NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

फेरि कहिल्यै नआओस् त्यो वैशाख १२

विश्वका ठूला भूकम्प : कहाँ कहिले ?

काठमाडौं । ०७२ वैशाख १२ मा गएको महाभूकम्पको त्रासदीले अझै नेपालीको मन मष्तिस्कलाई छाडेको छैन । हिजोआज बेला–बेलामा सानातिना स्केलका भूकम्प आउँदा पनि कतै ठूलै भूकम्पको संकेत त होइन ? भन्ने आशंकाले जनमानसलाई पिरोल्ने गरेको छ ।

१९९० माघ २ मा गएको विनाशकारी भूकम्पको ८० वर्षपछि पहिलो पटक अत्यधिक शक्तिशाली भूकम्प थियो, वैशाख १२ को महाभूकम्प । शनिबार दिनको ११ बजेर ५६ मिनेटमा गोरखाको बार्पाक केन्द्रबिन्दु भएर गएको ७ दशमलव ९ रेक्टर स्केलको त्यो भूकम्प नेपालमा मात्र नभएर विश्वकै ठूलो भूकम्पको सूचीमा पर्छ ।

यो भूकम्पमा १० हजार बढी मानिस मरे । धरहरालगायत वसन्तपुर दरबार क्षेत्रका काष्ठमण्डपसँगै रानीपोखरी आदि अनेक विश्व सम्पदा भत्किए । धेरै मानिस घरबारविहीन मात्र भएनन्, धेरैले आफन्त गुमाए । २० थर्मो न्युक्लियर हतियारबराबरको मानिने यो भूकम्पले नेपाली समाजकै मनस्थितिमा हलचल ल्याएको थियो । भूकम्पपछिका पराकम्पनहरूले महिनौंसम्म मानिसलाई तर्साइरह्यो । अब कहिल्यै त्यो वैशाख १२ नआओस् ।

नेपाल धेरै पहिलेदेखि भूकम्प गइरहने क्षेत्र हो । अतीतका भूकम्पबारे धेरै तथ्यांक र प्रमाणको अभाव भए पनि गोपालराज वंशावली अनुसार वि.सं. १३१२ को भूकम्पमा तत्कालीन राजा अभय मल्लको मृत्यु भएको उल्लेख छ । उतिबेला भूकम्पलाई ‘भुइँचालो’ भनिन्थ्यो । अभय मल्ल मारिदाको भूकम्पमा धेरै देवल र घरहरू भत्किएको र तीन भागको एक भाग ‘प्रजाहरूको मृत्यु भएको’ भन्ने विवरण इतिहासविदहरूले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।

त्यसपछि वि.सं. १४०१ मा गएको भुइचालोचाहिँ नेपालकै पहिलो ठूलो मानिन्छ । गोपाल राजवंशावलीमा सो भूकम्प दशैँको फूलपातीका दिन गएका उल्लेख छ । भूकम्पको भोलिपल्ट महाष्टमीका दिन राजा अरी मल्लको मृत्यु भएको ऐतिहासिक तथ्य पाइन्छ । राष्ट्रिय भूकम्प प्रविधि समाजको तथ्यांक अनुसार नेपालमा विक्रम संवत् १८९० मा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प जाँदा पनि धेरै मानिस मारिएका थिए ।

हालसम्म प्राप्त विवरण अनुसार वि.सं. १२८० देखि वि.सं. १९९० हुँदै २०७२ सम्म कुल ५० वटा भूकम्प गएको पाइन्छ । तिनमा १९९० र ०७२ मा महाविनाशकारी र ०४५ सालमा सामान्यभन्दा अलि बढी विनाशकारी भूकम्प गएको देखिन्छ ।

