NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

तनहुँको व्यासमा सहजै जित्न कांग्रेसलाई गठबन्धनको भर, रामचन्द्रलाई गोविन्दराजको डर

काठमाडौं । तनहुँमा एमाले र पूर्वमन्त्री गोविन्दराज जोशी समूहले चुनावी तालमेल गर्ने निर्णयसँगै कांग्रेस नेता रामचन्द्र पौडेललाई क्षति हुन सक्ने देखिएको छ । परम्परागत बलियो पकड भएको क्षेत्रमा सत्ता गठबन्धनमा इमान्दारिता नदेखिए पौडलको गृहनगर व्यास नगरपालिकामा कांग्रेसलाई गाह्रो हुन सक्ने देखिएको छ ।

तनहुँमा चार नगरपालिका र ६ गाउँपालिका गरी १० स्थानीय तह रहेका छन् । गत शनिबार जोशी निवास तनहुँमा बसेको बैठकले सबै स्थानीय तहमा दुवै पक्षले भागबण्डा गर्ने सहमति गरेका थिए ।

पौडेललाई कांग्रेसभित्र सादगी र निष्ठाको राजनीति गर्ने नेताको रूपमा चिनिन्छ । उनी ०७४ को संघीय निर्वाचनमा जोशी समूहको अन्तर्घातका कारण पराजित भएका थिए ।

एमाले–माओवादी गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठले ३४ हजार ४९२ मत ल्याइ विजयी भएका थिए । श्रेष्ठका निकटतम् प्रतिद्वन्द्वी पौडेलले २७ हजार ६९० मत मात्र पाए । विजयी उम्मेदवारको मतान्तर ६ हजार ४०२ रहेको थियो । त्यसअघि २०७० सालमा भएको संविधानसभा निर्वाचनमा पौडेलले १८ हजार १४९ मत ल्याइ श्रेष्ठलाई पराजित गरेका थिए । उनक निकटतम् प्रतिद्वन्द्वी श्रेष्ठले ११ हजार ७३९ मत ल्याएका थिए । माओवादी केन्द्रका ओमराज आलेले ४ हजार ४९३ ल्याएका थिए ।

०४८ सालदेखि तनहुँबाट संसदीय निर्वाचनमा अपराजित पौडेलको यात्रामा ०७४ मा पूर्णविराम लागेको थियो । उमेरले ७७ वर्ष लागेका पौडेलले जोशी समूहलाई सहमतिमा ल्याउन नसके आगामी निर्वाचत पनि उनका लागि गलपासो बन्ने देखिन्छ । जोशीले आफ्नो माग सम्बोधन नभए आगामी संघीय निर्वाचनमा स्वतन्त्र रूपमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

पौडेल राष्ट्रिय राजनीति चर्चित र सधैं शक्तिमा रहेका नेता हुन् । संसदका सभामुख, उप्रधानमन्त्री तथा शान्तिमन्त्री भइसकेका छन् । ०६६ मा तत्कालीन प्रधानमन्त्री माधव नेपालले राजीनामा दिएपछि कांग्रेसको तर्फबाट प्रधानमन्त्रीमा उम्मेदवारी दिएका पौडेल झलनाथ खनालसँग पराजित भएका थिए । पौडेलले प्रधानमन्त्रीका लागि १७ पटकसम्म प्रतिस्पर्धा गरे पनि जित्न सकेका थिएनन् ।

पार्टीको १३ औं महाधिवेशनमा कोइराला समूहबाट पार्टी सभापतिमा उम्मेदवारी दिएका पौडेलले शेरबहादुर देउवासँग पराजित भएका थिए । १४ औं माहाधिवेशनमा पुनः सभापति बन्ने इच्छा देखाएपनि कोइराला समूहले असहयोग गरेपछि उनी सभापतिको रिङबाट नै बाहिरिएका थिए ।

यस्तो छ ०७४ को व्यास नगरपालिका चुनावी परिणाम

२०७४ को स्थानीय तहको निर्वाचनमा देशभर कांग्रेस–माओवादीबीच चुनावी तालमेल भएपनि व्यास नगरपालिकामा कांग्रेस एक्लै भिडेको थियो । कांग्रेस उम्मेदवार बैकुण्ठनाथ न्यौपाने १३ हजार ५६ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका शंकरनारायण श्रेष्ठले ९ हजार ५९२ ल्याएका थिए । यहाँ एमालेले माओवादी केन्द्रसँग तालमेल गरेको थियो । अन्य मत जम्मा ५६१ रहेको थियो ।

त्यस्तै उपमेयरमा पनि कांग्रेस उम्मेदवार मीरा जोशी विजयी भएकी थिइन् । उनले १३ हजार २६० मतले विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी माओवादीका अतिन्द्रकेशरी न्यौपानेले ३ हजार ४७७ मत ल्याएका थिए । अन्य मत ६६१ रहेको थियो ।

१४ वडा रहेको व्यास नगरपालिकामा ४ नम्बर वडा बाहेक सबै वडाबाट कांग्रेसका उम्मेदवार विजयी भएका थिए । खसेको मतमध्ये जम्मा २३ हजार २०९ मत सदर भएको थियो । मेयरमा विजयी उम्मेदवारको मतान्तर ३ हजार ४६४ रहेको रहेको छ ।

पौडेलको वडा रहेको २ मा कांग्रेसका उम्मेदवार काशीराम श्रेष्ठले ८९१ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्दी एमालेका उम्मेदवार प्रेमकुमार श्रेष्ठले ५२० मत ल्याएका थिए । यस वडामा पनि एमाले र माओवादी केन्द्रले तालमेल गरेका थिए ।

आगामी निर्वाचनको सम्भावित परिणाम

नेपाली कांग्रेसको बलियो जनधार रहेको व्यास नगरपालिकामा गत निर्वाचनको चुनावी परिणाम हेर्दा एमालेले कांग्रेसलाई चुनौति दिने अवस्था छैन । ०७४ निर्वाचमा सिंगो एमाले र माओवादी मिल्दा समेत मेयर, उमेयरसहित १४ मध्ये १३ वडामा कांग्रेसले जितेको थियो । वैशाख ३० मा हुने निर्वाचनमा एमालेले जोशी समूहसँग तालमेल गर्ने सहमति भएकोले कांग्रेसको केही मत प्रभावित हुने सम्भावना रहेको छ ।

यसपटक कांग्रेसले माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, राजमोसँग गठबन्धन गरेकाले जोशी समूहबाट हुन सक्ने क्षति गठबन्धनबाट पूर्ति गर्न सक्छ । पाँच वर्षमा नयाँ मतदातासमेत थपिएकाले उनीहरूको मनोविज्ञानबारे अहिल्यै अनुमान लगाउन सकिंदैन । जनप्रतिनिधिले पाँच वर्षमा गरेको काम, उम्मेदवार बन्ने व्यक्तिको व्यक्तित्व र राजनीतिक दलहरूको घोषणापत्र आदिले समेत मतदाता प्रभावित हुन सक्छन् । गठबन्धन कायमै रहेमा यस नगरपालिकामा आगामी स्थानीय तहको परिणाम कांग्रेसकै पक्षमा आउन सक्ने तथ्यले देखाउँछ ।

तनहुँमा पौडेललाई फेरि झट्का, छोरालाई जिताउन गोविन्दराज जोशी एमालेसँग मिलेर चुनाव लड्ने

ताजा अपडेट

नेपालवाच विशेष