NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

फेक समाचार लोकतन्त्रका लागि खतरायुक्त : बाराक ओबामा

वाशिंटन । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले सामाजिक सञ्जालमा फैलिएको गलत सूचनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमा गलत सूचनाका कारण मानिसले ज्यान गुमाइरहेको बताए ।

उनले भने, ‘यसले लोकतन्त्रलाई खतरामा पारेको छ । प्राविधिक कम्पनीहरूले यसको नियम बनाउनुपर्छ र समाधान गर्नुपर्छ ।’ ओबामाका अनुसार यी प्लेटफर्महरू हामीलाई गलत दिशामा लैजाने गरी डिजाइन गरिएको छ ।

स्ट्यानफोर्ड साइबर नीति केन्द्रमा आयोजित एक कार्यक्रममा ओबामाले कोभिड १९ र यसका खोपहरूबारे भ्रामक जानकारी फैलाउनेलगायत गलत सूचनाको प्रसारले विश्वमा पार्ने असरहरू औंल्याए । ओबामाले वैज्ञानिकहरूले समयमै सुरक्षित, प्रभावकारी खोपहरू विकास गरेको बताए ।

उनले भने, ‘यो एक अविश्वसनीय उपलब्धि हो । तैपनि पाँचमध्ये एक अमेरिकी खोप लगाउनुको सट्टा आफू र आफ्नो परिवारलाई जोखिममा राख्न इच्छुक छन् ।’ ठूला टेक्नोलोजी कम्पनीहरूले उपभोक्ताहरूलाई हानि पुर्‍याउन साना खेलाडीहरूबाट प्रतिस्पर्धा गर्ने, आफ्नो नाफाका लागि व्यक्तिगत डाटाको मनमानी प्रयोगको आरोपको सामना गरिरहेका बेला ओबामाको टिप्पणी आएको हो ।

यति मात्र होइन, यी कम्पनीको शक्ति र प्रभावलाई रोक्न अमेरिकामा कानुन बनाउने तयारी पनि भइरहेको छ । झुटा प्रचारलाई लोकतन्त्रको खतराका रूपमा वर्णन गर्दै ओबामाले चुनावी धाँधलीको आधारहीन षड्यन्त्रलाई पनि उल्लेख गरेका थिए ।