NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते
स्थानीय तह निर्वाचन विशेष

मेयरसहितको दल–बदलले वीरगञ्जको परिणाममा कस्तो असर पार्ला ?

काठमाडौं । मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्जमा पनि चुनावी माहोल गर्माएको छ । विभिन्न दलले पार्टी प्रवेश, भेला, वडा समिति गठन, निर्वाचन परिचालन कमिटी गठनजस्ता गतिविधि बढाएका छन् । यसबीच प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल वीरगञ्ज आएर फर्किएका छन् । एमाले अध्यक्ष केपी शर्माले ओली वैवाहिक कार्यक्रममा आएको समयमा मेयर विजयकुमार सरावगीलाई पार्टी प्रवेश गराएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराईलगायत नेताले लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेशमान सिंहलाई पार्टी प्रवेश गराएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत केन्द्रीय नेता आएर वीरगञ्जमा प्रादेशिक प्रशिक्षण गरिसकेका छन् । त्यसैले दलका नेताहरूले वीरगञ्ज महानगरमा जित निकाल्न सबै दाउपेच अपनाएका छन् । गत चुनावको परिणामलाई आधार मान्ने हो भने यो महानगरमा मधेसकेन्द्रित दलको वर्चस्व छ । कांग्रेस पनि मजबुत छ, तर एमाले र माओवादी कमजोर देखिन्छन् ।

गत चुनावको परिणाम

०७४ मा भएको स्थानीय निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको मेयरमा तत्कालीन संघीय समाजवादी फोरमका विजयकुमार सरावगी निर्वाचित भए । उनले कांग्रेसका अजयकुमार द्विवेदीलाई दुई हजार एक सय ९६ मतले पराजित गरेका थिए । सरावगीले १९ हजार तीन सय ९३ र द्विवेदीले १७ हजार एक सय ९७ मत ल्याएका थिए ।

राष्ट्रिय जनता पार्टीका राजेशमान सिंहले १२ हजार एक सय ६५ तथा नेपाल लोकतान्त्रिक फोरमका विमलप्रसाद श्रीवास्तवले आठ हजार सात सय एक मत ल्याएका थिए । त्यहाँ एमाले र माओवादी केन्द्र पाँचौँ र छैटौँ स्थानमा रहे । एमाले उम्मेदवार बसरुद्दिन अन्सारीले आठ हजार ६ सय ८८ र माओवादी केन्द्रका रहवर अन्सारीले आठ हजार तीन सय पाँच मत प्राप्त गरे । महानगरको मेयरमा १४ जना स्वतन्त्रसहित २४ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । जसमध्ये सातजनाले आफ्नो मात्र मत पाए । १२ जना उम्मेदवारले दोहोरो अंकको मत पाउन सकेनन् ।

उपमेयरमा भने कांग्रेसले बाजी मा¥यो । नौजना उम्मेदवारलाई पछि पार्दै कांग्रेसकी शान्ति कार्की १९ हजार ६ सय सात मत पाएर विजयी भइन् । निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमकी पिंकीदेवी यादवले १८ हजार पाँच सय ३० मत ल्याइन् । राजपाकी रम्भा मिश्राले १० हजार ६ सय ६३, एमालेकी सोफिया आचार्यले १० हजार तीन सय ४१, नेपाल लोकतान्त्रिक फोरमकी रिंकु यादवले सात हजार पाँच सय ८६ तथा माओवादी केन्द्रकी दुर्गा क्षेत्रीले पाँच हजार २८ मत प्राप्त गरिन् । मेयर र उपमेयर दुवैमा तत्कालीन राजपा तेस्रो बन्यो । लोकतान्त्रिक फोरम मेयरमा चौथो र उपमेयरमा पाँचौँ, एमाले मेयरमा पाँचौँ र उपमेयरमा चौथो, माओवादी मेयर र उपमेयर दुवैमा छैटौँ बन्यो । ३२ वडा रहेको महानगरमा अन्य पदमा मिश्रित परिणाम आयो । १२ वडाका अध्यक्ष संघीय समाजवादी फोरमले र १० वटामा कांग्रेसले जित्यो । एमाले पाँच, राजपा तीन तथा माओवादी केन्द्र र लोकतान्त्रिक फोरमले एक–एक वडामा अध्यक्ष जितेका थिए ।

