NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

देउवा र प्रचण्डलाई झस्काउने भरतपुर कांग्रेसको निर्णयपछि अब के होला ?

काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा एमालेविरुद्ध जित्ने उद्घोष गरेका सत्ता गठबन्धनलाई पार्टीभित्रैबाट अप्ठ्यारो दबाब देखिन थालेको छ । एमाले हराउन सत्ता गठबन्धन दलले चुनावी तालमेलको सैद्धान्तिक निर्णय र अपिल गरिरहँदा भूगोलको अवस्था पनि निक्कै फरक देखिन थालेको छ ।

सोमबार ठाउँ र अवस्था हेरी चुनावी तालमेल गरिने भन्दै सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन कांग्रेस, माओवादी, नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले हस्ताक्षरसहित विज्ञप्ति नै जारी गरेर अपिल गरेका थिए ।

तर यसपटकट सबैको आँखा परेको भरतपुरबाट केन्द्रको यो निर्णयलाई झस्काउने गरी निर्णय आएको छ । चितवनस्थित भरतपुर कांग्रेस नगर समितिका २९ जना सभापतिले नै मेयरमा कांग्रेसले टिकट नपाए विद्रोह गर्ने निर्णय गरेका हुन् । बैठक बसेर उनीहरूले कांग्रेसबाहेकका दलबाट मेयरमा उम्मेदवार बनाइए सबै वडा र सदस्यमा उम्मेदवार उठाउने र गठबन्धनलाई बहिष्कार गर्ने चेतावनी दिएका छन् ।

गत स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसले मेयरमा माओवादीकी रेनु दाहालललाई समर्थन गरेर जिताएको थियो । लगातार माओवादी उम्मेदवारलाई भोट नहाल्ने भन्दै कांग्रेसले टिकट नपाए व्रिदोह गर्ने चेतावनी दिएका हुन् । जिल्लाका कांग्रेस नेताले काठमाडाैंमा नेताकाे दैलाे चहार्दै यसपटक कांग्रेसले नै मेयरमा लड्नुपर्ने दबाब दिइरहेका छन् ।

तर पाँच वर्ष राम्रो काम गरेर प्रभाव जमाएको, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि यहीबाट चुनाव लड्ने भएकोले भरतपुरलाई माओवादीले प्रतिष्ठाको ठाउँ मानेको छ । यो महानगरपालिका कुनै हालतमा नछोड्ने माओवादी नीति छ ।

६ महानगरपालिकामा भरतपुर भागबण्डामा पनि माओवादीले पाउनेमा प्रधानमन्त्री एवं कांग्रेस सभापतिले वचन दिइसकेको बुझिएको छ । यस्तोमा भरतपुरले सत्ता गठबन्धनलाई नै अप्ठ्यारोमा पार्ने देखिएको छ । माओवादीलाई मेयर दिने तयारी भइरहँदा सोमबार मेयरका लागि भरतपुरमा कांग्रेसबा २५ जना र उपमेयरमा २४ जनाले पार्टीमा निवेदन दिएका थिए ।

भरतपुर माओवादीलाई !

६ महानगरमा कांग्रेसले काठमाडौं, विराटनगर र ललितपुर लिने, भरतपुर माओवादीलाई, पोखरा नेकपा एकीकृत समाजवादी र वीरगञ्ज जनता समाजवादी पार्टीलाई दिने गरी मोटामोटी सहमति भएको छ । तर तल्लो तहबाट चितवनमा तनावको स्थिति देखिएपछि सत्ता गठबन्धनले तालमेलको स्वरुपबारे अझै निर्णंय लिन सकेका छैनन् । चितवनकाे जस्तै दबाब पाेखरामा पनि देखिन थालेकाे छ ।

भरतपुरमा पाँच वर्षमा धेरै राम्रो काम गरेको भन्दै माओवादीले त्यो बाहेकका महानगरमा इच्छा नदेखाएको बु्झिएको छ । माओवादीलाई मनाउन पोखरा दिने गरी छलफल चले पनि एमालेको बलियो पकड भएको पोखरामा जित्न नसकिने बुझाई माओवादीको रहेको छ । भरतपुर बाहेक मेयर पाउँदा पनि जित्न माओवादीलाई कठिन हुने बताइएको छ । यस्तोमा भरतपुर नै माओवादीको मुख्य रोजाइ भएको हो ।

