NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

तानाशाहको प्रेमकथा : प्रेमी, श्रीमानलाई मार्थे, महिलालाई उठाएर लैजान्थे

काठमाडौं । तानाशाहको प्रेमकथा पनि अनौठो हुन्छ । उनीहरु प्रेमका लागि जे गर्न पनि पछि पर्दैनन् । युगान्डाका कुख्यात तानाशाह इदि अमिनको अवस्थामा पनि यस्तै थियो । आफूलाई मन पर्ने महिलाहरु पाउनका लागि उनी जुन हदसम्म पनि जान सक्थे । अमिनले आफ्नो जीवनकालमा ६ जना महिलासँग विवाह गरेका थिए ।

उनी सन् १९७१ देखि १९७९ सम्म युगान्डाकाे राष्ट्रपति बनेका थिए ।

उनका प्रायः सबै प्रेमकथामा आफूलाई मन परेका महिलाका प्रेमी वा श्रीमान्लाई उनले झुन्ड्याएर, गोली हानेर मार्थे र ती महिलालाई उठाएर लैजान्थे ।

७० को दशकमा युगान्डामा प्रसिद्ध संगीतकार जेसी गिटा कासिरिबु थिए । उनी क्योलाबाका प्रेमी थिए । क्योलाबा स्कुलपछि गिटाकै म्युजिक समूहमा प्रवेश गरेकी थिइन् । यसपछि उनीहरुबीच प्रेम सुरु भएको थियो । १७ वर्षकी सुन्दर किशोरी क्योलाबालाई एक दिन अमिनले स्टेजमा नृत्य गर्दै गरेको अवस्थामा देखेका थिए । त्यही बेला नै अमिनले क्योलाबालाई मन पराए । यसपछि उनीसँग भेट्न थाले ।

क्योलाबाका बारेमा जानकारी लिन अमिनले गुप्तचरहरु परिचालन गरेका थिए । गुप्तचरबाटै उनका प्रेमी रहेको थाहा पाएपछि क्योलाबाका प्रेमी गिटालाई धम्की दिन थालियो । गिटालाई क्योलाबासँग नभेट्न भनिएको थियो तर उनले अस्वीकार गरे । यसपछि गिटालाई सन् १९७४ को ४ अगस्टमा गिरफ्तार गरियो । गिरफ्तारपछि उनलाई कहिले पनि कसैले देखेन ।

अमिन र क्याेलाबा

गिटाजस्ता प्रतिभाशाली र चर्चित युगान्डा संगीतकार बेपत्ता भएको खबर कतै आएन । स्थानीय सञ्चारमाध्याम पनि यस विषयमा मौन बसे । क्योलाबा इदि अमिनको पाँचौं श्रीमती बनिन् ।

सन् १९७५ को जुलाई महिनामा अमिनले साराह क्योलाबासँग विवाह गरे । यसपछि क्योलाबा देशमा पब्लिक फिगर बनिन् । उनी अमिनसँगै देशका राष्ट्रिय कार्यक्रम र खेलकुद कार्यक्रममा देखिन थालिन् ।

धेरैले क्योलाबाका प्रेमी गिटालाई गिरफ्तार गरी हत्यापछि शव गोप्य रुपमा गाडिएको विश्वास गर्छन् । क्योलाबाको मृत्यु सन् २०१५ को ११ जुनमा क्यान्सरका कारण लन्डन अस्पतालमा मृत्यु भयो ।

इदी अमीनले ६ जना महिलासँग विवाह गरेका थिए । जसमध्ये तीन जनासँग सम्बन्ध विच्छेद भयो । उनले एक श्रीमतीको पनि हत्या गरेका थिए । अमिन लिबियामा निर्वासित जीवन बिताइरहेका समयमा मुअम्मर अल गद्दाफीकी छोरी आयशासँग विवाह गरे तर पछि सम्बन्धविच्छेद भयो ।

अमिनको प्रेमसम्बन्धहरु यति थिए भन्न गाह्रो छ । उनका प्रेमिकाहरु युगान्डाभरि थिए । तीमध्ये प्रायः महिलाहरु होटल, कार्यालय र अस्पतालमा नर्सको रुपमा काम गर्ने महिला हुन्थे ।

सन् १९९३ सम्म, अमिन आफ्ना नौ जना छोराछोरी र एक पत्नी मामा ए चुमारुसँग बस्थे । उनका ३० देखि ४५ सन्तान रहेको अनुमान गरिएको छ । यीमध्ये केही सन्तान युगान्डामा उच्च पदमा छन् । द मनिटरका अनुसार सन् २००३ मा आफ्नो मृत्यु हुनुभन्दा केही महिनाअघि पनि अमिनेले अर्को विवाह गरेका थिए । अमिनको श्रीमतीबाहेक अन्य महिलाहरुसँग पनि सम्बन्ध रहेको मानिन्छ ।

सन् १९७६ को अन्त्यमा अमिनले आफूलाई ‘स्कटल्याण्डको राजा’ घोषणा गरे । उनले स्कटिस किल्ट लगाएर अतिथि र विशिष्ट व्यक्तिहरूलाई स्वागत गर्न थाले ।

यसपछि अमिनले बेलायती महारानी एलिजाबेथ द्वितीयलाई एक पत्र लेख्दै भनेका थिए, ‘तपाईंको साम्राज्यवादी दमनविरुद्ध लडेका क्रान्तिकारी आन्दोलनका नेताहरूलाई भेट्न स्कटल्याण्ड, आयरल्याण्ड र वेल्स यात्राको व्यवस्था गरिदिनुहोस् ।’ उनले बेलायतकी महारानीलाई थप लेखेका थिए, ‘प्रिय लिज, यदि तपाई वास्तविक पुरुष बारे जान्न चाहनुहुन्छ भने, कम्पाला आउनुहोस् ।’

अमिनका धेरै यस्ता प्रेमसम्बन्ध थिए । जसमध्ये औद्योगिक अदालतका प्रमुख माइकल काबाली काग्वाकी प्रेमिका हेलेन ओग्वाङप्रतिको प्रेम पनि एक थियो ।

अमिनले हेलेनप्रति चासो देखाएपछि उनलाई अमिनका अंगरक्षकहरुले कम्पाला इन्टरनेसनल होटलको स्विमिङ पुलबाट उठाएर लगे र उनका प्रेमी माइकललाई गोली हानेर मारे । हेलेनलाई पछि पेरिसमा रहेको युगान्डा दूतावासमा पठाइएको थियो । उनी त्यहाँबाट भाग्न सफल भइन् ।

अमिनको प्रेमसम्बन्धहरु यति थिए भन्न गाह्रो छ । उनका प्रेमिकाहरु युगान्डाभरि थिए । तीमध्ये प्रायः महिलाहरु होटल, कार्यालय र अस्पतालमा नर्सको रुपमा काम गर्ने महिला हुन्थे ।

अमिनको शासन मानवअधिकार हनन, राजनीतिक दमन, जातीय दमन, अवैध हत्या, भेदभाव, भ्रष्टाचारका लागि परिचित थियो । अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू र मानव अधिकार समूहको अनुमानअनुसार अमिनले ५ लाख मानिसको हत्या गरेका थिए ।