NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

गोलघरमा गोरे : ब्रान्डेड लाउँछन्, मिठो–मिठो खान्छन् तर पढ्दैनन्

गोलघरमा गोरे

गोरेलाई सुन्धारा जेलभित्रको पनि जेल ‘गोलघर’मा राखिएको छ । विशेष प्रकारका मुद्दामा दोषी ठहरिएकाहरूलाई मात्र राखिने गोलघरको सुरक्षा पनि विशेष नै रहने गरेको स्रोत बताउँछ ।

स्रोतका अनुसार गोरेका लागि छुट्टै कोठा अर्थात् ‘सिङ्गलरूम’को व्यवस्था गरिएको छ । त्यहाँ उनलाई दैनिक आवश्यक पर्ने न्यूनतम सुविधाको पूर्ण ख्याल राखिन्छ । उनलाई जेलका अन्य कैदीसँग भेट्न दिइँदैन । गोलघरभित्रै रहेका कैदीबीच पनि भेटघाट हुँदैन । आठ जनाको क्षमता रहेको गोलघरभित्र हाल चार कैदी रहेको स्रोतले बतायो ।

कपडाका सौखिन

बेलुका छिट्टै सुत्ने गोरे बिहान ढिलासम्मै सुत्छन् । उठेर सामान्य योगा गर्छन् । किताब पढ्न उनको रूचि देखिँदैन । बरू जतिबेला पनि सोचमग्न रहेका देखिन्छन् । उनले टेलिभिजन भने धेरै हेर्ने गरेको स्रोतको जानकारीमा छ ।

कपडा भने उनलाई सुकिलो लगाउनुपर्छ । दैनिकजसो कपडा फेरेर लाउँछन् । बजारमा आएका नयाँ मोडेलका कपडाहरू उनका परिवारले लगिदिने गरेका छन् । उनी एक दुई–दिनमा दाह्री काट्छन् ।

खाना बनाउन सौखिन

गोरे खाना पकाउनमा धेरै सौखिन छन् । चाडबाडमा जेलभित्रै सामानहरू मगाएर विशेष परिकारहरू बनाउँछन् । स्रोतका अनुसार उनलाई तरकारी मीठो चाहिन्छ, मासुका परिकार धेरै खान्छन् ।

३३ किलो सुन तस्करी प्रकरणका मुख्य नाइके चुडामणि उप्रेती उर्फ ‘गोरे’ २०७५ जेठ ११ गते पक्राउ परे । उनी अहिले केन्द्रीय कारागार सुन्धारामा जेल जिवन बिताइरहेका छन् । सुन तस्करीका साथै त्यसैमा संलग्न मोरङ उर्लाबारीका सनम शाक्यको हत्या गरेको मुद्दामा उनी जन्मकैद भुक्तान गरिरहेका हुन् । उनी अपहरण तथा शरीर बन्धक मुद्दाका पनि कसुरदार हुन् ।

आफ्नो सामान किनेर ल्याइदिनेहरूलाइ उनी आदर गर्छन्, शिष्ट व्यवहार प्रदर्शन गर्छन् । उनी स्न्याक्स र ड्राइफुडहरू अन्य कैदीले भन्दा धेरै नै मगाउँछन् ।

कसले भेट्न पाउँछन् गोरेलाई ?

गोरेले दिएको ‘जेल भित्रै असुरक्षित छु’ भन्ने अभिव्यक्ति बाहिरिएपछि उनको भेटघाटमा कडाइ गरिएको छ । अहिले गोरेका परिवार तथा वकिलबाहेक अरूलाई उनीसँग भेट्न दिइँदैन । उनका बुबा, आमा र दिदी जेलमा भेट्न पुगिरहन्छन् । उनका वकिल पनि समय–समयमा भेट्न पुग्छन् ।

स्रोतले जानकारी दिएअनुसार गोरेको श्रीमती निरू भनिने नर्वदा खरेल चाहिँ विदेशमा छिन् । उनी गोरेलाई भेट्न आएको थाहा नपाएको स्रोतले बताएको छ । गोरेका भाई रमेश उप्रेतीलाई युनाइटेड अरब इमिरेट्स (यूएइ)बाट फर्किदै गर्दा केही हप्ता पहिले प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो ।

उनलाई जिल्ला अदालत मोरङले दुई लाख धरौटीमा रिहा गरेको छ । गोरेका भाई पनि हालसम्म उनलाई भेट्न नपुगेको स्रोतले जानकारी दिएको छ ।

गोरेकी गर्लफ्रेन्ड तथा सुन तस्करीको पार्टनर भनेर चर्चामा आएकी रक्षा भण्डारीले पनि गोरेलाई भेट्ने कोशिस गरेको जानकारी छैन । गोरेले बयानका क्रममा भण्डारी आफ्नो साथी मात्र भएको र सुन तस्करीको कुनै काममा सहभागी नभएको बताएका थिए ।

गोरे र सुनको कनेक्सन

बुबाको करकापमा भारतीय सेनामा भर्ती भएका चुडामणि उप्रेती उर्फ ‘गोरे’ सैन्य कमाण्डमा टिक्न सकेनन् । भारतीय सेनाबाट भागेर कुवेत गए र रोजगारी थाले । त्यहीँ उनी सुन तस्करहरूसँग जोडिए ।

उनी जेलमा के गर्दै होलान् ? चासो स्वाभाविक छ । उनको मनस्थिति उस्तै छ कि परिवर्तन भइरहेको छ ? उनको दैनिकीले प्रतिबिम्बित गर्छ । उनको दैनिकी नेपालवाचले विशेष स्रोतमार्फत प्राप्त गरेको छ ।

उनले भाई, श्रीमती, ससुराली, गर्लफ्रेन्डलगायतलाई प्रयोग गरी सुन तस्करीको ठूलो सञ्जाल खडा गरे । त्यतिमात्र होइन, उनले आफूलाइ पर्दा सहयोग गर्न विभिन्न निकायमा रहेका सरकारी कर्मचारी र प्रहरी अधिकृतलाई पनि आफ्नो ‘नेटवर्क’मा जोड्न सफल भए ।

२०७४ साल माघ अन्तिम साता युएइबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तस्करी गरी नेपाल भित्र्याइएको भनिएको साढे ३३ किलो सुन सम्बन्धित व्यक्तिसम्म नपुगी बीचमै गायब भएपछि घटना बाहिरियो ।

साढे ३३ केजीबाट सुरु भएको सुन तस्करीको अनुसन्धान झन्डै तीन हजार आठ सय केजीसम्म पुगेको छ । केही फरार तस्करलाई अझै पक्राउ परेका छैनन् ।

गोरेलगायत ८ जनालाई अदालतले प्रमुख दोषी प्रमाणित गरेको छ । जसमध्ये उनीलगायत ६ जनालाई जन्मकैद सुनाइएको हो । हत्याको कसुरमा जन्मकैदको सजाय सुनाइएका अन्यमा टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारी छन् ।

उक्त मुद्दामा जोडिएका नेपाल प्रहरीका पूर्व उच्च अधिकारीहरूसहित ४८ जनाले भने अदालतबाट सफाइ पाएका छन् ।

( गाेलघरको सम्पुर्ण शृंखला पढ्न यहाँ क्लिक गर्नुहोस् )