NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते
कुरा परदेशका

अनौठो सकसमा पाकिस्तानी प्रधानमन्त्री, पत्नी दुई, फस्ट लेडी को ?

शाहबाजभन्दा नुसरत धनी, दुर्रानीको आफ्नै परिचय फराकिलो

काठमाडौं । इमरान खानलाई सत्ताच्युत गराएर शाहबाज शरिफ पाकिस्तानको प्रधानमन्त्री बन्न सफल भएका छन् । देशमा सिर्जित नयाँ राजनीतिक परिस्थितिले प्राप्त प्रधानमन्त्रीको जिम्मेवारी उनले वहन गरिसकेका छन् । तर आमनागरिकले अहिलेसम्म एउटा जिज्ञासा मेटाउन पाएका छैनन् कि पाकिस्तानको फस्ट लेडी को हुँदैछ ?

पाकिस्तानमा राष्ट्रपति र प्रधानमन्त्री दुवैका श्रीमतीलाई फस्ट लेडीको मान्यता दिने प्रचलन छ ।

शरिफले प्रधानमन्त्रीको शपथ लिँदै गर्दा उनका छोरा हम्जा शाहबाज र भतिजी मरियम नवाज उपस्थित थिए । तर त्यहाँ उनका कुनै पनि पत्नी देखिएका थिएनन् ।  प्रेस करिडोरमा खासखुस चलिरहेको थियो–शरिफले फस्ट लेडीको उपाधिचाहिँ कसलाई देलान् ?

यसबारे जिज्ञासा उत्पन्न हुनु स्वाभाविक नै छ किनभने, तीन विवाह गरेका शरिफका दुई श्रीमती अहिले पनि साथमा नै छन् ।

एमएनए शाहबाज शरिफले राष्ट्रियसभाको डाइरेक्टरीमा मोडल टाउन लाहोरको ठेगाना उल्लेख गरेकाले त्यहाँ सम्पर्क गरियो । उताबाट जवाफ आयो–हामीलाई प्रथम महिला र प्रोटोकलबारे थाहा छैन । प्रधानमन्त्री निवासमा नै सम्पर्क गर्नुहोस् ।’

यो मामला अहिले प्रधानमन्त्रीनवास पुगिसकेको छ । तर अहिलेसम्म न शरिफले यसबारे निधो दिएका छन् न त कर्मचारीले नै पहलकदमी लिएका छन् ।

इमरान खान सत्ताच्यूतपछि शाहबाज शरिफ पाकिस्तानको प्रधानमन्त्री बनेका छन् । सरकारी निवासमा सरेर उनले साताअघि नै जिम्मेवारी सम्हालिसकेका छन् । तर श्रीमतीका धनी उनी सुरुवातमै एउटा धर्मसंकटमा परेका छन् । उनको त्यो सकस अरू केही नभएर फस्ट लेडी नियुक्तिको हो । 

पूर्ववर्ती प्रधानमन्त्रीको फस्ट लेडीको सचिवालयमा काम गरिसकेका एक अधिकारीलाई उद्धृत गर्दै बिबिसी हिन्दीले प्रधानमन्त्री शरिफ सरकारीनिवासमा बस्न थालिसके पनि उनका दुईमध्ये कुनै पनि श्रीमतीको अहिलेसम्म प्रवेश नभएको लेखेको छ ।

उनले बताएअनुसार, प्रथम महिलाका लागि प्रधानमन्त्रीनिवासमा अलग्गै टोली छ, जसले सुरक्षालगायत सबै प्रबन्ध गर्छ । फस्ट लेडी जहाँ पुग्छिन्, त्यो टोली सुरक्षा प्रदान गर्दै उतै–उतै पुग्छ । टोलीमा महिला र पुरुष सरोबर छन् । तर प्रतीक्षारत टोलीका सदस्यले अहिलेसम्म फस्ट लेडी चिन्न पाएका छैनन् ।

पाकिस्तानी अधिकारीका अनुसार सार्वजनिक र निजी कार्यक्रमहरुमा उपस्थित हुने सबै प्रथम महिलाहरूको अनुपात एक–अर्कामा फरक छ । पूर्वप्रधानमन्त्री इमरान खान पत्नीकै कुरा गरौं । उनी निकै कम सार्वजनिक समारोहमा मात्र उपस्थित हुने गर्थिन् । शरिफ परिवार निकटस्थ एक पत्रकार एवं विश्लेषक सलमान घानीले बीबीसी हिन्दीलाई भनेका छन्, ‘शाहबाज शरिफका तीन पत्नी छन्, तर उहाँका पत्नीहरूमध्ये कोही पनि सार्वजनिक कार्यक्रममा उहाँसँगै गएको देखेको छैन ।’

