NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

बुद्धशान्तिमा हात्तीसँगै चितुवा आतङ्क

झापा । बुद्धशान्ति गाउँपालिका–८ मा दैनिकजसो चितुवाले पशु चौपाया मार्न थालेपछि स्थानीयवासी त्रसित हुन थालेका छन् ।

दिनभर आदर्श सामुदायिक वनभित्र बस्ने र साँझ परेपछि गाउँ पसेर स्थानीयवासीको सँगुर, बाख्रा, गाईलगायत मार्न थालेपछि स्थानीय त्रसित हुन थालेका हुन् । आदर्श सामुदायिक वन उपभोक्ता समितिका सदस्य सीताराम बास्तोलाका अनुसार दुई दिनदेखि चितुवाले गाउँ पसेर आतङ्क मच्चाउन थालेको छ । उनले बुधबार राति भोजराज बास्तोलाको बाख्रा मारेको, दीपक बास्तोलाको बाख्रा र देवीप्रसाद अधिकारीको गाईको बाछो घाइते बनाएको बताए ।

चितुवाले अञ्जु प्रधानको दुई सुँगुर र पदमबहादुर एक्तेनको एउटा सुँगुर मारेको छ । “एकातिर हात्तीको पीर छ, अर्कोतिर चितुवाको पनि थपियो,” उनले भने, “ज्यान जोगाउनै गाह्रो भयो ।”

चितुवाले गाउँमा दुःख दिन थालेपछि डिजिभन वन कार्यालय र प्रहरी प्रशासनलाई गुहार्दासमेत कोही नआएको उनको दुःखेसो छ ।

डिभिजन वन कार्यालयका वन अधिकृत ओम भट्टराईले चितुवा नियन्त्रणमा लिन खोर बनाउँदै गरेको बताए । उनले स्थानीयले जानकारी गराएलगत्तै खोरको व्यवस्था गर्न थालेको बताए । “तत्काल खोरको व्यवस्था गरेर नियन्त्रणमा लिन्छौँ,” उनले भने । हाल मेचीनगर र बुद्धशान्ति गाउँपालिकाका केही सामुदायिक वनमा कोशी टप्पु वन्यजन्तु आरक्ष केन्द्रले स्वचालित क्यामेरा जडान गरेर हात्ती, चितुवा, बाघलगायतका जङ्गली जनावरको निरीक्षण गरिरहेको छ ।

चितुवासँगै हात्ती आतङ्क

लामो समयदेखि सो क्षेत्रमा जङ्गली हात्तीले समेत दुःख दिइरहेको छ । प्रायः बालीनाली पाकेको मौका छोपर गाउँ पस्ने हात्तीले गए राति मात्र स्थानीय कुलप्रसाद पौडेलको पाक्न लागेको मकै खाइदिएको छ । उनको पाँच कट्ठामा लगाइएको मकै खाइदिएको छ भने सावित्रा दङ्गालको मकै र बर्खे धान कुल्चिएर क्षति पु¥याएको आदर्श सामुदायिक वन उपभोक्ता समितिका सदस्य सीताराम बास्तोलले जानकारी दिए ।