NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

६ वटै महानगर मेयरमा दुईपक्षीय भिडन्त, गठबन्धन र एमालेका १२ प्रतिस्पर्धी को–को हुन् ?

काठमाडौं । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरूले ६ महानगरसहित ७५३ वटै तहमा उम्मेदवारी मनोनयन गरेका छन् । यसै क्रममा मनोनयन दोस्रो दिन सोमबार सत्ता गठबन्धन र प्रतिपक्षी एमालेसहितका दलले ६ महानगरमा मेयर र उपमेयर, वडा अध्यक्ष, सदस्यमा लागि उम्मेदवारी दर्ता गरेका हुन् ।

काठमाडौंमा गठबन्धनबाट सिर्जना सिंहले मेयरमा उम्मेदवारी दिएकी छिन् । एमालेबाट केशव स्थापितले मेयरमा उम्मेदवारी दर्ता गराए । स्थापित २०५४ सालमा पनि काठमाडौंबाट मेयर जितेका नेता हुन् । ललितपुरमा गठबन्धनबाट चिरिबाबु महर्जनले उम्मेदवारी दिएका छन् । चिरिबाबुले २०७४ सालमा ललितपुरबाट मेयर जितेका थिए । एमालेबाट हरिकृष्ण ब्यञ्जनकारले उम्मेदवारी दर्ता गरेका छन् । गत चुनावमा उनी महर्जनसँग पराजित भएका थिए ।

त्यस्तै चितवनको भरतपुरमा गठबन्धनबाट मेयरमा रेनु दाहालले उम्मेदवारी दर्ता गरेकी छिन् । एमालेबाट विजय सुवेदीले उम्मेदवारी दिएका छन् । पोखरा महानगरमा गठबन्धनबाट धनराज आचार्यले उम्मेदवारी दर्ता गराएका छन् । एमालेबाट कृष्ण थापाले उम्मेदवारी दर्ता गरे ।
त्यस्तै वीरगञ्जमा गठबन्धनबाट जसपाका राजेश सिंहले उम्मेदवार दर्ता गरेका छन् । एमालेबाट विजय सरावगीले आफ्नो उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । विराटनगरमा गठबन्धनबाट कांग्रेसका नागेश कोइरालाले मेयरमा उम्मेदवारी दर्ता गरेका छन् । एमालेबाट सागर थापाले उम्मेदवारी दर्ता गरेका छन् ।

काठमाडौंका स्थापित, ललितपुरका महर्जन, ब्यञ्जनकार, भरतपुरका दाहाल, वीरगञ्जका सरावगी पुरानै अनुहार हुन् भने काठमाडौंकी सिंह, भरतपुरका सुवेदी, पोखराका थापा, आचार्य, वीरगञ्जका सिंह, विराटनगरका थापा र कोइराला नयाँ अनुहार हुन् ।

काठमाडौं महानगर

काठमाडौंका स्थापित गत निर्वाचनमा वाग्मती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । उनी ०५४ मा काठमाडौंबाट मेयरमा निर्वाचित भएका थिए । डोरमणि पौडेल नेतृत्वको सरकारका भौतिक पूर्वाधार विकास मन्त्रीसमेत हुन् । उनी राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन कालमा मेयरमा मनोनित भएका थिए । ०६९ मा काठमाडौं विकास प्राधिकरणका प्रमुख पनि भए । उनले मेयरका आकांक्षी विद्यासुन्दर शाक्यलाई पछि पार्दै पार्टीबाट टिकट लिएका हुन् । स्थापित विवाद र चर्चामा आइराख्ने नेता हुन् । स्थापितमाथि महिलामाथि यौन दुव्यर्वहार गरेको आरोपसमेत लागेको छ ।

