NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

स्थानीय उत्पादनको बजारीकरणका लागि ‘कोसेली घर’

वालिङ । स्थानीयस्तरमा उत्पादन भएका वस्तुको बजारीकरणमा जोड दिँदै वालिङ नगरपालिकाले ‘कोसेली घर’ निर्माण गरी सञ्चालनमा ल्याएको छ ।

नगरपालिका कार्यालय परिसरभित्र नगरपालिकाका १४ वटै वडामा उत्पादन भएका स्थानीय वस्तुको प्रचारप्रसार तथा बजारीकरणमा सहयोग गर्ने उद्देश्यले कोसेली घर निर्माण गरी सञ्चालनमा ल्याइएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए ।

वालिङ नगरपालिकाभित्र उद्यमशीलताको विकास गर्ने योजनासहित नीति तथा कार्यक्रम बनाइएको उनले बताए ।

वालिङ नगरपालिकाभित्र उद्यमशीलताको विकास गर्ने क्रममा खाद्य तथा तरकारी र मासुजन्य उत्पादनलाई व्यवस्थित गर्नका लागि वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थालाई जिम्मा दिइएको छ ।

सामूहिक वा व्यक्तिगत रूपमा स्थानीय स्रोतसाधनको अधिकतम उपयोग गरी सामग्री उत्पादनमा जोड दिन नगरपालिकाले सहयोग गर्दै आएको उनले बताए ।

विशेष गरी नगरपालिका सामग्री उत्पादन गर्ने उत्पादक र उपभोग गर्ने उपभोक्ताबीचमा समन्वयकारी भूमिकामा रहेको छ । पारदर्शी सिसाबाट निर्मित कोसेली घरमा उत्पादन गर्ने संस्था वा व्यक्तिको नाम, सम्पर्क नम्बर, वस्तुको मूल्य देखिने गरी राखिएको छ ।

उत्पादक र उपभोक्ताबीचमा समन्वयकारी भूमिका खेलेर नगरपालिकाले दुई पक्षलाई जोडिदिने काम गरेको स्वस्तिका वैदिक हस्तकला उद्योगकी सञ्चालक दुर्गा न्यौपाने बताउँछिन् ।

नगरपालिकाभित्रका विभिन्न ठाउँबाट तथा अन्यत्रबाट नगरपालिकाको भ्रमणमा आउनेले नगरपालिका परिसरमा निर्माण गरिएको कोसेली घरमा राखिएका सामग्रीको अवलोकन गर्ने र मन परेका सामग्री खरिद गरेर लैजाने गरेका छन् ।