NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

पदयात्रा जाँदा बिरामी परेका पर्यटकको हेलिकप्टरबाट उद्वार

रसुवा । हिमाली पदयात्राका क्रममा बिरामी परेका एक पर्यटकलाई हेलिकप्टर प्रयोग गरी उद्धार गरिएको छ । राहदानी नं ३३१६२३२२ इजरायली नागरिक ओेरेन जैव इडेनलाई डानेष्टिक एअरको हेलिकप्टरद्वारा रसुवाको चन्दनबारीबाट उद्धार गरी काठमाडौं पुर्याइएको हो ।

हिमाली पदयात्राका क्रममा आइतबार गोसाइँकुण्डमा बिरामी परेका पर्यटकलाई सोमबार बिहान मात्र उद्धार गरिएको चन्दनबारीस्थित होटल रेडपान्डाका ङवाङ फिन्जो तामाङले जानकारी दिए । चन्दनबारीमा उक्त होटलको मात्र हेलिप्याड छ ।

आइतबार उच्च भागमा दिनभर प्रतिकूल मौसमका कारण हेलिकप्टरले गोसाइँकुण्डको अवतरण गर्न नसकेपछि ती पर्यटकलाई स्थानीय होटल व्यवसायी समेतको सहयोगमा साँझ चन्दनबारी ल्याई आज काठमाडौँ पठाइएको बताइएको छ ।

उद्धार गरिएका पर्यटकको अहिले काठमाडौंको कालोपुलस्थित स्वागन अस्पताल उपचार भइरहेको डानेष्टिक एअरका उडान प्रबन्धक दावा शेर्पाले बताए ।

दुईजना साथी मिलेर पदयात्रामा हिँडेका ती इजरायली पर्यटकमा शनिबार १४ हजार ३८० मिटरको उच्च भागमा गोसाइँकुण्ड पुगेपछि टाउको दुख्ने समस्या भएको थियो । उपचारपश्चात् ती पर्यटकको शारीरिक अवस्था सामान्य बन्दै गएको बताइएको छ ।

हिमाली पदयात्राका क्रममा कुनै पर्यटक बिरामी पर्दा वा यात्राको सहजीकरण गर्नु परेमा स्याफ्रुबेँसीस्थित पर्यटन प्रहरी एवं जिल्ला प्रहरी कार्यालयलाई खबर गरी दिन आग्रह गरिएको प्रहरीले जनाएको छ ।