NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

तुलसीपुर मेयरमा कांग्रेसबाट गिरीको सम्भावना, एमालेबाट को बन्ला ?

सत्तासाझेदार दलबीच महानगर र उपमहानगरमा गठबन्धन निश्चित भएसँगै स्थानीय तहमा चुनावी सरगर्मी बढेको छ । कांग्रेसले मेयर पाएको दाङको तुलसीपुर उपमहानगरपालिकामा पनि दलीय जोडघटाउ र उम्मेदवारका आकांक्षी अघि आउन थालेका छन् ।

एमाले महासचिव शंकर पोख्रेलको गृहजिल्लासमेत रहेको दाङमा गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा देखिन्छ । उपमहानगरको नेतृत्वमा पुग्न दलभित्र नेताहरूको होड चलेको छ । ०७४ को निर्वाचनमा यस उपमहानगरमा एमालेले जितेको थियो । कांग्रेसका गेहेन्द्र गिरीलाई हराउँदै एमालेका घनश्याम पाण्डे मेयर बनेका थिए । अहिले परिस्थिति बदलिएको छ । तेस्रो स्थानमा रहेर उल्लेख्य मत ल्याएको माओवादी केन्द्र कांग्रेससँग मिलेको छ । यसले गठबन्धनको पल्ला भारी भएको छ । एमाले भने पुरानो नतिजा दोहोर्‍याउने रणनीति बनाउन व्यस्त छ । मेयरको टिकटका लागि नेताहरूको दौडधुप पनि बढेको छ ।

एमालेबाट ६ जना दाबेदार, शर्मा र खड्कामध्ये एकले पाउने

एमाले महासचिव शंकर पोख्रेलको गृहजिल्लासमेत रहेको दाङमा गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा देखिन्छ । उपमहानगरको नेतृत्वमा पुग्न दलभित्र नेताहरूको होड चलेको छ

एमालेको नगर कमिटीले मेयरमा ६ जनाको नाम सिफारिस गरेको छ । सिफारिस भएकामा वर्तमान उपप्रमुख माया शर्मासँगै, टीकाराम खड्का, मनोहर बुढाथोकी, कृष्ण भुसाल, नवराज लामिछाने र विनोद शर्मा छन् । खड्का पार्टीका पूर्व जिल्ला अध्यक्ष हुन् । लामिछाने वडाध्यक्ष हुन् । यीमध्ये उपमेयर शर्मा र खड्कामध्ये एकजनाले मेयरको उम्मेदवार पाउने सम्भावना छ । उपमेयरमा शर्माले गत चुनावमा कांग्रेसकी देविका नेपाली घिमिरेलाई हराएकी थिइन् । शर्मा बिजौरी गोलीकाण्डमा घाइते भएर ०६४ पुस ३ गते मृत्यु भएका श्रीमणि आचार्यकी श्रीमती हुन् । हाल उनी एमाले जिल्ला कमिटीको सल्लाहकार छिन् । खड्का विगतमा माधव नेपाल खेमामा थिए । तर, विभाजनका बेला उनी एकीकृत समाजवादीमा गएनन् । खड्काले अहिलेसम्म कुनै पनि लाभको पद पाएका छैनन् । त्यसैले एउटा खेमा अहिले खड्कालाई टिकट दिनुपर्ने भन्दै लबिङमा लागेको छ । तर, विगतमा नेपाल खेमामा लागेका कारण उनलाई टिकट दिने सम्भावना कम रहेको दाङका एमाले कार्यकर्ता बताउँछन् । खड्काले नपाए उपमेयर शर्माले नै मेयरमा टिकट पाउने निश्चित छ । वर्तमान मेयर पाण्डेले आगामी चुनावमा फेरि चाहना नराख्ने भनेपछि एमाले नगर कमिटीले अन्य ६ जनाको नाम सिफारिस गरेको हो ।

कांग्रेसमा गिरी नै उम्मेदवार हुने सम्भावना

एमालेले उम्मेदवार चयनलाई अन्तिम रूप दिँदै जाँदा गठबन्धनले भने केन्द्रको निर्णय पर्खिरहेको थियो । अब भने बाटो खुलेको छ । कांग्रेसबाट केन्द्रीय सदस्य गेहेन्द्र गिरी नै उम्मेदवार हुने सम्भावना छ । उनी अघिल्लोपटक पनि मेयरमा लडेर पराजित भएका थिए । उनी पार्टीको स्थानीय कमिटीबाट एक नम्बरमा सिफारिस भएका छन् । तर, तुलसीपुर कांग्रेसमा मेयरका आकांक्षीको लर्को भने निकै लामो छ ।

कांग्रेसले मेयरमा १९ जनाको नाम सिफारिस गरेको छ । अन्तिममा आएर कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका गिरीले पनि आकांक्षा व्यक्त गरेपछि उनको नाम एक नम्बरमा राखेर सिफारिस गरिएको कांग्रेस तुलसीपुर नगर समितिले जनाएको छ । जिल्लाको वरिष्ठ नेताले आफैँ उठ्छु भनेपछि अब अरूको सम्भावना कमजोर बनेको दाङ कांग्रेसमा चर्चा छ । पार्टीमा पकड राख्ने गिरीले फेरि मेयर उठ्ने बताएपछि अरू आकांक्षी अहिले चुपचापको अवस्थामा छन् । गिरीले भने मेयरको उम्मेदवार बन्ने आफ्नो इच्छा नभए पनि तलका कार्यकर्तादेखि माथिका नेताले समेत आग्रह गरेको दाबी गरेका छन् ।

वैशाख २ गते सिफारिस गरिएका १९ जनामध्ये गिरी, पूर्व पार्टी सभापति घनश्याम रेग्मी, यसअघिका पार्टी सभापति कीर्तिबहादुर खड्का, निर्वाचन क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्का, नगर सभापति सुरेश हमाल, महाधिवेशन प्रतिनिधि विमल रिजालको नाम क्रमशः राखिएको छ ।

त्यस्तै, तुलसीपुर– ७ का वडाध्यक्ष टोपबहादुर केसी, कृष्ण गिरी, सुरेन्द्र गिरी, नहकुल केसी, डिल्लीबहादुर बस्नेत, किरण शाह, जनकप्रसाद खराल, सुष्मा गिरी, चूर्ण चौधरीसँगै नयाँ शक्ति पार्टीबाट आएका नेत्रलाल भट्टराईको नाम सिफारिसमा परेको छ ।