सुदूरको सबैभन्दा ठूलो भूकम्पचाहिँ वि.स. १९९० माघ २ को हो । संखुवासभा चैनपुर केन्द्रबिन्दु भएको ८ दशमलव ४ रेक्टर स्केलको यो भूकम्पलाई ‘नब्बे सालको भूकम्प’का रूपमा पनि सम्झने गरिन्छ । त्यतिबेला श्री ३ जुद्ध शमशेर प्रधानमन्त्री थिए । भूकम्पमा १६ हजार ८ सय ७५ जनाको मृत्यु भएको थियो ।

वि.स. २०४५ साल भदौ ५ मा उदयपुर केन्द्रबिन्दु भएको ६ दशमलव ५ रेक्टर स्केलको भूकम्प पनि शक्तिशाली नै थियो, जसमा ७ सय २१ जना मरेका थिए । वि.स. ०६८ असोज १ को भूकम्पमा पनि १० जनाको ज्यान गएको थियो ।

भूकम्पीय जोखिमको आधारमा नेपाल विश्वको एघारौं जोखिमयुक्त देशमा पर्छ । विश्वका भूगर्भशास्त्रीले नेपालमा भूकम्प जानुको मुख्य कारणमा भारतीय र तिब्बती प्लेटको टकरावलाई मुख्य कारण मानेका छन् । ०७२ वैशाख १२ को भूकम्प जाँदा भारतीय प्लेट तिब्बती प्लेटसँग ठोक्किँदै अघि बढेको बताइन्छ ।

यसक्रममा उत्पन्न ऊर्जा निकास हुँदा पुनः शक्तिशाली भूकम्प जानसक्ने खतरा उनीहरू औंल्याइरहेका छन् । तर सम्भावित शक्तिशाली भूकम्प कहिले जान्छ, त्यो भने निश्चित छैन । तिब्बती र भारतीय प्लेट आपसमा मिल्ने सतहमै हिमालीक्षेत्र भएकाले नेपाल जोखिमपूर्ण सतह मानिन्छ ।

विश्वका शक्तिशाली भूकम्पहरू

चिलीमा सन् १९६० मा गएको भूकम्पलाई विश्वको सबैभन्दा ठूलो भूकम्प मानिन्छ, जुन ९ दशमलव ५ रेक्टर स्केलको थियो । करिब एक हजार परमाणु बम विष्फोटबराबरको मानिने यो भूकम्पमा संयोगले धेरै जनधनको क्षति भएन । करिब ६ हजार मानिस मारिएका थिए । अहिलेसम्म विश्वमा यति शक्तिशाली अर्को भूकम्प गएको छैन ।

पोर्चुगलमा सन् १७५५ नोभमेम्वर १ मा गएको करिब ९ रेक्टर स्केलको भूकम्पलाई पनि विनाशकारी भूकम्प मानिन्छ । भूकम्पपछि सुनामीसँगै ज्वालामुखीसमेत विष्फोट भएको थियो । यसबाट पोर्चुगलको लिस्वोन शहर पूरै ध्वस्त भयो भने उतिबेलाको जनसंख्याको सापेक्षतामा एक लाख मानिस मारिनु ठूलै बिनाशको सूचक थियो ।

त्यसैगरी इन्डोनेसियामा सन् २००४, डिसेम्बरमा सुमात्रा टापुमा गएको ९ दशमलव ३ रेक्टरको भूकम्पले थाइल्याण्ड र माल्दिभ्ससम्म पनि धक्का दिएको थियो । सुमात्रामा त्यसअघि गएका भूकम्पभन्दा यो सबैभन्दा लामो (करीब १० मिनेट) सम्मको भूकम्पमा परी २ लाख २५ हजार मानिसको मृत्यु भएको थियो । त्यसैगरी सुमात्रामै २००७ मा पनि ८ दशमलव ६ रेक्टर स्केल र २०१० जनवरी १२ मा ७ रेक्टर स्केलको भूकम्प जाँदा हजारौं मानिस मारिएका थिए ।

