NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

अन्ततः शेखरको अडानबीच विराटनगर मेयरको उम्मेदवारमा यसरी भयो नागेशको ‘इन्ट्री’

काठमाडौं । मुख्य दाबेदारलाई पछि पार्दै विराटनगर महानगरपालिकाको मेयरमा नागेश बाजी मारेका छन् । मुख्य दाबेदार डा. डिला संग्रौला, अमृत अर्याल र भीम पराजुलीलाई पछि पार्दै कोइराला उम्मेदवारमा चयन भएका हुन् ।

तरुण दल हुँदै पार्टीको मोरङ जिल्ला उपसभापति भएका नागेश अन्ततः विराटनगरमा कांग्रेसको तर्फबाट मेयरको उम्मेदवार भएका हुन् । उनी जिल्ला सचिव र कोषाध्यक्ष पनि भएका थिए । तर, अहिलेसम्म उनी जनप्रतिनिधि भने हुन सकेका थिएनन् । युवामाझ उनी चर्चित र लोकप्रिय रहेको बताइन्छ ।

सभापति शेरबहादुर देउवाले अन्तिमसम्म पनि मेयरमा अर्याललाई अघि सार्ने अडान लिएका थिए । यही अडानले विराटनगरमा सहमति हुन लामो समय लागेको थियो । तर शेखरको बलियो प्रभाव रहेको मोरङमा शेखरले प्रस्ताव गरेकै उम्मेदवारले बाजी मारेका हुन् ।

मोरङ कोइरालाहरूको बलियो विरासत र प्रभाव रहेको छ । यसैले शेखरको दबाबलाई देउवाले पनि टार्न नसेकेका हुन् । शेखरलाई चिढ्याउँदा विराटनगरमा कांग्रेस झन् कमजोर हुने बुझाइकै कारण उनैले प्रस्ताव गरेका नागेश अन्ततः मेयरको उम्मेदवारको रुपमा इन्ट्री मार्न सफल भएका हुन् ।

मेयरमा सात जना सिफारिस भए पनि कोइराला परेका थिएनन् । उनको नाम सिफारिस नै नभएपछि शेखरले पार्टीसामु झन् बढी दबाब बढाएका थिए ।

२०७४ सालमा दुई गठबन्धनबीच एक्लै चुनावी मैदानमा उत्रिए पनि कांग्रेसले जित हात पारेको थियो ।
विराटनगरको उपमेयर जसपाले पाएको छ ।

विराटनगरमा गत स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवार ५७१० मतान्तरले विजयी भएका थिए । कांग्रेसका भीम पराजुली २३०३१ मत ल्याएर विजयी भएका थिए । एमालेका विनोदप्रसाद ढकालले १७ हजार ३२१ मत ल्याएका थिए । संघीय समाजवादी फोरमका उमेशकुमार यादवले १४ हजार ९५८ मत ल्याएका थिए ।

अहिले कांग्रेस, माओवादी र जसपा सरकारमा छन् । गत निर्वाचनमा विराटनगरमा एमाले र लोकतान्त्रिक फोरम मिलेका थिए । माओवादी र जनअधिकार फोरम मिलेका थिए । कांग्रेसले मेयर उपमेयर दुवैमा जित्दा अनअधिकार फोरमसँग मिलेको माओवादीले उपमेयरमा ११५२४ मत ल्याएको थियो ।

एमालेसँग मिलेको लोकतान्त्रिक फोरम कांग्रेससँग मिलिसकेको छ । उपेन्द्र यादवको जसपा पनि सत्ता गठबन्धनमा छ । यस्तोमा एमालेलाई विराटनगरमा निक्कै कठिन हुने देखिएको छ । एमालेसँग मिलेर उपमेयरमा उम्मेदवारी दिँदा लोकतान्त्रिक फोरमले १० हजार मत ल्याएको थियो । राप्रपाले ५ हजार ५ सय मत ल्याएको थियो । यसपटक कांग्रेस, माओवादी, जसपासहितका दल एक ठाउँमा उभिने वातावरण बने एमालेलाई निक्कै कठिन देखिन्छ ।

३ महानगरमा गठबन्धनका ५ दल मिल्दा पनि एमालेलाई हराउन कठिन, यस्तो छ हिसाबकिताब