NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

तुलसीपुर उपमहानगर : भोटका लागि देखाएका महत्वाकांक्षी सपना कागजमै सीमित, नगर ऋणमा डुब्दै

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरमा ०७४ सालको स्थानीय चुनाव हुँदै गर्दा एमालेका तर्फबाट उम्मेदवार बनेका घनश्याम पाण्डेले अनेक बाचा गरेका थिए ।

स्मार्ट सिटी, ताइवानको जस्तो आधुनिक र सुविधासम्पन्न बसपार्क बनाउने, मोनोरेल सञ्चालन, रिङरोड, छिल्लीकोटमा केबलकारजस्ता महत्वाकांक्षी योजना थिए घनश्याम पाण्डेका । यिनै मीठा प्रतिबद्धतामा विश्वास गरेर पाण्डेलाई तुलसीपुरका मतदाताले भोट दिए । अनि उनी मेयर बने, तर पाँच वर्षमा उनले गरेका अधिकांश प्रतिबद्धता पूरा हुन सकेनन् । न त उनले उपमहानगरलाई आर्थिक रूपमा सबल नै बनाउन सके ।

ऋणमा उपमहानगर

आवश्यक बजेटको स्रोत नै पहिचान नगरी धमाधम महत्वाकांक्षी योजना अघि बढाउँदा उपमहानगरपालिका ५७ करोड रुपैयाँ ऋणमा डुबेको छ । भुक्तानी लिन निर्माण व्यवसायी र उपभोक्ता समितिले ताकेता गरिरहेका छन् । तर, कोषमा पैसा नभएपछि सम्पन्न भइसकेका योजनाको भुक्तानी दिनसमेत नसकेको उपमहानगर प्रशासनले बताएको छ । लक्ष्यअनुसार कर नउठेका कारण चालू आर्थिक वर्षको अन्त्यसम्ममा भुक्तानी दिनुपर्ने रकम अर्ब पुग्ने अनुमान गरिएको छ । तर, उपमहानगरमा त्यसका लागि कतै पनि स्रोत छैन ।

मोनोरेल र स्मार्ट सिटी घोषणापत्रमै सीमित

मेयर पाण्डे चुनाव जितेकै वर्षदेखि नै अवलोकनका लागि पटक–पटक विदेश उडे । चीन, थाइल्यान्ड, ताइवानलगायत देशको अवलोकन भ्रमण गरे । फर्केपछि तुलसीपुर बसपार्कलाई ताइपेईको जस्तो बनाउने घोषणा पनि गरे । बसपार्कलाई आधुनिक र सुविधासम्पन्न बनाएर आफ्नो कार्यकालको एउटा महत्वपूर्ण उपलब्धिका रूपमा देखाउने उनको योजना थियो । तर, कार्यकाल सकिनै लाग्दा पनि उनले काम अघि बढाउन सकेनन् । ३४ करोड लागतमा आधुनिक बसपार्क निर्माण कार्य गर्ने भनी गुरुयोजना तयार भए पनि कार्यान्वयन भएन । बसपार्कमा अहिले बिजुली र पानी पनि छैन । बक्यौता नतिर्दा विद्युत् र पानीको लाइनसमेत काटिएको छ ।

मोनोरेलको सपना देखाए पनि पाँच वर्षमा सम्भाव्यता अध्ययनसमेत हुन सकेन । स्मार्ट सिटी बनाएर एक वर्षमा परिवर्तन देखाउँछु भनेका पाण्डेले अहिले आएर त्यसको गुरुयोजना तयार पारेका छन् । अनि भन्न थालेका छन्, ‘स्मार्ट सिटी हाम्रो लक्ष्य हो, एउटै कार्यकालमा सम्पन्न हुने होइन, हामी लक्ष्यअनुसारको बाटोमा अघि बढिरहेका छौँ ।’

सडकको बिजोग

तुलसीपुरमा रिङरोड बनाउने विषय धेरै पहिलेदेखि नै उठ्दै आएको हो । आफ्नै कार्यकालमा रिङरोड पूरा गर्छु भनेका मेयर पाण्डेको कार्यकालमा तीन किलोमिटर मात्रै रिङरोड कालोपत्रे भएको छ । पाण्डेले चुनावी घोषणापत्रमा भौतिक पूर्वाधार विकासतर्फ सडक विस्तार र कालोपत्रेलाई मुख्य प्राथमिकतामा राखेका थिए । तर, कार्यकाल सकिनै लाग्दा सडककै विषयलाई लिएर सबैभन्दा धेरै आलोचना खेप्नुपरेको छ ।

तुलसीपुर–घोराही सडक अलपत्र छ । मेयर पाण्डेका छोरा अनुप पाण्डे निर्माण व्यवसायी हुन् । संघीय सरकारले विस्तार गर्न लागेको तुलसीपुर–घोराही चार लेन सडकको उनी पेटी ठेकेदार हुन् । अनुपले ठेक्का लिएको काम तीन वर्षमा सात प्रतिशत मात्र भएको बताइएको छ । जसले गर्दा त्यसको दोष स्थानीयले मेयर पाण्डे र उनका छोरालाई दिँदै आएका छन् । अहिले काम गराउनेलाई ज्याला नदिएको आरोपमा मेयर पाण्डेका छोरा अनुप पक्राउ परेका छन् । मुख्य बजार क्षेत्रका खल्टाखुल्टीसमेत नपुरिएपछि मेयरको आलोचना बढेको छ । बजारभित्रका अन्य सडक र चोकको हालत पनि बिजोग छ ।

