NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

बिग्रिन थाल्यो कोरोनाविरुद्धको खोप

काठमाडौं । आवश्यक तामक्रम मिलाइएको भण्डारणबाट निकालेको कोरोनाविरुद्धको खोप निश्चित अवधिभित्र प्रयोग गर्न नसक्दा बिग्रिन थालेको छ । काठमाडौं स्वास्थ्य कार्यालयमै मोडर्नाको तीन हजार डोज बिग्रिएको छ । मोडर्नाको खोप माइनस २० डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्छ । माइनस २० डिग्री सेल्सियसको भण्डारबाट निकालेपछि ३० दिनसम्म दुईदेखि आठ डिग्री सेल्सियसमा भण्डारण गरेर प्रयोग गर्न सकिन्छ । तर, ३१ दिनपछि उक्त खोपको आयु सकिन्छ ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख वसन्त अधिकारीले निश्चित अवधिभित्र खोप लगाउने मान्छे नपाउँदा दुई दिनअघि मात्रै मोडर्नाको तीन हजार डोज खोप खेर गएको बताए ।

‘मोडर्नाको खोप माइनस २० डिग्री सेल्सियसमा सुरक्षित भण्डारण गर्न सकिन्छ । त्यहाँबाट निकालेपछि दुईदेखि आठ डिग्री सेल्सियस तापक्रममा ३० दिनसम्म सुरक्षित रहन्छ । यो अवधिमा प्रयोग गर्न नसक्दा हाम्रोमा दुई दिनअघि मात्रै तीन हजार डोज खेर गयो,’ उनले भने, ‘दुईदेखि आठ डिग्री सेल्सियसमा राखेको मोडर्ना ३१ औँ दिनदेखि प्रयोग गर्नु म्याद गुज्रिएको अन्य औषधि प्रयोग गर्नुबराबर हो ।’

माइनस २० डिग्री तापक्रममा भण्डारण गर्ने व्यवस्था केन्द्रीय खोप भण्डारण स्टोर र पथलैया मेडिकल स्टोरमा मात्रै छ । तर, पथलैयामा मोडर्नाको खोप सेन्टर स्टोर भने छैन ।

स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर एक करोड २३ लाख डोज खोप मौज्दात रहेकोमा मोडर्नाको १६ लाख ५२ हजार पाँच सय १० डोज र फाइजरको १५ लाख तीन हजार ६ सय ९० डोज छ । माइनस ७० डिग्री सेल्सियस तापक्रममा राख्नुपर्ने फाइजर अहिले केन्द्रीय भण्डारणमा मात्रै राखिएको छ । केन्द्रबाट प्रदेश र तहमा पठाइएका मोडर्नाका हजारौँ मात्रा खोप पनि बिग्रिएको आशंका स्वास्थ्य अधिकारीको छ । उनीहरूका अनुसार हाल माइनस २० डिग्री सेल्सियस तापक्रमबाहिर मोडर्नाको ६९ हजार सात सय १० डोज खोप छ, जुन महिना दिनअघि नै पठाइएका हुन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।