NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

को–को हुन् ललितपुरको मेयरमा सिफारिस भएका कांग्रेसका ७ नेता ?

काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिएसँगै उम्मेदवार चयनको सरगर्मी बढेको छ । मुख्यगरी महानगरपालिकामा कुन दलबाट को उम्मेदवार बन्दैछन् भन्ने विषय निक्कै प्राथमिकतमा परेको छ । सबै प्रमुख दलले पार्टी केन्द्रबाटै महानगपालिकाको उम्मदेवार चयन गर्दैछन् ।
तर पार्टीको सम्बन्धित कमिटीबाट केन्द्रसामु नाम भने सिफारिस भइरहेको छ ।

यसै क्रममा कांग्रेस ललितपुरले पनि ७ जनाको नाम सिफारिस गरेको छ । अब कांग्रेस केन्द्रले उम्मेदवारकाे नाम तय गर्नेछ ।

जसमा वर्तमान मेयर र उपमेयर दुवैको नाम उल्लेख छ ।

नगर कार्यसमितिले मेयर चिरिबाबु महर्जन, उपमेयर गीता सत्याल, प्रेमकृष्ण महर्जन, सुभानन धाख्वा, भरतलाल न्याच्छ्याें, राजेश महर्जन र अनन्तप्रकाश श्रेष्ठको नाम सिफारिस गरेको हो । उपमेयर भइसकेकाेले गीता सत्यालले मेयरमा दाबेदारी गरेकी हुन् ।

सातमध्ये मेयर चिरिबाबु र प्रेमकृष्ण महर्जन मुख्य दाबेदार रहेको बुझिएको छ ।

मेयर महर्जनले पाटनमा केही सुधारका काम गरे पनि घोषणा गरेका ठूला योजना भने पाँच वर्षमा पूरा गर्न नसकेको भनेर आलोचित छन् ।

भित्री सडक, सडकपेटी, सडक बत्ति, सम्पदा निर्माण जस्ता काम भने महर्जनको पालामा भएको छ । तर फ्लाइओभर, व्यवस्थित पार्क, फोहोरमैला व्यवस्था, खानेपानीको व्यवस्थापनको नारा भने महर्जनको समयमा पूरा हुन सकेनन् ।

काठमाडौंको मेयर आलोचित हुँदा केही सुधारको काम गरेर सद्भाव बटुल्न भने चिरिबाबु सफल भएका थिए । चिरिबाबुलाई पूर्व सभापति मदन अमात्यको साथ छ । अमात्य देउवा निकटकै हुन् । तर चिरिबाबुलाई मेयरको उम्मेदवार पुनः बनाउने पक्षमा जिल्ला सभापति जितेन्द्र श्रेष्ठ नरहेको बताइन्छ ।

यस्तोमा दोस्रो ठूला दाबेदार प्रेमकृष्ण महर्जन चर्चामा छन् । उनी महाधिवेशन प्रतिनिधि हुन् । गत प्रदेशसभा निर्वाचनमा ललितपुर २ ख बाट चुनाव लडेर पराजित भएका थिए । इट्टाभट्टा व्यवसायी महर्जन व्यवहारिक र मिलनसार नेताको रुपमा परिचित छन् । पौडेल पक्षका उनी कार्यकर्तामाझ लोकप्रिय पार्टीमा राम्रै प्रभाव भएका नेता मानिन्छन् । उनलाई जिल्ला सभापति जितेन्द्र श्रेष्ठको साथ छ । प्रभावशाली नेता उदयशमशेर राणाकोसमेत साथ महर्जनलाई रहेको दाबी गरिएको छ । २०४६ सालदेखि नै सक्रिय उनी ५४ सालको स्थानीय तह निर्वाचनमा ललितपुरको उपमेयरमा पराजित भएका थिए ।

यसपटक चिरिबाबुले सन्तोषजनक हुने खालका सुधारका केही काम गरे पनि पार्टी र कार्यकर्तालाई बेवास्ता गरेको आरोप खेपिरहेका छन् । यस्तोमा प्रकाशमान सिंह निकटका जितेन्द्र श्रेष्ठले राम्रो सहयोग गरे प्रेमकृष्णले टिकट हत्याउने सम्भावना पनि उत्तिकै रहेको बताइन्छ ।

अर्का दाबेदार सुभानन धाख्वा ललितपुर महानगर कांग्रेस कार्यसमितिका सभापति हुन् । मदन अमात्य र जितेन्द्र श्रेष्ठ दुवैसँग सम्बन्ध बनाएर उनी नगर सभापति भएका थिए । तर उनी मेयरका लागि अरु नेता जत्तिको दाबेदार नभइसकेको बताइन्छ । यद्यपी महानगरकै सभापति भएपछि उनको नाम सिफारिस भएको हो ।

महानगरका पुराना नेता भरतलाल पनि अर्का दाबेदार हुन् । ओमकार श्रेष्ठ मन्त्री हुँदा भरतलालले स्वकीय सचिव भएर काम गरेका थिए । तर उनी पुराना नेता भएर पनि कार्यकर्तामा प्रभाव र लोकप्रिय नभएको बताइन्छ । उनी महाधिवेशन प्रतिनिधि हुन् ।

अर्का दाबेदार राजेश महर्जन महानगरको पूर्व सभापति हुन् । कानुन व्यवसायीसमेत रहेका महर्जन ललितपुर २ मा पनि धेरै नै परिचित छन् । उनी रामकृष्ण चित्रकार निकटका हुन् ।

अर्का दाबेदार अनन्त श्रेष्ठ तरुण दलको पूर्व जिल्ला सभापति हुन् । उनी जग्गाका कारोवारसमेत हुन् । कांग्रेसका पुराना नेता भए पनि उनी परिचित अनुहार नभएको बताइन्छ ।

एमालेबाट मेयरको उम्मेदवारमा हरिकृष्ण ब्यञ्जनकार सिफारिस भइसकेका छन् । उनी गत स्थानीय तहको निर्वाचनमा कांग्रेसका चिरिबाबुसँग ३२६ मतको साँघुरो अन्तरले पराजित भएका थिए ।