NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०७९ जेठ ३ गते
सन्दर्भ : लोकतन्त्र दिवस

‘गीत गायो भनेर जंगलमा छाडिदिन्थे’

काठमाडौं । ०६२ चैत २४ गतेदेखि सडकमा राजतन्त्रविरोधी प्रदर्शन सुरु भइसकेको थियो । काठमाडौंका चोकचोकमा ‘राजतन्त्र मुर्दावाद…, गणतन्त्र जिन्दावाद…’ को नारा प्रहरी प्रशासनका लागि टाउको दुखाइको विषय थियो । ठीक यही बेला खिरिलो शरीरको एउटा बालक जहाँ–जहाँ आन्दोलन र प्रदर्शन हुन्थ्यो, त्यहीँ–त्यही गीत गाएर आन्दोलनकारीलाई जगाइरहेको हुन्थ्यो ।

०६२÷६३ को जनआन्दोलनमा नागरिकलाई ब्युँझाउने ती बालक थिए, रुबिन गन्धर्ब । जन्मस्थान गोरखाको ऐतिहासिक स्थान लिगलिगकोट । अभावको टाल्ने टालो खोज्दै सहर पसेका रुविनलगायतमाथि सुरक्षाकमीले कहिले अश्रुग्यास, कहिले पानीको फोहोरा त कहिले गोली नै प्रहार गर्थे । गीत गाएर मानिस भड्कायो भनेर काठमाडौंको डाँडो नै कटाइदिन्थे । तर रुविन कहिल्यै दपेनन् । स्वतन्त्रता संग्राममा आफ्नो आवाज बुलन्द बनाइरहे ।
१६ औं जनआन्दोलन दिवसको छेकोमा रुविनले ती दिनलाई यसरी सम्झिए :

मेरा समकालीन किताब–कापी च्यापेर विद्यालय जान्थे । ममा पनि त्यसैगरी विद्यालय जाने इच्छा जागृत हुन्थ्यो । तर हाम्रो पारिवारिक अवस्था कमजोर थियो । बिहान/बेलुका हातमुख जोड्न पनि धौ–धौ हुन्थ्यो । गुजारा गर्नै सकस परेपछि अन्य कुरा तपसिलमा धकेलिनिे रहेछन् ।

आर्थिक अवस्था मजबुत पार्न बा–आमाले प्रयास नगर्नु भएको होइन । तर जति गरे पनि जोड चलेन । अवस्था ज्यूँकात्यूँ रहे । यी दृष्यले मलाई आर्थिक उपार्जनको काममा लाग्ने दबाब सानै उमेरमा प¥यो । साथीहरूबाट काठमाडौंबारे सुनेको थिएँ । त्यसैले सानै उमेरमा मैले गाउँ छाडेर काठमाडौं पस्ने निर्णय गरेँ ।

काठमाडौं जाने निर्णय त गरियो तर त्यहाँसम्म पुग्न केही रकमको जोहो गर्नुपथ्र्यो । तर मसँग कौडी थिएन । र पनि रित्तो हात घरबाट काठमाडौंका लागि बाटो लागेँ ।

२०५८ सालमा गोरखाबाट काठमाडौं साझा बस चल्थ्यो । ड्राइभर र सहचालकले गाडीमा चढेको देखेमा भाडा मागिहाल्थे । त्यसैले म उनीहरूलाई छक्याउँदै चलाखीपूर्वक साझा बसको डिकीमा लुकेँ ।

देशमा माओवादी जनयुद्ध चलिरहेको थियो । सेना र प्रहरीले सुरक्षा सतर्कता बढाइरहेका थिए । यस्तो बेला साझा चढेर लुकेर आउँदा कसैले नदेखोस् भन्ने मेरो सोच थियो । तर, तत्कालीन शाही सेनाले गाडी चेकिङका क्रममा मलाई गजुरीमा फेला पारिहाल्यो । उनीहरूले त्यहाँबाट निकालेर मलाई गजुरी ब्यारेकमा लगे ।

म फुच्चे केटा भएकाले माया गरेर राख्नु भयो । गीत गाउन लगाउनु भयो । काठमाडौं किन जान लागेको भनेर सोध्नुहुन्थ्यो । म आफन्त भेट्न जान लागेको भनेर झुट कहन्थेँ । मेरो कुरामा उहाँहरू कन्भिन्स हुनु भएपछि मलाई गाडीको सिटमै बसाएर काठमाडौं पठाइदिनुभयो ।

