस्तान

अर्कोतर्फ, पाकिस्तानमा शुक्रबार अविश्वासको प्रस्तावको मतदान हुनुअघि प्रधानमन्त्री इमरान खानले फेरि एकपटक जनतालाई सम्बोधन गर्दै आफ्नो देशका विपक्षी नेताहरूसँग प्रत्यक्ष मिलेमतोमा अन्तर्राष्ट्रिय स्तरमा आफूविरुद्ध षड्यन्त्र भइरहेको दाबी गरेका छन् ।

उनले विपक्षी नेता अमेरिकासँग मिलेको आरोप पनि लगाए । इमरानले भने, ‘म अखण्डता, न्याय र जनहितको सिद्धान्तमा हिँडेको छु । आज म इमानदारी र न्यायको कुरा गर्न चाहन्छु । तर अमेरिकाले विपक्षीलाई इमरान खान पदमा रहे भने पाकिस्तानले परिणाम भोग्नुपर्ने र यदि उनले पद छोडे भने पाकिस्तानलाई माफी दिइनेछ, भनेको छ ।’

अदालतको फैसला : इमरान खानले अविश्वासको प्रस्तावको सामना गर्नैपर्ने

श्रीलंकाको संकटकाल हट्यो, राजपक्षे सरकार अल्पमतमा

ताजा अपडेट

नेपालवाच विशेष