NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

सिटिजन्स बैंकको कस्तो छ वित्तिय अवस्था ?

काठमाडौं । सिटिजन्स बैंकले चालु आर्थिक वर्षको ९ महिनामा १ अर्ब ५८ करोड ९६ लाख नाफा गरेको छ । बैंकले प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार अघिल्लो वर्षको भन्दा २.८७ प्रतिशतले नाफा बढेको हो ।

बैंकले अघिल्लो वर्ष चैत मसान्तमा १ अर्ब ५४ करोड नाफा गरेको थियो । बैंकले चैत मसान्तसम्ममा १ खर्ब ४६ अर्ब ६१ निक्षेप संकलन गरेको छ भने १ खर्ब ३६ अर्ब कर्जा दिएको छ । अघिल्लो वर्ष १ खर्ब २८ अर्ब निक्षेप संकलन गरेर १ अर्ब १३ अर्ब कर्जा दिएको छ । बैंकले एक वर्षमा १८ अर्ब निक्षेप बढाएको छ भने २३ अर्बले कर्जा बढाएको छ ।

बैंकले ब्याज आम्दानी मार्फत २ खर्ब ६८ करोड कमाएको छ । अघिल्लो वर्ष २ अर्ब ५४ करोड कमाएको थियो । १ अर्ब रुपैयाँले ब्याज आम्दानी बढेपनि सञ्चालन खर्च बढेको तथा ब्याज आम्दानी बाहेक अन्य शिर्षकमा आम्दानी नबढ्दा बैंकको नाफा २.८७ प्रतिशतले मात्र बढेको देखिएको हो ।
बैंकको पुँजीकोष अनुपात १३.६२ प्रतिशत रहेको छ । खराब कर्जा अनुपात १.७२ प्रतिशत छ ।

बैंकको लागत अघिल्लो वर्षको भन्दा २ प्रतिशत बिन्दुले बढेको छ । अघिल्लो वर्ष ५.७१ प्रतिशत रहेको लागत अहिले ७.८२ प्रतिशत रहेको छ । जसले गर्दा बैंकको कर्जाको न्यूनतम बेसरेट २ प्रतिशत बिन्दुले भन्दा बढीले बढेको छ ।

अहिल्लो वर्ष ७.४४ प्रतिशत रहेको बेसरेट यो वर्ष ९.८१ प्रतिशत रहेको छ । बेसरेट बढेपनि बैंकले अघिल्लो वर्षको भन्दा कम स्प्रेडमा काम गरेको छ । अघिल्लो वर्ष ३.८६ प्रतिशत रहेको स्प्रेडदर यो वर्ष ३.७१ प्रतिशत रहेको छ ।

चुक्ता पुँजी बढे अनुसार नाफा नबढेपछि सिटिजन्सको प्रति सेयर आम्दानी घटेको छ । अघिल्लो वर्ष २०.७२ रुपैयाँ रहेको इपिएस १४.९३ रुपैयाँ रहेको छ । बैंकको कर्जा निक्षेप अनुपात ९० प्रतिशतभन्दा बढी छ । चैत मसान्तसम्म बैंकको कर्जा निक्षेप अनुपात ९०.६९ प्रतिशत रहेको छ ।
त्यस्तै बैंकको देशभर १७४ शाखामा १ हजार ७६३ कर्मचारी छन् । बैंकको मोबाइल तथा इन्टरन्ट बैंकिङ प्रयोगकर्ता ६ लाख १३ हजार पुगेको छ ।