NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

एमालेबाट भरतपुर मेयरमा सिफारिस गरिएका सुवेदी को हुन् ?

काठमाडौं । अघिल्लो स्थानीय तह निर्वाचनमा मतपत्र च्यातिएको प्रकरणले भरतपुर महानगरपालिका र एमाले उम्मेदवार देवी ज्ञवाली चर्चामा रहे । यस पटक भने भरतपुर महानगरपालिकामा विजयी सुवेदी एमालेका मेयर उम्मेदवार बनाइएका छन् । ज्ञवाली ब्याक भएपछि एमालेको भरतपुर महानगर कमिटीले सर्वसम्मत रूपमा सुवेदीको नाम सिफारिस गरेको बताइन्छ ।

महानगर कमिटीको आज सम्पन्न बैठकमा एमाले पोलिटब्यूरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीको प्रस्ताव र सांसद एवं एमाले नेता कृष्णभक्त पोखरेलको समर्थनमा सुवेदीको नाम सर्वसम्मत सिफारिस भएको एमाले भरतपुर महानगर कमिटी अध्यक्ष शङ्कर थपलिया बताउँछन् ।

राष्ट्रिय राजनीतिमा सुवेदी नयाँ नाम भए पनि एमालेभित्र र चितवनको राजनीतिमा भिजेका पात्र हुन् । स्याङजामा जन्मिएर पाल्पा हुँदै चितवन आइपुगेका सुवेदीको एमालेसँगको आबद्धता चार दशक पुरानो हो ।

२०३६ सालमा कम्युनिस्ट पार्टीको सम्पर्कमा पुगेका सुवेदीसँग अनेरास्ववियूको जिल्ला कमिटी सदस्य हुँदै दुई एमाले चितवनको दुई कार्यकाल नेतृत्व सम्हालेको अनुभव छ । हाल एमालेको वाग्मती प्रदेश सचिव रहेको सुवेदी गत प्रदेशसभा निर्वाचनमा भरतपुर महानगरभित्र पर्ने चितवन क्षेत्र नं २ (ख) बाट वाग्मती प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।

अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री हुँदा उनले मन्त्री हुने सौभाग्य पाएका थिए । त्यसक्रममा उनी केही समय सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

भरतपुर महानगरपालिका–१२ का स्थायी बासिन्दा सुवेदीले भरतपुर अस्पताल विकास समितिको अध्यक्ष हुँदा गरेका कार्यलाई प्रशंसनीय मानिन्छ ।