शहबाज शरिफकी पहिलो पत्नी नुसरत शाहबाज हुन् । उनीतर्फ हमजा शाहबाजसहित तीन सन्तान छन् । नुसरतलाई पाकिस्तानी जनताले कहिल्यै पनि सामाजिक तथा राजनैतिक क्षेत्रमा सक्रिय देखेका छैनन् । न त उनी कुनै सार्वजनिक कार्यक्रममा देखिने गरेकी छन् ।

तर आश्चर्य के छ भने जब चुनावका बेला आयोगले सम्पत्ति सार्वजनिक गर्छ, तब नुसरत एकाएक चर्चामा आउँछिन् । त्यसको कारण हो, उनको नाममा रहेको सम्पत्ति ।

शाहबाजभन्दा धनी छिन् नुसरत

सन् २०१८ मा पाकिस्तानको चर्चित अखबार डनले शाहबाज परिवारको सम्पत्तिबारे चियोचर्चो गरेको थियो । जसबारे पछि डनमा लामो रिपोर्ट प्रकाशित भयो । उक्त रिपोर्ट अचम्मित पार्ने खालको थियो किनभने, त्यसमा शाहबाजभन्दा नुसरतलाई धनी देखाइएको थियो, सरकारी निकायमा पेश गरिएका सम्पत्ति विवरण नत्थी गरेर ।

बिबिसी हिन्दीका अनुसार, चलअचल सम्पत्तिका अलावा नुसरतको स्वामित्वमा स्पिनिङ मिल, पोल्ट्री फार्म, ट्रेडिङ कम्पनी, टेक्सटाइल मिल, डेरी फार्म र प्लास्टिक उद्योगलगायत छन् ।

शाहबाजले श्रीमतीलाई यति धेरै श्रीसम्पत्तिको मालिक बनाए पनि उनीहरूलाई बाहिरी दुनियाँबाट भने टाढै राखिएको छ । यसबारे टिप्पणी गर्दै सलमान घानी भन्छन्, ‘यस्तो लाग्छ कि शरिफ परिवारलाई उनीहरूको महिला सदस्यहरू सार्वजनिक रूपमा बाहिर आएको मन पर्दैन । तर जब–जब शरिफ परिवारको अगाडि कठिन घडी आउँछन् तब महिला सदस्यले नै त्यसलाई काबुमा राखेको पाइन्छ ।’ घानीका अनुसार, नवाज शरिफकी पत्नी कुलसुम नवाज उनको जिलावतनी थिइन् । नवाजको अयोग्यतापछि मरियम नवाज त राजनीतिक मैदानमा नै खडा भइन् । यी दुई महिला यसरी मैदानमा नउत्रिएको भए अहिले खानलाई अपदस्थ गराएर न शाहबाज प्रधानमन्त्री बन्न सफल हुन्थे न त पिएमएल–एलको हस्ती हुन नै सक्थे ।

यस दौरानमा शाहबाजका भने छोरा मात्र सार्वजनिक रूपमा देखापरे । श्रीमती र छोरीहरूलाई घरभित्रै सीमित गरियो ।

को हुन् तेहमिना दुर्रानी ?

उनको दोस्रो श्रीमती आलिया हुन् । आलियातर्फ एक छोरी छिन् । उनको नाम खादिजा हो । तर यो आमाछोरी अलग भइसकेका छन् ।
नवनिर्वाचित प्रधानमन्त्रीकी तेस्रो पत्नी हुन्, तेहमिना दुर्रानी । उनको परिचयचाहिँ अन्य पत्नीभन्दा अलिक फराकिलो छ । उनी सामाजिक कार्यकर्ताका अतिरिक्त लेखिकासमेत हुन् । उनको पुस्तक ‘माई फ्युडल लर्ड’ एक समय निकै चर्चित थियो । यो उनको आत्मकथा हो, जसमा उनले आफ्नो विगतको जीवन र पहिलो विवाहको अनुभवहरू लेखेकी छन् । यो पुस्तक लेख्दा उनले आफ्ना आमाबाबुको असन्तुष्टिसमेत खेप्नु परेको थियो ।

