NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

विश्वभर कोरोना संक्रमण फेरि फैलियो

काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणको गति फेरि बढेको छ । चीनको सांघाईमा पछिल्लो २४ घण्टामा कोरोनाबाट ३९ जनाको मृत्यु भएको छ भने २१ हजार ५८ संक्रमित थपिएका छन् ।

योसँगै जर्मनी र फ्रान्समा एक सातामा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि बढेको छ । त्यस्तै अफ्रिका र अमेरिकामा पनि कोरोनाको ग्राफ तीव्र गतिमा बढिरहेको छ ।

सांघाई स्वास्थ्य आयोगका अनुसार मृतकको औसत उमेर ७९ वर्ष रहेको छ । कोरोना संक्रमण मृत्यु भएकामध्ये धेरैजसो दीर्घ रोगी रहेको बताइएको छ । सांघाईमा मार्चदेखि अहिलेसम्म ८७ जनाको मृत्यु भइसकेको छ । कोरोनाको सन्दर्भमा चीनमा शून्य कोभिड नीति लागू गरिएको छ ।

वल्र्डोमिटरको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा फ्रान्समा ५८ हजार र अमेरिकामा १२ हजार संक्रमित भेटिएका छन् । दक्षिण कोरियामा सबैभन्दा बढी ६४ हजार ७ सय २६ नयाँ केसहरू छन् । मृत्यु हुनेको संख्याका बारेमा कुरा गर्दा फ्रान्समा ४० र अमेरिकामा १४ जनाको ज्यान गएको छ ।

गत वर्षको मध्येमा, विश्व स्वास्थ्य संगठनले जुन २०२२ सम्म प्रत्येक देशमा कोभिड १९ विरुद्धको खोपको ७० प्रतिशत उपलब्ध गराउने महत्वाकांक्षी लक्ष्यलाई अगाडि बढाएको थियो ।

महामारी अन्त्यका लागि खोप अनिवार्य भनिए पनि अब विश्वले लक्ष्य हासिल गर्न नसक्ने कुरा प्रष्ट भइसकेको छ । धेरै स्वास्थ्य विज्ञहरू कम आय भएका देशहरू लक्ष्यभन्दा धेरै पर भएको बताउँछन् ।

अफ्रिका रोग नियन्त्रण केन्द्रका सल्लाहकार डा आइज्याक एडेभोल भन्छन्, ‘खोप अभियान योजनाबाट हटेको सत्य हो । विश्वका ८२ गरिब देशहरूमध्ये केही देशले मात्रै ७० प्रतिशत खोप लक्ष्य पूरा गरेका छन् । अक्सफोर्ड युनिभर्सिटीको तथ्यांकअनुसार धेरै देशमा २० प्रतिशतभन्दा कम खोप लगाइएको छ । यसको विपरित धनी देशमा ७० प्रतिशत खोप लगाइएको छ ।

पूर्वी युरोप र मध्यपूर्व लगायत विश्वका विभिन्न भागहरूमा हालैका महिनामा खोपको दरमा भारी गिरावट आएको छ । गिरावट दर लगभग ३५ प्रतिशत छ । अफ्रिका महादेशमा जम्मा १७ प्रतिशतभन्दा कम खोप लगाइएको छ ।