NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

नेपाली खानासम्बन्धी युवा सेफ प्रतियोगिता हुने

काठमाडौं । अन्तर्राष्ट्रियस्तरमा नेपाली खानाको अन्वेषणका लागि युवा सेफ प्रतियोगिता हुने भएको छ । सेफ्स एशोसिएशन अफ नेपालले ग्लोबल नेप्लिज् सेफ्स फेडेरेशन र इन्टरनेशनल नेपाली सेफ्स सोसाइटीसँगको सहकार्यमा आइतबार युवा सेफ्स प्रतियोगिता आयोजना गर्न लागेको हो ।

प्रतियोगितामा होटल व्यवस्थापनको अध्यापन हुने उपत्यकाभित्रका ११ कलेजका विद्यार्थीले भाग लिने फेडेरेशनका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले जानकारी दिए ।

ललितपुरको पाक कला तथा आतिथ्य व्यवस्थापन प्रतिष्ठानको सभा कक्षमा हुने प्रतियोगितामा गेट, शुभश्री, एनसीसीए, कलिनरी आर्ट, रिट्स, गोल्डेन गेट, क्वीस्ट, नेसफिल्ड र हिमालयन ह्वाइट हाउस कलेजका साथै पद्यमकन्या क्याम्पस र सरस्वती क्याम्पसका विद्यार्थीको सहभागिता रहने उनको भनाइ थियो ।

प्रतियोगिताको अन्तर्राष्ट्रिय निरीक्षकमा बिबिसी मास्टर सेफ सन्तोष शाह, सेफ एलेक्स वेब, सेफ बार्ट भान डेरली र सेफ फिली तथा राष्ट्रिय निरीक्षकमा सेफ भण्डारीसहित सूर्यकिरण श्रेष्ठ र श्याम लामा रहने जनाइएको छ ।

युवा सेफलाई प्रोत्साहन गर्दै युवालाई नेपाली खानाप्रतिको सकारात्मक विचार जगाउने उद्देश्यले आयोजना गर्न लागिएको उक्त प्रतियोगितामा होटल व्यवस्थापनमा स्नातक अध्ययन गरेका विद्यार्थीले भाग लिन पाउने भएका छन् ।

प्रतियोगितामा प्रथम हुनेलाई एक लाख, द्वितीयलाई ५० हजार र तृतीयलाई २५ हजार पुरस्कार प्रदान गरिने भएको छ ।