दुर्रानीको लेखनी यात्रा यत्तिमै सीमित छैन । अब्दुल सत्तार एधीको जीवनी ‘अ मिरर टू द ब्लाइन्ड’ दुर्रानीले नै लेखेकी हुन् । उनले लेखेका ‘ब्लास्फ्मी’ र ‘ह्याप्पी थिङ्स इन सरो टाइम्स’ पनि निकै लोकप्रिय भए ।

दुर्रानीले १९ वर्षअघि शाहबाजसँग लगनगाँठो कसेकी थिइन् । तर विवाहपूर्ण निकै सक्रिय उनी त्यसपछि खुम्चिन पुगिन् । घानीका अनुसार, दुर्रानी विवाहपूर्व सार्वजनिक समारोहमा जति सक्रिय थिइन्, त्यसयता छैनन् । कतिसम्म भने शहबाज शरिफको मुख्यमन्त्रीको कार्यकाल होस् वा निर्वासन अवधि; सार्वजनिक कार्यक्रममा उनी कही कतै देखिइनन् ।

सामाजिक सञ्जालमा भने उनी जोडिएकी छन् । उनको ट्विटर खाता छ । त्यसमा उनका केही पोस्ट् देख्न सकिन्छ । तर यी चर्चित लेखिकाको पोस्ट्मा खासै नवीनता र विविधता देखिन्न । खोजी पस्ने हो भने शाहबाजलाई दिएका शुभकामना, उनीसँगका तस्बिर र इधी साहबको मिसन प्रचारबाहेक केही भेटिँदैन ।

उनको बसाइँ लाहोरको १० मारलाको घरमा छ । ट्विटरमा एउटा तस्बिर पोस्ट् गर्दै उनले लेखेकी छन्, ‘स्वतन्त्रता भनेको के हो ? दस मारला घर, राति १२ बजे, उनी (शाहबाज शरिफ) सँग कोठामा मुस्कुराउँदै बसिरहेकी छन् र भित्तामा धेरै तस्विरहरू देखिन्छन् ।’

शरिफ केही दिनअघि प्रधानमन्त्रीमा पदासीन भए । यो उनको परिवारका लागि हर्षको कुरा थियो । तर दुर्रानी न शपथ ग्रहण समारोहमा सहभागी भइन् न त ट्विटरमा शुभकामनाका औपचारिक शब्द नै खर्च गरेकी छन् ।

प्रथम महिला भन्न रुचाउँछिन् दुर्रानी

दुर्रानीले यो बीचमा आफ्नो युट्युब च्यानलमा एन्कर मुबासिर लुकमानसँग गरेको छोटो संवाद अपलोड गरेकी छन् । जसमा उनले आफूले आफैंलाई प्रथम महिला भनेकी छन् ।

दुर्रानीले लेखेकी छन्, ‘आज बिल्किस र म अस्पतालको यो कोठामा धेरै रोयौं । उनी एधी साहबको लागि रोइन् र मचाहिँ उनका लागि । उनी धेरै बिरामी छिन् । उनले मलाई फस्ट लेडी भनेर बोलाउँदा म नर्भस भएँ ।’

भेटमा बिल्किस एधीसँग खिचिएको तस्बिर ट्विटरमा पोस्ट् गर्दै उनले लेखेकी छन्, ‘निःसन्देह कुनै पनि प्रथम महिलाले बिल्किस एधीको महानतासँग बराबरीमा आउन सक्दैन ।’

युट्युबमा पोस्ट् सर्ट संवादमा एन्कर पर्सन मुबासिर लुकमानले उनलाई सोधेका छन्, तपाईं शपथ ग्रहण समारोहमा सहभागी नहुनुको कारण के हो ? जवाफमा उनले त्यति धेरै मानिसको बीचमा जान आवश्यक नभएको टिप्पणी गरेकी छन् । उनले भनेकी छन्, ‘यति धेरै मानिसको बीचमा जान आवश्यक छैन, जहाँ आवश्यकता छ, त्यहाँ म हुनेछु । मैले बधाईसँगै धेरै आशिर्वाद पनि दिएँ ।’

