NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

माधव नेपालको पार्टीले ५६८९ मत नल्याए काठमाडौंमा कांग्रेसले एमालेलाई जित्न नसक्ने, यस्तो छ अंकगणित

काठमाडौं । काठमाडौं महानगरपालिकामा २०७४ सालमा १९ हजार ६ सय ४४ मत अन्तरले एमालेका विद्यासुन्दर शाक्य मेयरमा जितेका थिए । एमालेका शाक्यले ६४ हजार ९ सय १३ पाएका थिए भने निकटतम प्रतिद्धन्द्धी कांग्रेसका राजुराज जोशीले ४५ हजार दुई सय ६९ मत ल्याएका थिए ।

यी दुई मुख्य दल बाहेकका विवेकशीलका तर्फबाट रञ्जु दर्शनाले २३ हजार चार सय ३९, स्वतन्त्रबाट किशोर थापाले १८ हजार ९ सय २० र माओवादी केन्द्रका सर्वोत्तमदास डंगोलले ७ हजार ९ सय ६ मत ल्याएका थिए । नयाँ शक्तिका पवित्र बज्राचार्यले ६ हजार ५० मत ल्याएका थिए ।

काठमाडौं महानगरमा कांग्रेस र एमालेका दुवै उम्मेदवारले पाएको मत एक लाख १० हजार एक सय ८२ थियो । तर यी दुई उम्मेदवारबाहेकका विवेकशील, साझा ९स्वतन्त्र० माओवादी र नयाँ शक्तिले ल्याएको मतको संख्या ५६ हजार तीन सय १५ देखिन्छ ।
काठमाडौंमा फेरि पनि एमाले र कांग्रेस नै प्रतिपर्धी देखिन्छन् । गत चुनावमा एमालेलाई राप्रपाले मेयरमा सहयोग गरेको थियो । उपमेयरमा एमालेले उम्मेदवारी नदिई राप्रपालाई सहयोग गरेको थियो ।

यसपटक एमालेलाई हराउन सत्ता गठबन्धनमा आवद्ध कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरेका छन् ।

काठमाडौंमा गत चुनावमा मेयरमा जितेका विद्यासुन्दरले पाएको ६४ हजार ९ सय १३ मत राप्रपासहितको हो । तर पनि शाक्य १९ हजार ६ सय ४४ मत अन्तरले विजयी भएका थिए । अबको चुनावमा कांग्रेसलाई माओवादी र जसपाले उम्मेदवारी नदिई सहयोग गरे अघिल्लोपटक कांग्रेसका जोशीले पाएको मतमा १३ हजार ९ सय ५६ मत थपिनेछ । यति मत थपिंदा पनि कांग्रेसलाई जित्न अझै ५ हजार ६ सय ८८ मत पुग्दैन ।

विवेकशील र साझाका उम्मेदवारको हिसाब यहाँ गरिएको छैन । उनीहरूको दलकोभन्दा स्वतन्त्र र जता पनि स्वीङ हुन सक्ने भोट हो । यस्तो भोट ४२ हजार ३ सय ५९ छ । यी दुवै दलले फेरि पनि उम्मेदवारी दिएर पहिलेकै अनुपातमा भोट ल्याए भने काठमाडौंमा महानगरपालिकामा एमाले फुटेर बनेको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी निर्णायक बन्न सक्ने देखिएको छ ।

नेकपा एसका काठमाडौंमा जीवनराम श्रेष्ठ प्रभावशाली नेता मानिन्छन् । उनको प्रभाव काठमाडौंको नेवार समुदायमा राम्रो मानिन्छ । एसका अध्यक्ष माधव नेपालको पनि प्रभाव काठमाडौंमा छ । गठबन्धन बनेर कांग्रेसलाई माओवादी, जसपाको सहयोग हुँदा नपुग्ने ५ हजार ९ सय ५६ मतभन्दा बढी माधव नेपाल पक्षले जुटाउन सके मात्रै काठमाडौंमा एमाले पराजित हुने देखिन्छ ।

माधव नेपाल पक्षले एमालेको दुई तीन हजार मात्रै भोट काटे फेरि कांग्रेस, माओवादी, जसपा मिले पनि एमालेलाई हराउन नसक्ने पहिलेको अंकगणितले देखाउँछ ।