पाण्डेले चुनावका बेला स्पोर्टस् सिटीको सपना पनि बाँडेका थिए । त्यसका लागि ‘एक बस्ती, एक खेल मैदान’को नारा दिइएको थियो । तर, त्यो पनि घोषणापत्रमै सीमित भएको छ । नयाँ संरचना बनाउनु त परको कुरा भएका मैदानसमेत उपमहानगरपालिकाले संरक्षण गर्न नसकेर अलपत्र परेका छन् ।

राम्रा काम

तुलसीपुर उपमहानगरपालिकाले शिक्षा र स्वास्थ्यमा भने केही राम्रा काम गरेको छ । शिक्षातर्फ उपमहानगरले मेट्रो कलेज सञ्चालन गरी विभिन्न विषयमा विद्यार्थीलाई पढाउन सुरु गरेको छ । जसले विद्यार्थीलाई थोरै लगानीमा र १९ वडाले निःशुल्क रूपमा कोटामा विद्यार्थीलाई पढाउँदै आएका छन् ।

मेट्रो कलेजमा सामुदायिक विद्यालयबाट एसइई गरेका छात्रालाई पूर्ण छात्रवृत्तिमा प्राविधिक विषय अध्यापन गराइन्छ । उपमहानगरभित्रका नौवटा सामुदायिक विद्यालयमा हजारभन्दा बढी विद्यार्थीलाई प्राविधिक शिक्षा दिने व्यवस्थासमेत मिलाइएको छ ।

उपमहानगरले स्थापना गरेको मेट्रो अस्पतालले कोभिड महामारीका बेला उल्लेखनीय काम गरेको थियो । दोस्रो लहरको समयमा ५५ बेड एचडियुसहितको उपचार सेवा दिँदै मेट्रो अस्पतालले नागरिकको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेलेको थियो । कोभिडपछि अहिले २५ बेडको जनरल अस्पतालका रूपमा सञ्चालित छ ।

०७४ सालदेखि ‘उज्यालो तुलसीपुर’ अभियानअन्तर्गत राप्ती आँखा अस्पतालको सहकार्यमा उपमहानगरपालिकाले मोतियाबिन्दु भएकाको निःशुल्क शल्यक्रिया गराउँदै आएको छ । मेयर पाण्डे यो अभियान सञ्चालन गर्ने देशकै पहिलो उपमहानगर भएको भन्दै अहिले अरू स्थानीय तहले सिको गरिरहेको बताउँछन् ।
१९ वटा वडा रहेको तुलसीपुरमा पाँच वर्षमा पाँचवटा खेलमैदान निर्माण भएका छन् भने एउटा निर्माणाधीन छ ।

नगरको बजेट र प्राथमिकता

तुलसीपुर उपमहानगरको वार्षिक बजेट तीन अर्बभन्दा बढी छ । तर, त्यसको स्रोत भने कमजोर देखिन्छ । उपमहानगरको आन्तरिक स्रोत ५० करोड पनि छैन । अन्य सबै प्रदेश र संघीय सरकारको अनुदानमा निर्भर छ । बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, गरिबी निवारणलाई प्राथमिकता दिने गरिएको उपमहानगरको दाबी छ ।

बढ्दै बेरुजु

एमालेका उम्मेदवारले जितेको दाङका दुई उपमहानगरपालिकाको बेरुजु ६४ करोड ६५ लाख छ । घोराही र तुलसीपुर उपमहानगरपालिकामा यति रकम बेरुजु रहेको महालेखापरीक्षक कार्यालयको वार्षिक प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा घोराहीमा भन्दा तुलसीपुरमा धेरै ३३ करोड ६८ लाख बेरुजु रहेको छ । यस वर्षको बेरुजु मात्रै १३ करोड ७० लाख रुपैयाँ छ ।

नागरिक र प्रतिपक्षीको प्रतिक्रिया

तुलसीपुरका नागरिक अहिलेको नेतृत्वको काम गराइबाट सन्तुष्ट हुन सकेका छैनन् । चुनावमा गर्ने बाचा केवल जित्नका लागि मात्र हुने गरेको उनीहरूको बुझाइ छ । तुलसीपुरका स्थानीय नवीन श्रेष्ठले चुनावमा गरेको प्रतिबद्धताअनुसार काम हुने हो भने उपमहानगरको विकास गर्न धेरै समय नलाग्ने बताए । तर, त्यसअनुसार काम हुन नसकेको उनको भनाइ छ ।

गत निर्वाचनमा मेयरका प्रतिस्पर्धी कांग्रेस नेता गेहेन्द्र गिरी मेयर पाण्डेले प्रचारात्मक काम मात्र गरेको दाबी गर्छन् । गर्न नसक्ने कामको बढी प्रचार गरेको उनको भनाइ छ । गिरीले मेयर पाण्डेले नगरका बासिन्दालाई करको भारी थप्ने काम मात्रै गरेको आरोपसमेत लगाएका छन् । ‘करको दर बढेको–बढ्यै छ,’ गिरीले भने, ‘तर कर तिरेका जनताले पाउनुपर्ने विकास पाएनन्, यसरी ऋणको भारी थोपर्नु राम्रो होइन ।’