NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

टिकटक स्टार युवतीलाई तीन वर्ष जेल सजाय

काठमाडौं । एक टिकटक स्टार युवतीले तीन वर्ष जेलको हावा खानुपर्ने भएको छ । इजिप्टको टिकटक स्टार हनिन होसममाथि त्यहाँको अदालतले यस्तो सजाय सुनाएको हो । टिकटक स्टार सुन्दरीमाथि सजाय सुनाइएको कारण हो, मानव तस्करी ।

२० वर्षीया होसममाथि त्यहाँको कायरो क्रिमिनल कोर्टले तीन वर्षको जेल सजाय सुनाएको बिबिसीले जनाएको छ । साथै उनलाई २ लाख इजिप्टयन पाउण्ड जरिवानासमेत तिराइएको छ ।

भिडियो सेयरिङ एप टिकटकको माध्यमबाट युवतीहरूको शोषण गरेको, सामाजिक मूल्य र मान्यता पालना नगरेकोलगायत आरोप लगाउँदै होसमविरुद्ध मुद्दा दायर भएकोमा यस्तो फैसला आएको हो ।

कायरो विश्वविद्यालयकी विद्यार्थी होसमको टिकटकमा ९ लाख फलोअर्स छन् । अभिनय, गायन र नृत्य गरेर प्रभावित पार्न सफल उनले यसबाट हुनसक्ने आर्थिक उपार्जनबारे जानकारी दिने गरेकी थिइन् । अर्को भिडियो सेयरिङ एप लिकीमार्फत पनि उनले यस्तै प्रकृतिका सन्देश प्रवाह गरेकी थिइन् ।  त्यसपछि सन् २०२० को अप्रिलमा पहिलो पटक उनलाई प्रहरीले गिरफ्तार गरेको थियो ।

कायरोको इकोनोमिक कोर्टले होसमसँगै अर्की टिकटक स्टार मवादा अल आदमलाई पारिवारिक मूल्य र मान्यता उल्लंघन गरेको भन्दै दुई वर्ष जेल सजाय र तीन लाख इजिप्टियन पाउण्ड सजाय सुनाएको थियो ।

इजिप्टमा कडा साइबर नियम छ । पछिल्ला केही वर्षमा मात्रै कैयन टिकटक स्टार, बेली डान्सर, पप गायिका सामाजिक सञ्जालमा प्रसारण गरेका भिडियोका कारण निशानामा परेका छन् ।

टिकटकका प्रभावशाली महिलामाथि सजाय सुनाइएपछि एमनेस्टी इन्टरनेशनललगायत मानव अधिकारवादी संघ संस्थाले अभिव्यक्ति स्वतन्त्रता संकुचन गरिएको भन्दै आलोचना गर्दै आएका छन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष