NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

सानफ्रन्सिस्कोमा सयौं नेपालीको मार्चपास

 

क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सानफ्रान्सिस्कोमा नेपाली कला,संस्कृति र पहिचान झल्किने विभिन्न झॉकीसहितको बृहत् प्रदर्शनी गरिएको छ ।

नेपाली समुदायको हकहितका लागि कार्य गरिरहेका यहाँका विभिन्न सामाजिक संघसंस्था तथा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्, अमेरिका र क्यालिफोर्निया च्याप्टरको संयुक्त पहलमा प्रदर्शनी गरिएको हो । नेपाली नयाँ वर्षको अवसरमा आयोजित प्रदर्शनीको नाम ‘नेपाल डे परेड’ दिइएको छ ।

प्रदर्शनमा सहभागीले भगवान् गौतम बुद्ध नेपालमा जन्मिएका हुन्, अमेरिका–नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध चीरकाल रहोस्’जस्ता प्लेकार्ड र नेपालको झण्डा बोकेका थिए ।

सानफ्रन्सिस्को शहरको विभिन्न भागमा नेपालको विविधता झल्किने पहिरहनमा उपस्थित नेपालीहरूले गरेको यस प्रदर्शनीलाई स्थानीय र विभिन्न देशका मानिसहरूले चासोपूर्वक नियालेका थिए ।


क्यालिफोर्नियाकै ब्यस्त एवम् ऐतिहासिक शहर भएकोले पनि सानफ्रान्सिस्कोमा यस प्रकारको कार्यक्रम हुनु नेपालको पर्यटन क्षेत्र र नेपाली कलासंस्कृतिको प्रवर्द्धनका लागि सकारात्मक पहलकदमी भएको यहाँ क्रियाशील विभिन्न पेशा–व्यवसायी एवं सामाजिक अभियान्ताहरूले उल्लेख गरेका छन् ।

नेपालीमूलका भूटानी शरणार्थीबाहेक आधिकारिक रूपमा अमेरिकामा बसोबास गर्ने नेपालीको संख्या करिब तीन लाख छ ।

यद्यपि, क्यालिफोर्नियामा पहिलो पटक आयोजना गरिएको परेडको आर्थिक पारदर्शिता एवं सहभागितालाई लिएर यहँका कतिपय संघसंस्था र व्यक्तिहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।