NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

नेपाल यसरी २ बाटोबाट पुग्न सक्छ २०२४ को टि–२० विश्वकपमा !

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सन् २०२४ मा हुने टि–२० क्रिकेट विश्वकप छनोटको आधार तय गरेको छ ।

आइसिसीले सन् २०२४ देखि टि–२० विश्वकपमा ४ टोली थप गरेको छ । आइसिसीले आइतबार यस्तो निर्णय गरेको हो ।

यससँगै टि–ट्वान्टी विश्वकपमा २० राष्ट्रको सहभागिता सुनिश्चित भएको छ । आइसिसीले विश्वकपमा सहभागिता जनाउने राष्ट्रको संख्या पहिलो पटक २० पुर्याएको हो ।

सन् २०२४ का आयोजक वेष्ट इन्डिज र अमेरिका स्वतः आयोजकको रूपमा विश्वकप छनोट भएका छन् ।

यसै वर्ष अष्ट्रेलियामा हुने टि–२० विश्वकपमा शीर्ष ८ स्थानमा रहने टोलीले २०२४ को विश्वकपमा स्वतः स्थान पक्का गर्नेछन् ।

सो विश्वकपमा शीर्ष वरीयतामा रहेका १२ राष्ट्रले समेत स्वतः छनोट हुने मौका पाएका छन् । बाँकी ८ राष्ट्रले भने छनोट प्रक्रियाबाट स्थान बनाउनुपर्ने छ ।

यसरी हेर्दा अहिले वरीयताको १२ औँ स्थानमा रहेको नेपालले २०२४ का विश्वकप खेल्ने सम्भावना प्रबल रहेको छ ।

यदि, १४ नोभेम्बर २०२२ सम्म नेपाल टि–२० वरीयताको ११ औं स्थानसम्म आउनसक्यो भने नेपाल एसिया महादेशबाट शीर्ष वरीयताको टोलीको रूपमा विश्वकपमा छनोट हुनेछ । जसका लागि नेपाल क्रिकेट संघ (क्यान)ले धेरैभन्दा धेरै सिरिज आयोजना गरेर त्यो नेपालले जित्नुपर्ने आवश्यकता देखिन्छ ।

शीर्ष १२ को वरीयतामा रहन नसकेर नेपाल विश्वकपमा छनोट हुन नसकेका नेपालका लागि अर्को बाटो पनि छ । एसिया क्षेत्रिय छनोट प्रतियोगितामा फाइनलमा पुगे नेपालले २०२४ को विश्वकपको लागि स्थान बनाउने छ ।

हङकङ, ओमान, मलेसिया, सिंगापुरजस्ता टोलीसँग नेपालले खेल्नुपर्ने हुन्छ ।