गठबन्धनबाट काठमाडौं महानगरमा उम्मेदवारी दर्ता गरेकी सिंह नयाँ अनुहार हुन् । गत निर्वाचनमा कांग्रेसबाट उपमेयरमा निर्वाचित हरिप्रभा खड्गीलाई उछिन्दै उनी कांग्रेस नेता प्रकाशमान सिंहको कोटाबाट मेयरको उम्मेदवार बनेकी हुन् । सिंह प्रकाशमानका पत्नीसमेत हुन् । पंचायतकालदेखि नै नेविसंघको राजनीतिमा सक्रिय रहेकी उनी कांग्रेसको राजनीतिमा परिचित अनुहार होइनन् ।

माधव नेपालले ५६८९ मत नल्याए काठमाडौंमा गठबन्धन मिले पनि एमालेलाई जित्न नसक्ने, यस्तो छ अंकगणित

तर ठूलो राजनीतिक घरानाबाट हुनु नै उनको लागि सबैभन्दा ठूलो फाइदा हुन पुगेको छ । अझै काठमाडौंमा बलियो पकड र प्रभाव भएका नेता सिंहकी श्रीमती भएकोले पनि सिर्जनाको उम्मेदवारीमा कांग्रेसभित्र विरोधको स्वर सुनिएको छैन । राजनीतिमा दरिलो उपस्थिति नभए पनि विभिन्न स्वास्थ्य कार्यक्रममार्फत सिंह नागरिकसँग भने जोडिएको बताइन्छ । कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा देउवालाई सघाएकोले पुरस्कार पाएको यदाकदा टिकाटीप्पणी भएको छ ।

ललितपुर महानगर

त्यस्तै ललितपुरका महर्जन गत निर्वाचनमा ललितपुरको निर्वाचित मेयर हुन् । २०७४ सालमा साँघुरो अन्तर (३२६ मत)ले जितेका चिरिबाबु महर्जन नै ललितपुरको मेयर उम्मेदवारमा दोहोरिएका छन् । ललितपुरबाट प्रेमकृष्ण महर्जनलाई नयाँ उम्मेदवारको रुपमा उठाउने कि चिरिबाबजुलाई उठाउने भन्ने बहसकाबीच चिरिबाबुले नै टिकट पक्का गरेका हुन् । चिरिबाबु देउवाका विश्वासिला नेता पनि मानिन्छन् । यो पटक पनि महर्जनले पुराना चिरपरिचित ब्यञ्जनकारसँग प्रतिस्पर्धा गर्दै छन् ।

एमालेबाट मेयरका उम्मेदवार बनेका ब्यञ्जनकार गत निर्वाचनमा महर्जनसँग झिनो मतले पराजित भएका थिए । यो पटक त्यसको क्षतिपूर्ति असुल गर्ने दाउमा उनी रहेका छन् । एमालेका ललितपुरका सह–इन्चार्ज र केन्द्रीय सदस्यसमेत रहेका उनी ओलीका विश्वासिला पात्र हुन् ।

भरतपुर महानगर

चितवनको भरतपुरमा गठबन्धनबाट रेनु दाहललाई नै निरन्तरता दिइएको छ । गत निर्वाचनमा एमालेका उम्मेदवार देवी ज्ञवालीलाई दाहालले २०३ को झिनो मतले पराजित गरेका थिइन् । प्रचण्डका पुत्रीसमेत रहेकी उनी माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् । यो पटक एमालेका उम्मेदवार विजय सुवेदीसँग प्रतिस्पर्धा गर्दै छिन् । दाहाललाई दोहोरयाउने विषयमा कांग्रेसभित्र तीव्र मतभेद रहेको छ । उनको विरुद्धमा चितवन कांग्रेसका पूर्व सांसदले बागी उम्मेदवारी दिएका छन् । एमालेले राप्रपासँग चुनावी तालमेल गरेको छ ।

त्यस्तै एमालेबाट उम्मेदवार बनेका सुवेदी भरतपुर महानगरका तीनपटक प्रमुख भएका व्यक्ति हुन् । वाग्गमती प्रदेशका सचिव रहेका उनी गत निर्वाचनमा वाग्मती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । मेयरका लागि उनी नयाँ अनुहार भएपनि भरतपुरमा लोकप्रिय अनुहारमा चिरपरिचित रहेका छन् ।

