NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

बिहारमा ६० फिट लामो फलामको पुल चोरी

पटना । भारतको बिहार राज्यस्थित सासाराम जिल्लामा ६० फिट लामो पुल चोरी भएको छ । समाचार एजेन्सी पिटिआईले प्रहरीलाई उद्धृत गर्दै आफूलाई सरकारी अधिकारी दाबी गर्ने केही व्यक्तिले पुल चोरी गरेको बताएको छ ।

चोरी भएको पुलको तौल ५०० टन थियो । सन् १९७२ मा नहरमा पुल निर्माण गरिएको थियो । समाचार एजेन्सी एएनआईसँगको कुराकानीमा सासारामका एसपी आशिष भारतीले भने, ‘सिँचाइ विभागको पुल प्रयोगमा थिएन । सिँचाइ विभागबाट पुल लिन आएको उनीहरूकाे भनाइ थियो । त्यही भएर गाउँलेलाई जानकारी दिएनन् ।’

प्रहरीले एफआइआर दर्ता गरेर अनुसन्धान सुरु गरेको एसपीले बताए । यस विषयमा जिल्लाका फलाम व्यवसायीलाई पनि सचेत गराइएको छ ।

बिहार विधानसभामा विपक्षी दलका नेता तेजस्वी यादवले यस विषयमा नितिश सरकारमाथि आक्रोश पोखेका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘४५ वर्ष पुरानो ५०० टन फलामको पुल १७ वर्षको बीजेपी–नितिश सरकारले दिउँसै लुट्यो । चोरहरूले ग्यास कटर, जेसीबी र सयौं मजदुर लिएर आएर पुल भत्काएका थिए । पुल चोर जनादेश पाइरेसीबाट बनेको एनडिए सरकारबाट प्रेरित छ ।’