उनले शाहबाजको काँधमा आएको देश सम्हाल्ने जिम्मेवारीको भारीको केही हिस्सा आफ्नो काँधमा पनि आइपरेको बताएकी छन् । उनले शाहबाजको कार्यकालमा केही नयाँ हुने दाबा पनि गरेकी छन् । ‘शाहबाजले पाएको काम उनको काँधमा मात्र होइन, मेरो काँधमा पनि छ । किनकि, अब हामी जवाफदेही छौं । केही काम हुन्छ, चाहे अलि ढिलो होस् या चाँडो,’ उनले भनेकी छन् ।

संवादका दौरानमा दुर्रानीले आफ्ना पति अत्यन्त ‘गरिब नवाज’ भएको पनि बताएकी छन् । साथै देश र जनताका एक क्षण पनि आराम नगरी सक्रिय रहेको उल्लेख गरेकी छन् । ‘दश वर्ष उहाँ मुख्यमन्त्री हुँदा मैले उहाँलाई देखेको पनि थिइनँ । यो कुनै राजतन्त्र होइन, उहाँले यहाँ धेरै ठूलो काम पउनुभएको छ । अल्लाहले उहाँलाई यो काम पूरा गरी गरिब र शोषित जनताको लागि केही गर्ने आशीर्वाद दिनुभएको होस् । उहाँले आफ्नो तर्फबाट गर्नुहुन्छ र म मेरोतर्फबाट गर्नेछु, तर म तेहमीना दुर्रानी नै रहनेछु,’ उनले भनेकी छन् ।

अन्तर्वार्ताकारले दरबार छाडेर किन दस मरलामा बसिरहनु भएको छ भनेर पनि प्रश्न तेर्साएका छन् । जवाफमा उनले भनेकी छन्, ‘दस मरलाको घरमा एक मध्यम वर्गीय बस्छ, म पनि मध्यमवर्गीय हुँ र अहिले तपाईंको प्रधानमन्त्री पनि मध्यम वर्गीय नै हुन् । म तीन÷तीन वर्ष एधी साहबको घरमा बस्न आउँछु । मेरो हैसियत र सुरुवात यहीबाट हो ।’

उनले अगाडि थपिन्, ‘म दस मरलाको घरमा बस्छु र यसलाई सम्मानित बनाउन चाहन्छु कि तपाईंको पहिलो महिला मध्यम वर्गको घरमा बस्छिन् । म एक उदाहरणीय बन्न चाहन्छु ।’

बिहेपछि पनि गरिनन् थर परिवर्तन

नेपालमा जस्तै पाकिस्तानमा पनि विवाहपछि महिलाले पतीको थर लेख्ने चलन छ । तर झण्डै दुई दशकअघि शारिफको अँगालोमा बेरिएकी दुर्रानीले थर परिवर्तन गरिनन् ।

केही वर्षअघि दुर्रानीले सुहेल वडचलाई एउटा अन्तर्वार्ता दिएकी थिइन् । अन्तर्वार्ता दौरान प्रस्तोताले यही प्रश्न बिछ्याएका थिए । जवाफमा उनले कामले चिनिएको नाम भएकाले परिवर्तन नगरेको बताएकी थिइन् । उनले आफ्नो पहिचान कडा संघर्षबाट प्राप्त गरेको पनि त्यसक्रममा उल्लेख गरेकी थिइन् ।

सरकारी हैसियतमा काम गर्ने कर्मचारी धेरै भएकाले आफूले सामान्य नागरिकसरह रहेर परोपकारी काम गरिरहेको उनले बताएकी छन् ।
इधी साहब जीवित छँदासम्म दुर्रानीले उनको सेवा गरिन् । सन् २०१७ मा इधी साहबको निधनपश्चात भने उनले तेहमिना दुर्रानी फाउन्डेशन स्थापना गरेर सामाजिक कार्य गर्दै आएकी छन् ।

राजधानीबाट टाढा कराँचीमा बिल्किस एधीसँग दुर्रानीको बसोबास थियो । जसको गत शुक्रबार मात्रै निधन भएको छ ।

दुर्रानीले अब प्रथम महिलाको प्रोटोकल पाउलिन् कि नपाउलिन् ? यसको जवाफ पाउन अबका केही दिन प्रतीक्षा गर्नुपर्ने हुन्छ ।

(बिबिसी हिन्दीबाट अनुदित)