विभाजन र पार्टी परिवर्तनले गन्जागोल

०७४ यताको पाँच वर्षमा वीरगञ्जमा पनि राजनीतिक हिसाबले धेरै उथलपुथल भएको छ । दलहरू विभाजित भएका छन् । नेता–कार्यकर्ताले पार्टी परिवर्तन गर्ने कामलाई तीव्रता दिएका छन् । महानगरका मेयर विजयकुमार सरावगीसमेत जनता समाजवादी छाडेर एमाले प्रवेश गरेका छन् । तत्कालीन संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी मिलेर जनता समाजवादी पार्टी बने पनि एक वर्षमै फेरि फुटेको छ । महन्थ ठाकुर नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी बनेको छ ।

उपेन्द्र यादवले नेतृत्व गरेको तत्कालीन संघीय समाजवादी फोरम राजपासँग एकता भएर जसपा बन्यो । विभाजनपछि पहिले राजपामा रहेका अधिकांश नेताले लोसपा बनाएका हुन् ।

विजयकुमार गच्छदारले नेतृत्व गरेको नेपाल लोकतान्त्रिक फोरम कांग्रेसमा विलय भएको छ । ०७४ को निर्वाचन परिणामबाट मेयरमा पाँचौँ र उपमेयरमा चौथो स्थानमा रहेको एमाले पनि विभाजित भएको छ । माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी पार्टी भनेको छ ।

दलबदल र सम्भावित समीकरण

चुनावको मिति नजिकिँदै जाँदा नेताहरूले टिकटको दौडधुप गरिरहँदा दलबदल पनि चलिरहेको छ । त्यसलाई पनि आधार बनाएर दलहरू गठबन्धनको तयारीमा लागेका छन् । संघीय सरकारमा साझेदारी गरिएका दलबीच वीरगञ्जमा पनि गठबन्धनको सम्भावना छ । एमालेले पनि राप्रपा र लोसपासँग समीकरण बनाउने प्रयास गरिरहेको छ । तर, सरकारमा रहेका पाँच दल नै गठबन्धनको पक्षमा रहेपछि एमाले अप्ठेरोमा देखिन्छ ।

सत्ता साझेदार दलबीच समीकरण भए वीरगञ्ज महानगरको मेयर गठबन्धनको पक्षमा जाने लगभग निश्चित छ । गठबन्धन हुँदा जसपाले मेयर र कांग्रेसले उपमेयर पाउन सक्छ । किनकि सरकारमा रहेका दलको गठबन्धन भएमा जसपाको जित्ने आधार भएको महानगर वीरगञ्ज मात्र हो ।

वीरगञ्जमा पछिल्लोपटक नेताहरूको दलबदल धेरै भएको छ । मेयरमा लडेका अधिकांश ठूला नेता अहिले पुरानो पार्टीमा छैनन् । संघीय समाजवादी फोरमबाट चुनाव जितेका सरावगी जसपा हुँदै हालै एमालेमा प्रवेश गरेका छन् । तत्कालीन महन्थ ठाकुर नेतृत्वको राजपाबाट चुनाव लडेर तेस्रो बढी मत ल्याएका राजेशमान सिंह अहिले जसपामा प्रवेश गरेका छन् । तत्कालीन विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबाट मेयरमा चुनाव लडेर चौथो बढी मत ल्याएका विमलप्रसाद श्रीवास्ताव लोसपामा गएका छन् । गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम कांग्रेसमा समाहित भएको छ । आफ्नो पार्टीबाट टिकट पाउने सम्भावना नभएपछि धेरैले दल बदलेका हुन् । तर, यसले पार्टीहरूको सांगठनिक आधारमा भने ठूलो परिवर्तन भएको छैन ।