सन् २०१० जनवरी १२ मा हाइटीमा ७ रेक्टर स्केलको भूकम्पले देशको राजधानी पोर्ट ओ प्रिन्स नै ध्वस्त पारेको थियो । मेजर सकपछि लगातार १२ दिनसम्म पराकम्प जाँदा ३ लाख १६ हजार मानिस मारिएका थिए ।

पाकिस्तानको काश्मीरमा २००५ अक्टोबर ८ मा गएको भूकम्पमा करिब ९० हजार मानिसको ज्यान गएको थियो । यही भूकम्पले जम्मु ताजिकिस्तान र पश्चिम चीनमासमेत करिब १४ हजारको ज्यान लियो । ७ दशमलव ६ रेक्टरको भूकम्प भए पनि यसले ठूलो जनधनको क्षति गराएको थियो ।

टर्कीमा सन् १९९० सेप्टेम्बर २० मा इजमित शहरमा गएको ७ दशमलव ९ रेक्टरको महाभूकम्पमा १७ हजार १ सय २७ जना मानिस मारिए । भूकम्पबाट इजमित शहर पूरै भग्नावशेषमा परिणत भएको थियो । पेरुमा सन् १९७० मे ३१ मा गएको भूकम्पबाट युन्गेलगायतका शहरमा ८० हजार बढी मानिस मारिएका थिए । ८ रेक्टर स्केलको भूकम्पपछि आएको सुनामीले चारैतिर बितण्डा मच्चाएको थियो ।

सन् १६६३ जनवरी ११ मा इटलीको सिसिलीमा ७ दशमलव ४ रेक्टरको भूकम्पमा ६० हजार मानिस मारिएका थिए । सिसली शहरसहित ७० वटा शहर ध्वस्त पार्ने यो भूकम्पपछिको सुनामीले धेरै क्षेत्र तहसनहस पारेको थियो ।

त्यसपछि इटलीमै सन् १९०८ डिसेम्बर २८ मा ७ दशमलव १ रेक्टर स्केलको भूकम्प गयो । जसबाट मेसिना र रेगियो शहरका २ लाख मानिसको इहलीला समाप्त भयो । मेसिना शहरकै करिब ९१ प्रतिशत घरहरू भत्किए ।

सन् १९४८ अक्टोबर ६ मा तत्कालीन सोभियत संघको आस्बाघाटमा ७ दशमलव ३ रेक्टरको भूकम्पबाट करिब २ लाख मासिको मृत्यु भएको थियो । रुसको पहिलो परमाणु बम परीक्षणकै कारण यति शक्तिशाली भूकम्प गएको हुनसक्ने अनुमान पश्चिमा मुलुकहरूले गरेका थिए ।

अजर बैजानमा सन् १६६७ नाभेम्बरमा ६ दशमलव ९ रेक्टरको भूकम्पको धक्का १० रेक्टरसरहको थियो, जसमा परी करीब ८० हजार मानिसको ज्यान गएको थियो । सन् ११३८ अक्टोबर ११ मा सिरियामा गएको ८ दशमलव ५ रेक्टर स्केलको भूकम्पलाई हालसम्म विश्वकै चौथो शक्तिशाली भूकम्प मानिन्छ । यो भूकम्पमा परी एलेप्पो शहरका २ लाख ३० हजार मानिस मारिएका थिए । शहरका अधिकांश भू–भागका भौतिक संरचना ध्वस्त पारेको थियो ।

सन् १९९०, जुन २१ मा इरानको रुदबार शहरमा गएको भूकम्पले यो रुदवा शहरसहित ७ सय वटा गाउँ बर्बाद पारेको थियो भने करिब ४० हजार मानिस मारिएका थिए । त्यसैगरी इरानमा धेरै वर्ष पहिले सन् ८५६ डिसेम्बर २२ मा गएको ८ रेक्टरको भूकम्पले तत्कालीन राजधानी दामघान ‘तबाह’ पारेको थियो, जसमा २ लाख मानिस मारिएका थिए ।

