NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

ट्रम्पले रोक लगाएको वातावरण नीति बाइडेनले पुनः लागू गरे

वाशिंटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले मंगलबार राष्ट्रिय वातावरण नीति ऐन (एनइपिए) का केही भागहरु पुनर्स्थापित गरेका छन् ।

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले यस कानुनका ती भागहरू प्रतिबन्ध लगाएका थिए । ती कानुनका कारण खानी, सडक विस्तारजस्ता विकास योजना प्रभावित भएको ट्रम्पको भनाइ थियो ।

यो कानूनको पुनर्स्थापना पछि संघीय निकायहरूले अब राजमार्ग, पाइपलाइन र खानीजस्ता योजनाहरू अनुमोदन गर्नु अघि स्थानीय समुदायलाई सूचित गर्नु पर्नेछ । ह्वाइट हाउसका अनुसार अब संघीय एजेन्सीहरूले पनि कुनै पनि योजना स्वीकृत गर्नुअघि यसले कति हरितगृह ग्यास उत्सर्जन गर्छ भन्ने जानकारी संकलन गर्नुपर्नेछ ।

यसका साथै जलवायु परिवर्तनका कारण त्यहाँ रहेका राजमार्ग, पुल र पूर्वाधारमा कस्तो असर पर्छ भन्ने कुरा पनि उल्लेख गर्नुपर्छ । यसका साथै वातावरण गुणस्तर परिषद्ले प्रभावित समुदायलाई स्वीकृति प्रक्रियामा योजना स्वीकृत गर्ने निकायले प्रमुख भूमिका दिने कुरा पनि हेर्नेछ । तर, रिपब्लिकन पार्टीका केही नेताहरूले यसको विरोध पनि गरिरहेका छन् ।

अतिरिक्त समीक्षाले विकास योजना कार्यान्वयनमा अनावश्यक ढिलाइ हुने उनीहरुको भनाइ छ । राष्ट्रिय वातावरण नीति ऐन अमेरिकामा सन् १९७० मा राष्ट्रपति रिचर्ड निक्सनको सरकारले धेरै वातावरणीय प्रकोपपछि अनुमोदन गरेको थियो ।

यस ऐनको मुख्य उद्देश्य पूर्वाधार विकास गर्दा वातावरणसँग सद्भाव कायम राख्नु हो ।