जबर्जस्त माओवादीलाई नै भरतपुरको मेयर दिइए कांग्रेसले नै हराइदिने चर्चाले यतिखेर सत्तारुढ दललाई तनाव दिएको छ । तालमेलको कचिंगल बढ्दै जाँदा माओवादीको सट्टा कांग्रेसले नै पाए पनि नजित्ने गरी तनावको स्थिति बढ्दै गएको कांग्रेसका एक नेता बताउँछन् ।
‘हामीले माओवादीलाई त लगातार दुईपटक दिन हुँदै हुँदैन भनिरहेका छौं ।

‘यस्तो अवस्थाकाबीच टिकट दिए पनि कांग्रेसले यसपटक माओवादीलाई जिताउँदैनन्’ ती नेता भन्छन्, ‘यस्तै गरी कचिंगल बढ्ने हो भने एमाले बलियो प्रतिस्पर्धी रहेको भरतपुरमा कांग्रेसले उम्मेदवार पाउँदा पनि नजित्ने जोखिम उत्तिकै छ ।’ आफूहरूले उम्मेदवारी नपाएको झोकमा माओवादीहरू नै कांग्रेसको उम्मेदवार हराउन लाग्ने जोखिम रहेको ती नेता बताउँछन् ।

भरतपुरमा माओवादीलाई रोक्न खोज्दा कांग्रेसले पाउँदा पनि फुत्किने देखिएको हो । यस्तोमा कसरी सन्तुलन मिलाउने भन्ने तनावमा देउवा र प्रचण्ड परेका छन् ।

३ महानगरमा गठबन्धनका ५ दल मिल्दा पनि एमालेलाई हराउन कठिन, यस्तो छ हिसाबकिताब

यसरी कचिंगल नबढ्दै पार्टीले समयमै उचित निर्णय नगर्दा भरतपुरमा अब परिस्थिति सम्हाल्न गाह्रो भएको ती नेता बताउँछन् ।

सत्तारुढ दलको यो खटपटले भरतपुरमा एमालेलाई भने सहजता हुने देखिएको छ । किनकी अघिल्लो निर्वाचनमा कांग्रेस र माओवादी मिल्दा पनि साँघुरो मतान्तरले माओवादीकी रेनु विजयी भएकी थिइन् । मतपत्र च्यातेपछि पुनः वडामा भएको पुनः मतदानपछि दाहाल विजयी भएकी थिइन् ।

यही तनावको स्थितिले गर्दा सत्ता गठबन्धनलाई तालमेलको मोडालिटी र उम्मेदवार टुंग्याउन अझै केही दिन लाग्ने देखिएको छ । यही बढ्दाे तनावले गर्दा सत्ता गठबन्धनकाे बैठकले उम्मेदवार चयन गर्ने दिन थपेकाे छ ।

केन्द्रमा उम्मेदवार टुंगिए पनि गठबन्धनको भावना अनुसार निर्वाचनमा नजिते स्थानीय तहको निर्वाचनलगत्तै सत्ता गठबन्धनमा फाटो आउने सम्भावना पनि उत्तिकै छ । कांग्रेसले तालमेलमा इमान्दारिता नदेखाए एमालेसँग मिलेर चुनाव लड्ने चेतावनीसमेत माओवादी अध्यक्ष प्रचण्डले दिइसकेका छन् ।

एमालेलाई स्थानीय तहको मात्रै होइन प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि माओवादी, नेकपा एस र जसपासँग मिलेर मात्रै हराउन सकिनेमा सभापति देउवाले जोड दिंदै आएका छन् । तर कांग्रेसमा डा. शेखर कोइराला पक्ष केन्द्रबाट तालमेल थोपर्ने पक्षमा छैन ।

भरतपुरको मेयरका लागि निवेदन हाल्ने कांग्रेसका २५ नेता को–को हुन् ?