NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

किसानलाई अनुदानमा चल्ला, गाईभैँसीको बीमा

बागलुङ । वडाका किसानलाई अनुदानमा चल्ला वितरण गरे सँगै यहाँका किसानले पशुपक्षीपालनमा लाभ उठाएका छन् । बागलुङ नगरपालिका–३ ले वडाभित्रका ३३४ किसानलाई ५० प्रतिशत अनुदानमा कुखुराका चल्ला बाँडेको हो ।

वडास्तरीय कृषि समितिका अध्यक्ष बैकुण्ठ सापकोटाले स्थानीय जातका तीन हजार चल्ला वितरण गरिएको बताए । एक सय पर्ने चल्लालाई किसानले रु ५० तिरेका थिए भने समितिमार्फत वडाले रु ५० अनुदान दिएको थियो । ‘एक जनाले आठदेखि १२ वटासम्म चल्ला पाउनुभएको छ, कुखुरापालनमा किसानलाई व्यावसायउन्मुख बनाउन अनुदान उपलब्ध गराइएको हो, अध्यक्ष सापकोटाले भने । अनुदानमा वडाको रु एक लाख ५० हजार खर्च भएको छ ।

समितिले गाउँटोलसम्मै पुगेर किसानलाई अनुदानमा चल्ला बाँडेको थियो । वडामा ठूलो लगानीमा स्थानीय जातका कुखुराको व्यावसाय गरिरहेका किसान पनि छन् । अध्यक्ष सापकोटा आफैँ पनि व्यावसायिक कुखुरापालक हुन् । समितिले किसानलाई अनुदानमा चल्ला वितरणसँगै वडाका १३२ गाईभैँसीको बीमाका लागि किसानलाई सघाएको छ ।

‘वडाका अधिकांश किसानले पशु बीमा गर्नुभएको छ, रु एक करोड ७२ लाख बराबरको बीमा गरिएको छ,’ उनले भने ।

एउटा भैँसीको अधिकतम् रु एक लाख १५ हजारसम्म मोल गरी बीमा गरिएको छ । गाईभैँसीको निर्धारित मूल्यको ८० प्रतिशत बीमा सरकारले र बाँकी २० प्रतिशतमा आधाआधा गरी समिति र किसानले तिरेका छन् । वडाको बजेटमध्ये पुश बीमामा रु ६८ हजार खर्च भएको समितिले जनाएको छ । त्यति नै रकम किसानले पनि हालेका छन् । कूल बीमा रकममा किसानले वर्षेनी आफ्नो दायित्ववापतको पैसा तिर्नेछन् । वडाले आउँदो वर्षमा पनि बीमा कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

एउटै भैँसीको मृत्यु भए किसानलाई झण्डै रु एक लाख क्षति हुने हुँदा बीमाले त्यसको जोखिम घटाउने समितिको भनाइ छ । व्यावसायिकरूपमा पशुपक्षीपालनका लागि वित्तीय संस्थाबाट ऋण लिँदा पनि बैंकहरुले बीमा खोज्ने गरेको किसान बताउँछन् । सरकारले कृषि तथा पशुबीमा कार्यक्रम ल्याएपछि व्यावसायिक ‘फार्म’हरूलाई बढी टेवा पुगेको छ । कुनै कारणले व्यवसायमा क्षति पुगेमा बीमाबाट सोको क्षतीपूर्ति मिल्छ ।