NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

तीन महानगरमा दुई नयाँ र एक पुरानै अनुहारका नेताले यसरी हत्याए कांग्रेसमा मेयरको टिकट

काठमाडौं । कांग्रेसले अन्ततः ढिलाे गरी आफ्नो भागमा परेका तीनवटा महानगरपालिकाको उम्मेदवार टुंगो लगाएको छ । काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका भागमा परेको कांग्रेसले निक्कै सकसपूर्ण छलफलपछि तीनवटै महानगरपालिकाका मेयरका उम्मेदवार टुंगो लगाएको हो ।

तीनमध्ये दुईजना नयाँ अनुहारका छन् । ललितपुरमा यस अघि जितेका चिरिबाबु महर्जनलाई नै कांग्रेसले मेयरमा अघि सारेको छ । तर काठमाडौं र विराटनगरमा भने कांग्रेसले नयाँ अनुहारलाई मेयरको उम्मेदवारमा अवसर दिएको हो ।

काठमाडौंमा सिंहको प्रभावमा सिंह

काठमाडौंमा सिर्जना सिंह र विराटनगरमा नागेश कोइराला मेयरको उम्मेदवार चयन भएका हुन् । यी दुवै कांग्रेसमा प्रभावशाली र चर्चित र अनुहार भने होइनन् । सिंह नेता प्रकाशमान सिंहकी पत्नी हुन् । पंचायतकालदेखि नै नेविसंघको राजनीतिमा सक्रिय रहेकी उनी कांग्रेसको राजनीतिमा परिचित अनुहार होइनन् । तर ठूलो राजनीतिक घरानाबाट हुनु नै उनको लागि सबैभन्दा ठूलो फाइदा हुन पुगेको छ । अझै काठमाडौंमा बलियो पकड र प्रभाव भएका नेता सिंहकी श्रीमती भएकोले पनि सिर्जनाको उम्मेदवारीमा कांग्रेसभित्र विरोधको स्वर सुनिएको छैन । राजनीतिमा दरिलो उपस्थिति नभए पनि विभिन्न स्वास्थ्य कार्यक्रममार्फत सिंह नागरिकसँग भने जोडिएको बताइन्छ ।

सिंहबाहेक अरु उम्मेदवार अघि सार्दा पनि नेता प्रकाशमान नै निर्णायक हुने अवस्था काठमाडौंमा थियो । यसैले सिर्जनाको उम्मेदवारीमा सबैले समर्थन गर्नुपर्ने अवस्था काठमाडौंमा आएको हो । काठमाडौंबाट मेयरमा यस अघि उपमेयर जितेकी हरिप्रभा खड्गी, वडा २५ का अध्यक्ष नीलकाजी शाक्य, प्रगतिमान रञ्जितसहित सिंहको नाम मेयरको उम्मेदवारमा सिफारिस भएको थियो । तर उम्मेदवारको चर्चामा नरहेर पनि सिंहले बाजी मारिन् ।

प्रकाशमान सिंहकी पत्नी सिर्जना नै हुन् काठमाडौंमा कांग्रेस मेयरकी उम्मेदवार ?

नेता प्रकाशमानले १४ औं महाधिवेशनकाे दोस्रो चरणमा सभापति शेरबहादुर देउवालाई सघाएका थिए । यही समर्थनले गर्दा पनि यसपटक देउवाले सिंहको प्रस्ताव टार्न नसकेको बताइन्छ । कतिपयले यही सहयाेगकाे पुरस्कार सिंहलाई मिलेकाे व्याख्या गरिरहेका छन् ।

काठमाडौंको नेवार समुदायमा सिंहको प्रभाव र पहुँच धेरै भएकाले उनकै ‘कन्फिडेन्स’ मै उम्मेदवार उठाउनुपर्ने अवस्थामा देउवा पुगेका हुन् ।

सिंह गणेशमान सिंह हुँदैदेखि नेविसंघको राजनीतिमा सक्रिय थिइन् । पद्यकन्या क्याम्पसमा नेविसंघको राजनीति र २०३६ सालमा गोरखामा महिला संघको अध्यक्ष भइन् । सिंहले शंकरदेव क्यामपस र महाबौद्ध क्याम्पसबाट समेत नेविसंघको राजनीति गरेकी थिइन् ।

२०४६ साल अघि नेविसंघमा सक्रिय भए पनि त्यसयता भने उनी सक्रिय राजनीतिमा छैनन् । यद्यपी स्वास्थ्यको क्षेत्रमा भने उनले लामो समय काम गरेकी छिन् ।

काठमाडौंमा २० हजार अन्तरले पराजित भएको ठाउँमा सिंहले बलिया प्रतिस्पर्धी एमालेका केशव स्थापितको सामना गर्नुपर्नेछ । गत स्थानीय तहको निर्वाचनमा कांग्रेसको मेयर राजुराज जोशी पराजित भएका थिए । तर उपमेयरमा कांग्र्रेसकी हरिप्रभाव खड्गी ५८ हजार मत ल्याएर विजयी भएकी थिइन् । यो मेयरमा जितेका शाक्यको भन्दा ६ हजार हाराहारी मात्रै कम मत हो । काठमाडौंको उपमेयर नेकपा एसले पाएको छ । एसले केही मत काटे यसको फाइदा कांग्रेसलाई हुनेछ ।

विरानटगरमा कोइरालाको प्रभावमा नागेश

यस्तै मुख्य दाबेदारलाई पछि पार्दै विराटनगर महानगरपालिकामा पनि नयाँ अनुहारका नेताले मेयरको उम्मेदवारमा अवसर पाएका छन् । मुख्य बलिया दाबेदार डा. डिला संग्रौला, अमृत अर्याल र भीम पराजुलीलाई पछि पार्दै शेखर कोइराला निकटका नागेशलाई कांग्रेसले उम्मेदवार बनाएको हो ।

