NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

युक्रेनमा यौन हिंसा र बलात्कारका घटना बढ्दै

काठमाडौं । संयुक्त राष्ट्र संघको निकाय युएन वुमनकी कार्यकारी निर्देशक सिमा बाहुसले युक्रेनमा बलात्कार र यौन हिंसाका घटनाहरु बढ्दै गएको बताएकी छन् । उनले  विशेषगरी युवती र समूहमा नभएका किशोरकिशोरीमा मानव बेचबिखनको जोखिम बढ्दो चिन्ताको विषय भएको बताएकी छन् ।

बाहुसले संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई भनिन्, ‘युद्धमा भर्ना भएका लडाकुसँगै ठूलो संख्यामा रहेका विस्थापित र युक्रेनी नागरिकमाथि भएको कु्ररताले खतराको संकेत देखाएको छ ।’

युक्रेनी शरणार्थी बालबालिका र महिलाहरु बेचबिखन एवं यौन दु्र्व्यवहारको सिकार भइरहेका घटना पनि आइरहेका छन् । हालै २० वर्षीया युवतीलाई १ लाख ४५ हजार डलरमा बेचेको एउटा घटना सार्वजनिक भएको छ । युक्रेनी महिला र युवतीहरु युद्धको डरले सुरक्षित स्थान खोज्दै पुगेका ठाउँमा बलात्कृत भइरहेका छन् ।

फेबु्रअरी २४ मा रुसले आक्रमण सुरु गरेपछि देश छोडेका ३६ लाख युक्रेनीमा अधिकांश महिला र बालबालिका छन् ।

आश्रयका लागि पुगेका युक्रेनी किशोरीहरु ती देशका मानिसहरुबाट  दुर्व्यवहारको शिकार भइरहेका छन् । पोल्यान्डमा १९ वर्षीया युक्रेनी शरणार्थीलाई बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका थिए । प्रत्येक ३ जनामध्ये १ शरणार्थी महिलाहरु घरदेखि शिविरसम्म पुग्दा यौन हिंसाको सामना गरेका छन् भन्ने अनुमान गरिएको छ ।

पोल्यान्डमा मानव बेचबिखनको बढ्दो घटना देखेर बेलायती सैनिकहरु भन्छन्, ‘युद्धले यस्तो नराम्रो अवस्था आउँछ भनेर सोचिएकाे पनि थिएन ।’

रुसी आक्रमणको बीचमा युक्रेनको सिमानाबाट लाखौं महिला र बालबालिका भागेर गएकाले यी अति कमजोर शरणार्थीलाई मानव तस्कर र शोषणका अन्य प्रकारबाट जोगाउनु चुनौती बनेको छ । युक्रेनी महिला र बालबालिकको सुरक्षाका लागि अहिले पोल्यान्डमा १० सुरक्षा विशेषज्ञको टोली परिचालन गरिएको छ ।