सम्भावित परिणाम

केही नेताले पार्टी परिवर्तन गरे पनि वीरगञ्ज महानगरको भावी परिणामबारे आकलन गर्न धेरै गाह्रो छैन । किनकि दलहरूको सांगठनिक आधारले नै त्यसको संकेत गर्छ । सत्ता साझेदार दलबीच गठबन्धन बन्यो भने अन्य दल यहाँ निकै कमजोर हुनेछन् । विगतको परिणामका आधारमा हेर्दा अहिलेको जसपाले पाएको भोट १९ हजारभन्दा बढी, लोकतान्त्रिक फोरमको सहित कांग्रेसको भोट २५ हजारभन्दा बढी र माओवादीको आठ हजार हाराहारीमा छ । यो जोड्दा ५३ हजारभन्दा बढी हुन्छ । तत्कालीन राजपाले पाएको १२ हजार पूरै मत र एमालेको आठ हजार मान्दा पनि अर्को गठबन्धनमा २० हजार हाराहारी मात्रै हुन आउँछ । यद्यपि, तत्कालीन राजपाका थुप्रै नेता अहिले जसपामै छन् । गठबन्धन नभई सबै दल एक्लाएक्लै लडेमा भने केही प्रतिस्पर्धा हुन सक्छ । त्यस्तो अवस्थामा पनि जसपा नै अघि देखिन्छ । यद्यपि, वीरगञ्जमा एक्लाएक्लै प्रतिस्पर्धा हुने सम्भावना न्यून छ । सत्ता गठबन्धनबीच तालमेल हुँदा जसपाले मेयर र कांग्रेसले उपमेयर पाउन सक्छ । माओवादीले भने वडाध्यक्षमै चित्त बुझाउनुपर्ने हुन सक्छ । यता एमालेले लोसपालाई उपमेयर दिएर अहिलेका मेयर सरावगीलाई नै उम्मेदवार बनाउने तयारी गरेको छ । त्यसो हुँदा सरावगीका व्यक्तिगत मत तान्न सकिने उसको विश्लेषण छ । तर, विगतमा एमालेले भन्दा बढी मत ल्याएकाले लोसपाले पनि मेयरमा दाबी गरिरहेको छ ।

मतदाता, जनसंख्या र भौगोलिक अवस्था

वीरगञ्ज महानगरमा ०७४ सालमा महिला ४६ हजार आठ सय ३२ र पुरुष ६१ हजार ६ सय ६६ गरी जम्मा एक लाख आठ हजार पाँच सय एक मतदाता थिए । अहिले बढेर महिला ५३ हजार आठ सय ३३ र पुरुष ७० हजार आठ सय १० गरी कुल एक लाख २४ हजार ६ सय ४७ पुगेका छन् । वीरगञ्जमा झन्डै १६ हजार मतदाता थपिएका छन् ।

मुलुकको आर्थिक राजधानी र प्रवेशद्वारका रूपमा चिनिएको औद्योगिक एवं व्यापारिक सहर वीरगञ्जको स्थापना राणा प्रधानमन्त्री वीरशमशेरले गरेको मानिन्छ । त्यसैले यसको नाम उनकै नाउँमा वीरगञ्ज राखिएको इतिहासकारको भनाइ छ । ०१० सालमा यो नगरपालिका बनेको थियो । वीरगञ्ज महानगरका १६ वटा वडा ग्रामीण क्षेत्रबाट जोडिन आएका हुन् ।

भारतको चम्पारण जिल्लाको सीमावर्ती बजार रक्सौलबाट करिब तीन किलोमिटरको दूरीमा नेपालको दक्षिणी तराई क्षेत्रमा अवस्थित यो सहर समुद्री सतहदेखि ९१ मिटर उचाइमा छ । पूर्व र उत्तरमा बारा जिल्ला, पश्चिममा बिन्दवासनी गाउँपालिका, बहादुरमाई नगरपालिका तथा पर्सागढी नगरपालिका र दक्षिणमा छिमेकी मुलुक भारत रहेको यो सहर पर्सा जिल्लाको सदरमुकाम पनि हो । त्रिभुवन राजपथ र महेन्द्र राजमार्ग जोड्ने पथलैयाबाट २८ किलोमिटर दक्षिणमा रहेको वीरगञ्ज महानगरमा ०७८ को प्रारम्भिक जनगणनाअनुसार दुई लाख ६८ हजार दुई सय ७३ जनसंख्या छ ।