NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

सिर्जना सिंहको उम्मेदवारी मनोनयनमा प्रकाशमानदेखि गगन थापासम्म

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहले उम्मेदवारी दर्ता गराएकी छिन् । चर्चामा रहेका उम्मेदवारलाई पछि पार्दै कांग्रेसबाट सिंह सत्ता गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार बनेकी हुन् ।

उनै सिंहले बाजागाजासहितको झाँकीसहित सोमबार उम्मेदवारी दर्ता गराएकी हुन् । उनको उम्मेदवारी दर्ताको लागि प्रकाशमान सिंहदेखि गगन थापासम्मका नेताहरू राष्ट्रिय सभागृह पुगेका थिए । १४ औं महाधिवेशनमा सिंह र थापाले अलगअलग समूहबाट प्रतिनिधित्व गरेका थिए ।

May be an image of 7 people, people standing and outdoors

सिंह पहिलो चराणमा सभापतिमा भिडेका थिए । गगनले डा. शेखर कोइरालाको तर्फबाट महामन्त्री जितेका थिए । तर सिंहले दोस्रो चराणमा कोइरालालाई साथ नदिई शेरबहादुर देउवालाई साथ दिएका थिए । अलग कित्तामा उभिए पनि काठमाडौंको राजनीतिमा भने सिंह र गगन एकै ठाउँमा उभिंदै आएका छन् ।

कतिपयले महाधिवेशनमा देउवालाई सघाएको पुरस्कारको रुपमा मेयरको उम्मेदवार दिएको बताउने गरेका छन् । तर सिंह परिवारले यसलाई नकार्दै आएको छ । कांग्रेसको राजनीतिमा सिंहको भूमिका र प्रभाव राम्रो रहेकोले उम्मेदवार बनाएको दाबी गर्दै आएको छ ।
प्रकाशमान सिर्जनाका श्रीमान् हुन् ।

काठमाडौंको मेयरका लागि हरिप्रभा खड्गी, नीलकाजी शाक्य, प्रगतिमान रञ्जित, तीर्थराम डंगोलसहितका नेता दाबेदार थिए । तर सिंह उम्मेदवार बन्न सफल भएकी हुन् ।

उनी नेविसंघको राजनीतिमा सक्रिय भए पनि पछिल्ला वर्ष भने कांग्रेसको राजनीतिमा सक्रिय अनुहार होइनन् । यद्यपी स्वास्थ्यसहितका कार्यक्रममार्फत उनी परिचित छिन् । उनी सामाजिक संजालमार्फत् राजनीतिक धारणा भने सार्वजनिक गर्दै आएकी छिन् ।

प्रकाशमानको प्रभाव काठमाडौंमा राम्रो रहेकोले पनि उनको यसपटक सिर्जनालाई उम्मेदवार बनाइएको चर्चा छ । सिंहबाहेकको उम्मेदवार चयनको लागि पनि प्रकाशमानको सिफारिस नै अन्तिम हुने अवस्था थियो । यसैले काठमाडौं कांग्रेस सिर्जनाको उम्मेदवारीलाई लिएर असन्तुष्टि नभएको बताइन्छ ।

सिर्जनाले मेयरमा एमालेका प्रभावशाली नेता केशव स्थापितसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । स्थापितले २०५४ सालमा पनि काठमाडौंबाट मेयर जितेका थिए । काठमाडौंमा तीनकुने, माइतीघरदेखि सडक पूर्वाधार बनाउनमा स्थापितले महत्वपूर्ण भूमिका खेलेको बताइन्छ ।

काठमाडौंको उपमेयरको नेकपा एसका रामेश्वर श्रेष्ठले गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका छन् ।