साझाले बसपार्कमा ल्याएर छाडिदियो । काठमाडौंमा मेरो कोही नभएकाले मैले बसपार्कलाई नै आफ्नो मुकाम बनाएँ । पुस–माघको त्यो जाडोमा कैयन रात सडक पेटीलाई ओछ्यान र आकासलाई ओढ्ने बनाएर बिताएँ । तर, यो निष्ठुरी महानगरका कसैले पनि ममाथि दया देखाएनन् ।

झन्डै डेढ महिना मैले यसरी नै सडक पेटीमा दिन र रात गुजारेँ ।

सारंगी थियो भने गाएर खान सक्थेँ होला । तर त्यो पनि थिएन । बसाइँका क्रममा ड्राइभरहरूसँग चिनजान भयो । सहचालकको काम गरेँ । यसले मेरो पकेटमा केही रकम जम्मा भयो जसबाट सारंगी किनेँ । त्यसपछि भने मलाई केही सहज भयो ।

सारंगी भएपछि म माइक्रो र गाडीमा सारंगी बजाउँदै हिँड्न थालेँ । योक्रममा विद्यार्थी नेताहरूसँग मेरो चिनजान भयो । गगन थापा, रामकुमारी झाँक्री, चन्द्र शाही, प्रेम प्रधान, सुरेश पराजुली त्यतिबेला मैले चिनेका नेता हुन् ।

राजाले आफ्नो हातमा शासन लिएपछि तत्कालीन पाँच दलले आन्दोलन थालेका थिए । म त्यो आन्दोलनमा जान थालेँ । आन्दोलनमा जान थालेपछि राजा त खराब नै रहेछन्, यसलाई फाल्नै पर्ने रहेछ भन्ने बुझेँ र आन्दोलनमा लागेँ ।

आन्दोलनका क्रममा पोखराको आमसभामा मैले ‘दाजु मार्यौं, भाउजु नि मार्यौं, फोकटैमा राजगद्दी हात पार्यौं…’ गीत गाएको थिएँ । त्यो गीत गाएपछि म निकै टार्गेटमा परेँ । सेनाले मलाई मार्ने योजना नै बनाएको रहेछ । यो थाहा पाएर नेताहरूले रातारात काठमाडौं भगाए ।

विराटनगरको आमसभा सकेर इलामको एक कार्यक्रममा जाँदै थियौं । हाम्रो समूहमा अहिलेका पूर्वप्रधानमन्त्री केपी ओली, स्वर्गीय गायक जेबी टुहुरे, मानव अधिकारवादी सुवोधराज प्याकुरेललगायत हुनुहुन्थ्यो । यात्राका क्रममा बाटोमा केपी ओली निकै रोमान्टिक मुडमा प्रस्तुत भएर एउटा गीत गाउनु भएको थियो, त्यो घटना अहिले पनि ताजै भएर आउँछ ।

दुःख–कष्ट त धेरै भोगियो, त्यसको हिसाब किताब नै छैन । १९ दिने आन्दोलनमा प्रहरीले मलाई बालाजु चोकमा घाइते हुने गरी पिट्यो । कैयन पटक मलाई प्रहरीले समातेर काठमाडौंको चारबुर्जा नै कटाएर कहिले ककनी त कहिले भीमफेदीको जंगलमा लगेर छाडिदिन्थे, आन्दोलनमा गीत गाउन नपाओस् भनेर ।

मसँग सारंगी हुन्थ्यो, म सारंगीको सहारामै त्यहाँबाट काठमाडौंतर्फ आउने गाडीमा चढ्र फर्कन्थेँ । अर्को कुरा मलाई धेरैले जनआन्दोलनमा गीत गाउने गायक भनेर चिनिसकेको हुनाले पनि पैसा उठाएर काठमाडौं पठाइदिनुहुन्थ्यो ।
उपलब्धिका हिसाबले केही सन्तोष मिल्ने ठाउँहरु छन् । जस्तै योबीचमा संविधान जारी भएको छ । संघीयता पाएका छौं । पिछडिएका जनताले केही मात्रामा भए पनि हक अधिकार पाएका छन् । यसलाई उपलब्धिका रुपमा लिनुपर्छ । तर, व्यवस्था फेरिए पनि अवस्थामा खासै सुधार आएको छैन, उस्तै छ । यसमा हैसियतअनुसार साना ठूला सबै दलको कमजोरी छ ।

(जनआन्दोलनका गायक रुविन गन्धर्वसँगको कुराकानीमा आधारित)

 

ताजा अपडेट

नेपालवाच विशेष