NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

धेरै जंकफुड खाने अमेरिकीमा कलेजोसम्बन्धी समस्या

काठमाडौं । अप्रिल १९ गते विश्वभर विश्व कलेजो दिवस मनाइन्छ । कलेजोलाई लिएर अहिले विश्वभर चिन्ता बढेको छ । अमेरिकामा हालै गरिएको एक अध्ययनले त्यहाँ प्रत्येक दिन ४ जनामध्ये १ अमेरिकीमा कलेजोसम्बन्धी समस्या देखिने देखाएको छ ।

अध्ययनअनुसार अमेरिकामा रहेका १६ करोडभन्दा धेरै वयस्क जनसंख्यामध्ये अल्कोहल सेवन नगर्ने ६.४ करोड युवाहरु फ्याटी लिभरका कारण समस्यामा छन् । मदिरा सेवन नगरे पनि जंकफुड धेरै खाने बानीका कारण उनीहरुको कलेजोमा समस्या आएको हो । यसलाई ननअल्कोहल फ्याटी लिभर डिजिज (एनएएफएलडी) नाम दिइएको छ ।

यसको कुनै विशेष लक्षण पनि देखिँदैन । तर केही वर्षपछि पेटको दायाँ भागमा सुनिन र दुख्न थाल्छ । यसैका कारण कलेजो पूर्णरुपमा काम गर्न नसक्ने अवस्थामा पुग्ने खतरा पनि हुने अमेरिकी हेल्थ एसोसिएसनले जनाएको छ ।

अमेरिकाका १० करोडमध्ये ४० प्रतिशत युवामा एनएएफएलडीको समस्या देखिएको छ । रिजन विश्वविद्यालयका मधुमेह विशेषज्ञ डा पाल डुलेले बताएअनुसार यो कलेजोमा लाग्ने रोगमध्ये सबैभन्दा सामान्य मानिन्छ । तर यही समस्या लाखौं मानिसको मृत्युको कारण बनेको छ ।

मधुमेह, मोटोपन र उच्च रक्तचापको समस्या भएका व्यक्तिलाई यसको बढी खतरा हुन्छ । कतिपय व्यक्तिमा यो समस्या आनुवंशिक रुपमा पनि हुन सक्छ । डाक्टर पालका अनुसार खाना अपच हुनु, दोस्रो चरणको मधुमेह र अस्वस्थ खानाका कारण कलेजोमा बोसो जम्ने समस्या बढिरहेको छ । यसले हृदयघातसमेत गराउन सक्छ ।

यसबाट बच्न स्वस्थ खानपान, उचित जीवनशैली, शारीरिक अभ्यासहरु आवश्यक पर्छ ।