NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

नेपालको विकासमा जापानको सहयोग महत्वपूर्णः परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री डा नारायण खड्काले नेपालको विकासका लागि जापान सरकारले गरेको सहयोग महत्वपूर्ण रहेको बताएका छन् । काठमाडौंमा शनिबार भएको नेपाल जाइका अल्मुनाइ एशोसिएसन (जान) को ४८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले ठूलो सहयोगदातामध्ये एक जापानले नेपाललाई शर्त बिना नै सहयोग गरिरहेको छ भने ।

विपद् तथा महामारीमा समेत जापानले उल्लेखनीय सहयोग गरेको जानकारी दिँदै मन्त्री खड्काले त्यहाँको विकासबाट नेपालले धेरै कुरा सिक्नुपर्नेमा जोड दिए ।

नेपाल-जापानबीच सन् १९५६ मा सम्बन्ध स्थापित भए पनि त्यसको दुई वर्षअघिदेखि नेपाललाई सहयोग गर्दै आइरहेको उनले जानकारी गराए ।

सुरुवाती चरणमा जापानले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिँदै समृद्ध मुलुक बन्न सफल जापानको क्रियाकलाप नेपालका लागि अनुशरण गर्न लायक रहेको मन्त्री खड्काले बताए । उनले अल्मुनाइसँग आबद्ध प्रतिनिधिलाई जापानमा सिकेको ज्ञान, सीप र क्षमताको भरपुर सदुपयोग गर्नसमेत आग्रह गरे ।

एशोसिएशन जापानमा अध्ययन भ्रमण, तालिममा सहभागी भएर फर्किएका नेपालीहरुको संस्था हो । यसले नेपाल जापानको मित्रतालाई सुदृढ र विकासमा योगदान पुर्‍याउँदै आएको छ । सन् १९७३ मा स्थापना भएको एशोसिएशनमा जापानमा कार्यरत एक हजार ३०० नेपाली सदस्य छन् ।

एशोसिएसनले भ्रमणमा जाने नेपालीलाई अनुशिक्षण कार्यक्रम सञ्चालनदेखि ललितपुर सिन्धुपाल्चोकलगायत विभिन्न क्षेत्रमा कृषि, शिक्षा स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।

एशोसिएसनद्वारा प्रकाशित मिलन पत्रिका विमोचन गरिएको सो कार्यक्रममा एशोसिएसनका अध्यक्ष रामचन्द्र भूसाल, उपाध्यक्ष केदार पौडेल, महासचिव शान्तिलक्ष्मी शाक्य, नेपालका लागि जापानी राजदूत किकुता युताकालगायतले आ-आफ्नो धारणा व्यक्त गरेका थिए ।