विवेकशील साझा फुटेपछि नयाँ शक्तिको रुपमा उदाएका रविन्द्र मिश्र र मिलन पाण्डे नै विभाजनमा पुगेका छन् । यसैले पहिले जस्ता यी दलले पाएको ४२ हजार ३ सय ५९ भोट अबको चुनावमा नआउने आकलन छ । यस्तोमा यही ४२ हजार भोट पनि सत्ता गठबन्धन र एमाले प्रतिस्पर्धा गर्दा निर्णायक बन्न सक्छ । अर्कोतिर थपिएका मतदाताको मतले समेत काठमाडौंमा मेयरमा कसलाई जिताउने भन्ने टुंगो लगाउन सक्छ । किनकी काठमाडौंमा दलीयभन्दा पनि स्वतन्त्र भोटसमेत असर गर्न सक्छ ।

गत स्थानीय तह निर्वाचनमा एमालेले महानगरका १, २, ३, ४, ७, ९, १२, १३, १४, १५, १८, २१, २२, २३, २४, २७, ३१ र ३२ वडामा जितेको थियो । कांग्रेसले ५, ८, १०, ११, १६, १७, १९, २०, २५, २६, २८, २९ र ३० नम्बर वडा जितेको थियो ।

उपाध्यक्षमा कांग्रेसको बलियो मत, राप्रपालाई एमालेको धोका

मेयरमामा राप्रपाले उम्मेदवारी नदिई एमालेलाई सहयोग गरेको काठमाडौं महानगरमा उपमेयर कांग्रेस जितेको थियो । राप्रपाले सहयोग गर्दा एमालेले २० हजार अन्तरले जित्दा उमपेयरमा एमालेले समर्थन गरेका राप्रपाका उम्मेदवार राजाराम श्रेष्ठ पराजित हुन पुगेका थिए ।

श्रेष्ठ कांग्रेसकी हरिप्रभा खड्गीसँग २३ हजार ४ सय ९८ मतले पराजित भएका थिए । कांग्रेसकी खड्गीले मेयरमा एमालेका विद्यासुन्दरले पाएको भन्दा ५ हजार ९ सय ५५ मात्रै कम मत पाइन् ।

मेयरमा कांग्रेसबाट पराजित भएका राजुराज जोशीले पाएको भन्दा उपमेयरमा जितेकी कांग्रेसकै खड्गीले पाएको मत १३ हजार ६ सय ८३ बढी थियो । एमालेले आफ्नो उम्मेदवार अघि नसारी राप्रपालाई सहयोग गर्दा कांग्रेसकी खड्गीले उपमेयरमा अत्याधिक मत ल्याएको देखिन्छ ।

उपमेयरमा राप्रपालाई एमालेकै मतदाताले भोट नहाल्दा खड्गीको जित सम्भव भएको थियो । उपमेयरमा अब गठबन्धन बन्दै गरेको कांग्रेस, माओवादी र जसपाको भोट जोड्दा ७२ हजार ८ सय ९३ मत हुन्छ । उपमेयरमा स्वतन्त्रबाट निरुपमा यादवले ११ हजार ५ सय ३३ मत ल्याएकी थिइन् ।

अघिल्लो चुनावको अनुपातमै फेरि पनि भोट खसे काठमाडौं महानगरको उपमेयरमा कांग्रेसलाई सहज हुने देखिन्छ ।

स्थापित र सिंहबीच कसले मार्ला बाजी ?

एमालेले २०५४ सालमा मेयर जितेका केशव स्थापितलाई अघि सारेको छ । तर कांग्रेसले सिर्जना सिंहलाई अगाडि सारेको छ । पहिले जस्तो विवेकशील साझाको प्रभाव र दबाब नभएकोले यसपटक पहिले रञ्जु दर्शना र किशोर थापाले पाएको ४३ हजार हाराहारीमध्ये धेरै भोट एमाले र गठबन्धनको पक्षमा बाँडिने देखिएको छ । यस्तोमा यही भोटले नै मेयरको छिनोफानो लगाउन सक्ने छ । थपिएका नयाँ मतदाता पनि निर्णायक बन्न सक्छन् ।

काठमाडौं महानगरपालिकामा एमालेले २० हजार अन्तरले जित्दा कुन दलले कति मत ल्याएका थिए ?

काठमाडौं महानगरपालिका : मेयर शाक्यका गफ ठूला, काम शून्य