इरानमै सन् १७२१ अप्रिल २६ मा गएको शक्तिशाली भूकम्पबाट करिब अढाइ लाख मानिसको ज्यान गएको थियो । इरानको ताब्रिज शहर ध्वस्त भएको थियो । यही संकटको मौका छोप्दै इरानमाथि अटोमन साम्राज्यले यो शहरमा कब्जा जमाएको थियो ।

चीनमा भूकम्पको कहर

विश्वकै पहिलो भूकम्प चीनको साङडोङ प्रान्तमा इशापूर्व १८३९ मा गएको रेकर्ड छ । त्यसपछि सन् १५५६ जनवरी २३ मा चीनको सान्छीमा गएको भूकम्प निकै विनाशकारी थियो । सो भूकम्पमा करिब ९ लाख मानिस मारिएका थिए । सान्छी शहरका कुल ६० प्रतिशत मानिस भूकम्पमा पुरिएका थिए ।

सन् १९२० डिसेम्बर १६ मा ७ दशमलव ८ रेक्टरको यो भूकम्पबाट चीनको हाइयान प्रान्तमा करिब २ लाख ४० हजार मानिस मारिएका थिए । सन् १९२७ मई २२ मा ७ दशमलव ९ रेक्टरको भूकम्पबाट चीनको सिनिङ क्षेत्रमा ४० हजार ९ सय मानिस मरे । सयौं स्कुल भवन भत्किएका थिए भने धेरै मानिस घरबारविहीन भए ।

सन् १९७६ जुलाई २८ मा गएको ८ दशमलव २ रेक्टर स्केलको भूकम्प जम्मा १० सेकेण्डको थियो । तर त्यसमा परी ६ लाख ५५ हजार मानिस मारिए । चीनमा पछिल्लो पटक सन् २००८ मई ८ मा ८ रेक्टरकै भूकम्प गएको थियो । सिचुआन प्रान्तमा यो भूकम्पबाट ६९ हजार १ सय ९७ जना मारिएका थिए ।

जापानको दुःख भूकम्प

विश्वकै सबैभन्दा धेरै भूकम्पीय जोखिम भएको देश अर्मेनिया र कम जोखिमपूर्ण देश रुस हो । जापान पनि भूकम्पबाट धेरै पीडित देश हो । १४९८ सेप्टेम्बर २० मा जापानको नानकिया शहरमा गएको ८ दशमलव ६ रेक्टरको भूकम्प र सुनामीपछि करिब ३० हजार मानिस मारिए । बासो प्रायःदीपमा पुगेको यो सुनामीले कोकुटुस्थित बुद्धको ठूलो मुर्ति रहेको भवनसमेत भत्काएको थियो ।

जापानमा सन् १९२३ सेप्टेम्बर १ मा आएको ७ दशमलव ९ रेक्टर स्केलको भूकम्पले राजधानी टोकियोसम्म हल्लाएको थियो । हजारौं मानिस मारिएका थिए । सन् २०११ मार्च ११ मा जापानमा ८ दशमलव ९ रेक्टर स्केलको भूकम्प जाँदा उत्पन्न सुनामीले किरब १६ हजारको ज्यान लिएको थियो । जापानको तोहुकु प्रान्तमा गएको यो भूकम्पलाई विश्वका पाँच शक्तिशाली भूकम्पमध्ये एक मानिन्छ ।

दोस्रो विश्व युद्धमा हिरोसिमा र नागासाकीमा अमेरिकाले परमाणु बम खसालेपछि उत्पन्न संकटपछिकै ठूलो संकटका मानिने जापानको यो भूकम्प र सुनामीले त्यहाँ आणविक भट्टीमासमेत क्षति पुगेको थियो । जापान यस्तो देश हो, जहाँ बारम्बार भूकम्प गइरहन्छ । सोही कारण जापानका घरहरू भूकम्पबाट पनि नभत्किने झोलुंगे पुलजस्ता लचकदार हुने गर्छन् ।