NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

चितवनका सभापतिलाई देउवाले भने–भरतपुर माओवादीलाई नै दिनुपर्ने भयो, परिस्थिति सम्हाल्नुस्

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरको विषयमा लफडापछि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले जिल्ला सभापतिसँग छलफल गरेका छन् । चितवन कांग्रेस सभापति राजेश्वर खनालसँग छलफल गर्दै देउवाले अरु तीन महानगरपालिका कांग्रेसले लिंदा भरतपुर फेरि पनि माओवादीलाई छोड्नुपर्ने अवस्था आएको बताएका हुन् ।

‘कांग्रेसले काठमाडौं, विराटनगर र ललितपुर लिंदा भरतपुर माओवादीलाई नै छोड्नुपर्ने भयो । यस्तो बेलामा अब चितवनको परिस्थिति तपाईंले सम्हाल्नुस्’ देउवाले खनालसँग भने, ‘गठबन्धनसँगै अघि बढ्नुपर्ने भएकोले कही हामीले छोड्ने र कहीं उनीहरूले छोड्नुपर्ने भयो यस्तोमा केही नै सम्झौता सबैले गर्नुपर्ने अवस्था आयो ।’

तर जवाफमा सभापति खनालले २०७४ मा पनि भरतपुरको मेयर माओवादीलाई छोडेको भन्दै यसपटक फेरि छोड्दा परिस्थिति सम्हालन गाह्रो हुने बताएका थिए । तल्लो तहका कार्यकर्ता पंक्ति नै माओवादीलाई यसपटक भोट हाल्ने पक्षमा नभएको भन्दै खनालले अन्यत्र सहमति गरेर भरतपुर यसपटक कांग्रेसले नै लिने माहोल बनाउन आग्रह गरेका थिए ।

तर सभापति देउवाले काठमाडौं, ललितपुर र विराटनगरभन्दा भरतपुर नै माओवादीलाई दिंदा उपयुक्त हुने बताएका थिए ।

भरतपुरको मेयरका लागि २५ नेता र उपमेयरका लागि २४ नेताले पार्टीमा निवेदन दिएका थिए । भरतपुर कांग्रेस कार्यसमितिका सबै वडा अध्यक्षहरूको बैठकले भरतपुर फेरि माओवादीलाई दिइए वडा र सदस्य सबैमा स्वतन्त्र उम्मेदवारी दिने लिखित चेतावनी दिएका थिए ।
यही भरतपुर र पोखराको कचिंगलले गर्दा सत्ता गठबन्धनलाई भागबण्डा मिलाउन सकस परिरहेको छ ।

कांग्रेसमा डा. शेखर कोइराला पक्षले पार्टी केन्द्रको दबाबमा तल्लो तहमा चुनावी तालमेल लाद्न नहुनेमा जोड दिंदै आएको छ । स्थानीय आवश्यकताको आधारमा तल्लो तहमै निर्णय गर्न छोड्दिनुपर्ने मत उनीहरूको छ ।

सत्ता गठबन्धन दलबीच काठमाडौं, ललितपुर र विराटनगर कांग्रेसले, भरतपुर माओवादीले, पोखरा नेकपा एस र वीरगञ्ज जसपाले लिएर जानेमा मोटामोटी समझदारी भएको बुझिएको छ । तर महानगरपालिकाको उपमेयर, उपमहानगरपालिकाको भागबण्डा भने अझै मिलिसकेको छैन ।

३ महानगरमा गठबन्धनका ५ दल मिल्दा पनि एमालेलाई हराउन कठिन, यस्तो छ हिसाबकिताब

भरतपुरको मेयरका लागि निवेदन हाल्ने कांग्रेसका २५ नेता को–को हुन् ?