NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

सरकारी कागजात सच्याइ भ्रष्टाचार गरेको आरोपमा शिक्षकसहित ४ जनाविरूद्ध मुद्दा दायर

काठमाडाैं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सरकारी कागजात सच्याउने कार्य गरी भ्रष्टाचार गरेको आरोपमा चार जना विरूद्ध मुद्दा दायर गरेको छ । अख्तियारले चन्दननाथ मावि, जुम्लामा कार्यरत तत्कालीन शिक्षक कलानन्द माझी, केन्द्राध्यक्ष र परीक्षार्थीसमेत ४ जना उपर आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।

शिक्षक माझीले छोरा परीक्षार्थी शेखर माझीलाई परीक्षा केन्द्रमा उपस्थित नगराई हाजिरीमा उपस्थित देखाएको भन्ने उजुरी निवेदन सम्बन्धमा अख्तियारले अनुसन्धान गरेको थियो । अनुसन्धान गर्दा  माझीले सोही विद्यालयमा विज्ञान संकायतर्फ कक्षा ११ मा अध्ययनरत आफ्नो छोरालाई राष्ट्रिय परीक्षा वोर्ड, सानोठिमी, भक्तपुरबाट श्री कर्णाली माध्यामिक विद्यालय, जुम्लामा संचालित परीक्षामा अंग्रेजी र फिजिक्स विषय पास गराउनको लागि सिम्बोल नम्बर र रजिष्ट्रेशन नम्बरसहितको कन्ट्रोल लिष्ट गैरकानूनी तरिकाले सच्चाई, थपघट गरी सोही सिम्बोल नम्बर र रजिष्ट्रेशन नम्बरमा विद्यार्थीको नामथर पहिले नै विज्ञान विषय लिई कक्षा ११ र १२ को परीक्षा पास गरिसकेको प्रभात शाही उल्लेख गरी पुन: अर्को कन्ट्रोल लिष्ट बनाई भ्रष्टाचार गरेको खुलेको हो ।

उनले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसूर गरेको हुँदा माझीउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिइएको अख्तियारले जनाएको छ।

त्यसैगरी श्री कर्णाली माध्यामिक विद्यालयका केन्द्राध्यक्ष मिनराज शर्माले उक्त काम गैरकानुनी भएको जानकारी हुँदा हुँदै केन्द्राध्यक्षले निर्वाह गर्नुपर्ने दायित्व पूरा नगरी गैरकानूनी रुपमा परीक्षामा सहभागी हुन दिएको कसुर पुष्टि भएकोले उनीविरूद्ध मुद्दा दायर भएको छ ।

प्रतिवादी शेखर माझी आफुले दिनुपर्ने परीक्षामा सहभागी नभई आफ्नो सिम्बोल नम्बरमा प्रभात शाहीको नाम उल्लेख गर्ने आफ्ना बाबु कलानन्द माझीको कसुरमा मतियारको भूमिका निभाएको पाइएकाले उनीविरूद्ध पनि अख्तियारले अदालतमा मुद्दा दायर गरेको हो ।

कागजात सच्याउने एवं सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा पूर्वप्रधानाध्यपकसहित तीन जना उपर मुद्दा दायर

त्यसैगरी सरकारी कागजात सच्याउने एवं सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा पूर्वप्रधानाध्यपकसहित तीन जनाउपर अख्तियारले आजै सर्वाच्च अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले  सुनसरीस्थित श्री प्राथमिक विद्यालयका पूर्व प्रधानाध्यपक सिद्धिनाथ लाल दाससमेत ३ जना उपर मुद्दा दायर गरेको हो ।

सुनसरीकै चपडाही आधारभूत विद्यालयलका प्रधानाध्यापकसमेतले विद्यालयको विभिन्न शीर्षकको रकम हिनामिना गरेको भन्ने व्यहोराको उजुरी निवेदन सम्बन्धमा अख्तियारले अनुसन्धान गरेको थियो । अनुसन्धान गर्दा पूर्व प्रधानाध्यपक दास र महाविर प्राथमिक विद्यालयका तत्कालीन राहत शिक्षक मनोज कुमार चौधरीले तारणी प्रसाद खतिवडासँगको मिलेमतोमा जिल्ला शिक्षा कार्यालय सुनसरी ईनरुवाको लेटरप्याड, छाप तथा दस्तखत किर्ते गरी हेरफेर गरेको खुलेको छ ।

साथै राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, शाखा कार्यालय इनरुवाबाट दस्तखत नमुना कार्ड नै परिवर्तन गरी चपडाही निम्न माध्यमिक विद्यालय, रामनगर भुटाहा,  हरिनगरा गाउँपालिकामा रहेको सोही बैंकको खाता नम्वरमा साविकको खाता सञ्चालकहरु प्रधानाध्यापक र शिक्षिकाको सट्टामा अर्को प्रधानाध्यापक र शिक्षकको नामबाट उक्त खाता सञ्चालन ५ लाख ६० हजार रूपैयाँ रकम निकाली हिनामिना गरेको देखिएको छ । उनीहरूविरूद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुर दाबी गरेको छ ।

प्रतिवादी तारणी प्रसाद खतिवडाले आफ्नो ओहदाको कर्तव्य पालना गर्दा सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको कार्यमा मतियार भइर कसूर गरेको पुष्टि हुन आएकोले उनीहरूलाई हिनामिना भएको रकम ५ लाख ६० हजार बिगो कायम भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको माग गरेको अख्तियारले जनाएको छ ।

सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेकै आरोपमा सात जना उपर मुद्दा आरोप-पत्र दायर 

त्यसैगरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेकै आरोपमा सात जना उपर मुद्दा दायर गरेको अख्तियारले जनाएको छ । अख्तियारले क्षेत्रीय अनुसन्धान केन्द्र, बंगुर अनुसन्धान इकाईका तत्कालीन इकाई प्रमुख रामदेव पण्डित, तत्कालीन क्षेत्रीय अनुसन्धान केन्द्रका निर्देशक कृष्णहरि श्रेष्ठ, लेखा एवं प्राविधिक अधिकृतसमेत ७ जना उपर आरोप-पत्र दायर गरेको हो ।

क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, तरहराअन्तर्गत अनियमितता गरी सार्वजनिक सम्पत्ति हिनामिना गरेको भन्ने उजुरी निवेदन परेको थियो । उक्त उजुरीमा इकाई प्रमुख पण्डित, सहायक कर्मचारीहरू शकुन्तला राई र प्रकाश कुमार यादव तथा बंगुर बेच्नका लागि प्रयोग हुने कुलिङ कार्डमा मा हस्ताक्षर गर्ने अन्य कर्मचारीहरुले भ्रष्टाचार गरेको खुलेको छ । उनीहरूले ७ लाख रूपैयाँ हिनामिना गरी आफूलाई फाइदा र नेपाल सरकारलाई नोक्सानी गरेको देखिन आएकोले भ्रष्टाचर एनअनुसार कारबाही गर्न मुद्दा दायर गरेको जनाइएको छ ।