तरुण दल अध्यक्ष, जिल्ला कांग्रेसको सचिव, कोषाध्यक्ष, उपसभापति हुँदै अन्ततः विराटनगरमा कांग्रेसको तर्फबाट नागेश मेयरको उम्मेदवार बन्न सफल भए । एकपटक पनि जनप्रतिनिधि नभइ महानगरपालिककै मेयरमा उठ्ने साैभाग्य काेइरालाले पाएका हुन् ।  कोइरालाहरूको बलियो प्रभाव रहेको विराटगनरमा देउवा आफू निकटका नेतालाई मेयरको उम्मेदवार बनाउन चाहन्थे । तर शेखर कोइरालाको दबाबका सामू अन्ततः देउवा गल्न पुगेका हुन् ।

विराटनगर मेयरकाे उम्मेदवारकाे लागि यी हुन् कांग्रेसबाट सिफारिस ७ नेता ? कसले मार्ला बाजी ?

शेखरको अडानले विराटनगरमा सहमति हुन लामो समय लाग्यो । तर विराटनगर महानगरको सिफारिसमा नपरे पनि शेखरको प्रभाव र दबाबमा नागेश मेयरको उम्मेदवार बनाइएका हुन् । विराटनगरमा शेखरको एकल जस्तो प्रभाव छ । यसैले उनको सहमतिविना अर्को उम्मेदवार उठाउँदा कांग्रेसलाई गाह्रो हुन सक्ने हिसाब निकाल्दै देउवाले नागेशको नाममा सहमति गरेको बताइन्छ ।

अन्ततः शेखरको अडानबीच विराटनगर मेयरको उम्मेदवारमा यसरी भयो नागेशको ‘इन्ट्री’

सिफारिसमा नागेशको नाम थिएन । तर उनलाई उम्मेदवार बनाउन शेखर लागिपरे र अन्ततः सफल भएरै छोडे । २०७४ सालमा दुई गठबन्धनबीच एक्लै चुनावी मैदानमा उत्रिएर पनि कांग्रेसले मेयर र उपमेयर दुवै जितेको थियो । उपमेयर भने जनता समाजवादी पार्टीले पाएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवका छोरालाई उपमेयर बनाइएको छ ।

दोहोरिए चिरिबाबु

२०७४ सालमा साँघुरो अन्तर (३२६ मत)ले जितेका चिरिबाबु महर्जन नै ललितपुरको मेयर उम्मेदवारमा दोहोरिएका छन् । ललितपुरबाट प्रेमकृष्ण महर्जनलाई नयाँ उम्मेदवारको रुपमा उठाउने कि चिरिबाबजुलाई उठाउने भन्ने बहसकाबीच चिरिबाबुले नै टिकट पक्का गरेका हुन् । चिरिबाबु देउवाका विश्वासिला नेता पनि मानिन्छन् । तर ललितपुरमा देउवाकै दुईवटा गुट हुँदा कसलाई उम्मेदवार बनाउने भन्ने सकस परेको थियो ।

उदयशमशेर राणाले प्रेमकृष्णको पक्षमा लबिङ गरेका थिए । केन्द्रीय सदस्य तथा ललितपुर पूर्व सभापति मदन अमात्यको साथ चिरिबाबुलाई नै थियो । साथै काठमाडौंका मेयरको तुलनामा लोकप्रिय रहेका कारण पनि चिरिबाबुलाई सभापति देउवाले दोहोर्याउन चाहेका हुन् । अर्का दाबेदार प्रेमकृष्ण महर्जन बलियो र प्रभावशाली नरहेकोले पनि चिरिबाबुले यसपटक फाइदा उठाए ।

को–को हुन् ललितपुरको मेयरमा सिफारिस भएका कांग्रेसका ७ नेता ?

दुवै दाबेदार एउटै गुटका हुनुको फाइदासमेत यसपटक चिरिबाबुलाई पुगेको बताइन्छ । देउवाका विश्रवासपात्र उदयशमशेरले असन्तुष्टि व्यक्त नगर्ने भएरै देउवाले चिरिबाबुकाे विकल्प नखाेजेका हुन् ।

विराटनगर र काठमाडौं दुवैतिर आफू निकटका नेतालाई मेयरको उम्मेदवार बनाउन नसकेपछि नजिकबाट विश्वास गर्ने र लोकप्रियता कमाएका चिरिबाबुलाई देउवाले रोजेका हुन् । काठमाडौंका मेयर विद्यासुन्दर शाक्यको आलोचना बढिरहँदा चिरिबाबुले यसको फाइदा उठाए । सोलार बत्ति, फुटपाथ, सांस्कृतिक सम्पदाको संरक्षण जस्ता काममा भने चिरिबाबुले पाँच वर्षमा देखिने काम गरेको बताइन्छ ।

ललितपुरमा यस अघि चिरिबाबुसँग पराजित भएका हरिकृष्ण ब्यञ्जनकार नै मेयरको उम्मेदवार बनेका छन् । ललितपुरमा उपमेयर माओवादीको भागमा परेको छ । अघिल्लाेपटक मुश्किलले जितेकाेले यसपटक कांग्रेसलाई सहज भने हुनेछैन, तर गठबन्धनकाे फाइदा हुन सक्नेछ ।

३ महानगरमा गठबन्धनका ५ दल मिल्दा पनि एमालेलाई हराउन कठिन, यस्तो छ हिसाबकिताब