NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

पूर्वराजाको चिन्ता : हामी कोहीसँग टाँसिएर कसैप्रति दूरभाव राख्ने मार्गमा पो छौं कि !

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाली नेताहरूले अबलम्बन गरिहेको छिमेक नीतिका कारण मुलुकको अस्मितामा असर पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

नयाँ वर्ष २०७९ को अवसरमा बिहीबार शुभकामना सन्देश दिँदै उनले नेपालले लिएको छिमेक नीतिका कारण राष्ट्रिय अस्मितामा असर पर्नेतर्फ संकेत गरेका छन् । यसतर्फ नेपालीहरू सधैं चनाखो हुनुपर्ने उनको भनाइ छ ।

‘छिमेकी मित्र राष्ट्रहरूप्रति हामीले अवलम्बन गर्ने नीति तथा व्यवहारले हाम्रो उन्नति प्रगतिलाई मात्र प्रभावित गर्दैन मुलुकको स्थायित्व, शान्ति र राष्ट्रिय अस्मिता समेतमा कुनै न कुनै स्तरको प्रभाव पर्न जाने अवस्थालाई सम्झेर हामी सदैव चनाखो हुनुपर्छ’ उनले शुभकामना सन्देशमा भनेका छन् ।

पूर्वराजा शाहले नेपालको परराष्ट्र नीति एकपक्षीय हुने लागेको तर्फ पनि चिन्ता व्यक्त गरेका छन् ।

‘नेपाल कोहीसँग टाँसिएर कसैप्रति दूरभाव राख्ने मार्गमा लाग्यो कि भन्ने चिन्ता बढेको छ । यो आफैंमा आत्महीनताको विषय हो’, उनले भनेका छन् ।

पूर्वराजा शाहले अर्थतन्त्रमा समस्या उत्पन्न भएकोमा पनि चिन्ता व्यक्त गरेका छन् । उनले अर्थविद् र उद्यमीहरुले गलत मौद्रिक र कमजोर वित्तीय नीतिका कारण महंगी र आर्थिक बोझले नेपालीको गुजारा कठिन बनेकोसमेत दाबी गरेका छन् ।