NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

उपमेयरमा सिफारिस भइन् मनमोहनकी बुहारी

काठमाडौं । नेकपा एमालेले आसन्न स्थानीय तह निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरको नाम सिफारिस गरेको छ । आकांक्षी धेरै भएपछि मेयरमा पाँच र उपमेयरमा चार जनाको नाम नगर कमिटीले सिफारिस गरेको हो ।

उपमेयरमा  एमालेका दिवंगत नेता मनमोहन अधिकारीकी बुहारीसमेत यस पटक सिफारिस भएकी छन् ।  एमाले नगर कमिटीले रत्ना गुरुङ, पेम्बा लामा, निना काफ्लेसहित मनमोहनकी बुहारी शान्ति अधिकारीको नाम पनि सिफारिस गरेको हो ।

नेपालको राजनीतिमा नेताका परिवारले अवसर नै अवसर पाउने गरेका छन् । एमालेका तत्कालीन महासचिव मदन भण्डारीकी श्रीमती विद्यादेवी भण्डारी अहिले देशको राष्ट्रपति नै छिन् । मनमोहन सम्मानित नेता भए पनि उनको परिवारका सदस्यले भने खासै अवसर पाउन सकेका छैनन् ।

राजनीतिबाट टाढै बस्न रुचाउने मनमोहनपुत्र प्रकाश त्रिभुवन विश्वविद्यालयको प्राध्यापनमै रमाइरहेका छन् । बुहारी शान्ति भने एमालेमा लामो समयदेखि क्रियाशील छिन् । तर उनी अवसरबाट वञ्चित रहँदै आएकी छन् । गत स्थानीय तह निर्वाचनमा नै उनले काठमाडौं महानगरपालिकामा रुचि देखाएकी थिइन् । तर चयन हुन सकिनन् । यस पटक भने उनको नाम सर्ट लिस्टिङमा परेको छ ।

अब केन्द्रीय कमिटीले यसबारे निर्णय लिनेछ ।