पोखरा महानगर

काठमाडौंपछि सबैभन्दा बढी मतदाता रहेको पोखरा महानगरपालिकामा नेकपा एमाले र एकीकृत समाजवादीबीच प्रतिस्पर्धा हुनेछ । गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार रहेका आचार्य व्यापारी पृष्ठभूमिका हुन् । नेकपा (एस)का केन्द्रीय सदस्य हुन् ।

त्यस्तै एमालेबाट मेयरका उम्मेदवार बनेका थापा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारीबीचको शक्ति संघर्षकाबीच सोमबार बिहान मात्र मेयरका उम्मेदवार बनेका हुन् । उनी अधिकारी निकट मानिन्छन् । यसअघि मेयरका उम्मेदवार बनाइएका दीपक पौडेल विवादास्पद गतिविधिका कारण पार्टी कार्यकर्ता तहबाटै व्यापक विरोध भएपछि उनको टिकट खोसिएको थियो । पौडेलको टिकट खोसिएपछि थापाले टिकट पाएका हुन् । थापा ०५४ मा पनि मेयर भएका थिए । उनी पोखरामा हेवीवेटमा गनिएका उम्मेदवार हुन् । थापा ०७४ को निर्वाचनमा वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचत भएका थिए ।

वीरगञ्ज महानगर

वीरगञ्ज महानगरमा एमालेले नवप्रवेशीलाई उम्मेदवार बनाएको छ । वीगगञ्ज महानगरपालिकाका निर्वतमान मेयरसमेत रहेका विजय सरावगी गत महिनामात्र जसपा परित्याग गरी एमाले प्रवेश गरेका थिए । उनी २०७४ को स्थानीय निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित भएका थिए । उनले १९ हजार ३९३ मत पाएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी (राजपा) का राजेशमान सिंहले १२ हजार १६५ मत पाएका थिए ।

गत निर्वाचनमा लोकतान्त्रिक फोरम तेस्रो, एमाले चौंथो र माओवादी केन्द्र पाचौं स्थानमा रहेको थियो । वीरगञ्जमा एमालेले लोसपासँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ । लोसपाको भागमा उप–मेयर परेको छ ।

विराटनगर महानगर

त्यस्तै एमालेले प्रदेश १ अन्तर्गत विराटनगर महानगरपालिकाको मेयरमा गठबन्धनले मुख्य दाबेदारलाई पछि पार्दै नयाँ अनुहारका नेताले मेयरको उम्मेदवारमा अवसर पाएका छन् । मुख्य बलिया दाबेदार डा. डिला संग्रौला, अमृत अर्याल र भीम पराजुलीलाई पछि पार्दै शेखर कोइराला निकटका नागेशलाई कांग्रेसले उम्मेदवार बनाएको हो ।

तरुण दल अध्यक्ष, जिल्ला कांग्रेसको सचिव, कोषाध्यक्ष, उपसभापति हुँदै अन्ततः विराटनगरमा कांग्रेसको तर्फबाट नागेश मेयरको उम्मेदवार बन्न सफल भए । एकपटक पनि जनप्रतिनिधि नभइ महानगरपालिककै मेयरमा उठ्ने सौभाग्य कोइरालाले पाएका हुन् । कोइरालाहरूको बलियो प्रभाव रहेको विराटगनरमा देउवा आफू निकटका नेतालाई मेयरको उम्मेदवार बनाउन चाहन्थे । तर शेखर कोइरालाको दबाबका सामू अन्ततः देउवा गल्न पुगेका हुन् ।

एमालेले विराटनगरमा मेयरको उम्मेदवार सागर थापालाई बनाएको छ । मेयरका बलिया उम्मेदवार रहेका लालबाबु पण्डित, पर्शुराम बस्नेत, रामलाल साह, बाबुराम कार्की, गुरु भट्टराई पछि पार्दै थापाले बाजी मारेका हुन् । थापा महानगर कमिटी अध्यक्षसमेत हुन् ।

काठमाडौं महानगरपालिकामा एमालेले २० हजार अन्तरले जित्दा कुन दलले कति मत ल्याएका थिए ?