NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

मासु खाने विषयमा जेएनयूमा विद्यार्थीबीच झडप, १५ घाइते

नयाँ दिल्ली । भारतकाे जवाहरलाल नेहरु विश्वविद्यालयमा वामपन्थी छात्र संगठन आइसा र अखिल भारतीय विद्यार्थी परिषद् (एबिभिपी) बीच झडप भएको छ । झडपमा १५ विद्यार्थी घाइते भएकाे र उनीहरूलाई अस्पताल भर्ना गरिएकाे टाइम्स अफ इन्डियाले जनाएकाे छ ।

विश्वविद्यालयको कावेरी छात्रावासको मेसमा मांसाहारी खानामा एबिभिपी कार्यकर्ताहरूले अवरोध गरेको वाम विद्यार्थी संगठनहरूले आरोप लगाएका छन् । विद्यार्थी संगठन अल इन्डिया स्टुडेन्ट्स एसोसिएसन (एआईएसए) ले गरेको ट्वीटले एबिभिपी कार्यकर्ताको आक्रमणमा धेरै विद्यार्थी घाइते भएको दाबी गरेको छ ।

समाचारअनुसार घटनास्थलमा प्रहरी पनि पुगेको छ । विद्यार्थी संगठनहरुले प्रहरीमा उजुरी दिएको बताएका छन् । तर, यसबारे प्रहरीले अहिलेसम्म कुनै जानकारी दिएको छैन । यसैबीच, एबिभिपीबाट ट्वीटरमा वाम विद्यार्थी संघको आक्रमणमा उनीहरूको कार्यकर्ता रविराज गम्भीर घाइते भएको जानकारी दिइएको छ ।

जेएनयूमा एबिभिपीसँग सम्बद्ध रोहितले भने, ‘वामपन्थी र कम्युनिष्ट विचारधाराका विद्यार्थीहरूले एबिभिपिका कार्यकर्ता र विद्यार्थीमाथि आक्रमण गरेका छन् ।

अर्कोतर्फ, जेएनयू विद्यार्थी संघका अध्यक्ष आईसी घोषले ट्वीटरमा भिडियो पोस्ट गर्दै एबिभिपिका विद्यार्थीहरूले जेएनयूमा बस्ने विद्यार्थीहरूलाई मांसाहारी खाना खानबाट रोक्न खोजेको दाबी गरेका छन् । उनले छात्रावासको मेस सचिवलाई पनि एबिभिपिले आक्रमण गरेको दाबी गरेका छन् ।

घोषले सोधे, ‘हामीले के खाने र के नखाने भनेर भन्ने एबिभिपीका गुण्डाहरू को हुन् ?’ उनले ट्वीटरमा प्रश्न गरेका छन्, ‘जेएनयू प्रशासनले विद्यार्थीहरूको अधिकारको रक्षा गर्न आवश्यक व्यवस्था किन गरेन ?

मधुरिमा नामकी एक छात्राका अनुसार आइतबार छात्रावासमा मांसाहारी खाना पाउँछन् र के खाने र के नखाने भन्ने निर्णय विद्यार्थीले गर्न सक्छन् । ‘एबिभिपीका कार्यकर्ताहरूले होस्टेलमा मासु आपूर्ति रोकेर मेस सचिवलाई कुटपिट गरे,’ मधुरिमा भन्छिन्, ‘पहिला एबिभिपी र विद्यार्थीबीच दिउँसो वादविवाद भएको थियो, त्यसपछि साँझ आठ बजेतिर उनीहरु फेरि आएर विद्यार्थीलाई नराम्ररी कुटे ।’

अर्कोतर्फ, एबिभिपीसँग सम्बद्ध छात्रा दिव्याले एक विज्ञप्ति जारी गर्दै रामनवमीको पूजा भइरहेको बेला अचानक वामपन्थी विद्यार्थीहरुले आक्रमण गरेको बताएकी छन् । उनले आक्रमणबाट आप्नो हातमा चोट लागेको पनि जनाएकी छन् ।